ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द

२०७७ मंसिर, ८  
कर्णाली प्रदेश
NA

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित मालिका हाते कागज उद्योग दुई वर्षदेखि बन्द रहेको छ । सो उद्योग दिगो वन व्यवस्थापनसम्बन्धी प्रमाण दिने अन्तर्राष्ट्रिय संस्था फरेस्ट स्टेवार्डसिप काउन्सिल (एफएससी)बाट प्रमाणित एसियाको पहिलो सामुदायिक उद्योग मानिन्छ ।     

उद्योग बन्द भएपछि यहाँ रहेका संरचना र उपकरण पनि अलपत्र परेका छन् । भवनको वरपर झार पलाएको छ । गाउँबाट करिब तीन किलोमिटर टाढा हमरसैनमा उद्योग रहेको छ । भवनका काठ पनि स्थानीयले लगेका कारण भवन नै भत्किने अवस्थामा पुगेको छ ।

हाते कागज बनाउँदा पानी जम्मा गर्ने पोखरीसमेत भत्किएको छ । कागज बनाउने फ्रेम स्थानीयले दाउरा बनाउन प्रयोग गरेका छन् । लाखौं मूल्य पर्ने विटर (कागज बनाउन प्रयोग गरिने लोक्ता फिट्ने) औजारमा खिया लागेका छन् भने औजारका महत्वपूर्ण पाटपुर्जा चोरी भएको स्थानीयले बताए ।     

उद्योग भवनमा रहेका खानेपानीका पाइप, लोक्ता पकाउने ड्रम, कागज बनाउँदा प्रयोग गरिने कास्टिक सोडा र नुरीलगायतका रसायनसमेत चोरी भएका छन् ।

कुनै बेला स्थानीयको रोजगारीको केन्द्रका रुपमा रहेको हाते उद्योगको घेरबार भत्किएर अहिले गौचरनमा परिणत भएको छ । उद्योग भवनग्वाला, गोठालाको शौच गर्ने ठाउँमा परिणत छ । उद्योग बन्द हुँदा झन्डै एक करोड बराबरको स्थानीय समुदाय र विभिन्न दातृ संस्थाको लगानी पनि खेर गएको छ ।

०५६ मा साविक कैलाश गाविसका स्थानीय र अन्तराष्ट्रिय गैरसरकारी संस्था एन्साबको पहलमा सो उद्योगको स्थापना भएको थियो । कैलाशमा रहेको विनायक पिमिडाँडा सामुदायिक वनमा आबद्ध २ सय ५० परिवारको लगानी रहेको सो उद्योगलाई एन्साबले तत्कालीन समय पाँच लाख बराबरको उपकरण र प्रविधिमा अनुदान सहयोग गरेको थियो ।     

यसपछि उद्योगको सञ्चालन, प्राविधिक क्षमता विकास, बजार व्यवस्थापन, पूर्वाधार निर्माण र नवीनतम् प्रविधिका उपकरण खरिद गर्नका लागि विभिन्न संघसंस्थाले एक करोड बराबरको सहयोग गरिसकेका छन् ।

उद्योग खुलेपछि जिल्लाको दुर्गम तथा आर्थिक हिसाबले पिछडिएको पिमीगाउँका स्थानीयलाई उद्योगले आर्थिक टेवा दिएको थियो । दिगो तरिकाले व्यवस्थापन गरेको वन पैदावार प्रयोग गरी सञ्चालन गरिएको एसिया कै पहिलो सामुदायिक उद्योगका रुपमा सो उद्योगलाई ‘फरेस्ट स्टेवार्डसीप काउन्सिल (एफएससी)’ ०६४ मा प्रमाणीकरण गरेपछि यसको चर्चा विश्वभर भएको थियो ।

सफल सामुदायिक उद्योगका रुपमा चर्चा पाएको सो उद्योग हेर्न र सिक्नका लागि जिल्लाभित्र मात्रै नभएर हुम्ला, मुगु, जुम्ला, डोल्पा, दोलखा जिल्लाका उद्योगी तथा जनप्रतिनिधि यहाँ पुग्थे । प्रत्यक्ष र अप्रत्यक्ष गरी तीन सयभन्दा बढीलाई रोजगारी दिइरहेको सो उद्योग बन्द भएपछि यहाँ भएको लगानी मात्रै खेर नगएर रोजगारी पनि खोसिएको स्थानीय बताउँछन् ।  उद्योग सञ्चालन भएदेखि हालसम्म एन्साबले विभिन्न शीर्षकमा ५० लाख जडीबुटी व्यवस्थापनमा काम गर्ने अमेरिकी कम्पनी अवेदाले १० लाख, नेपालकै जडीबुटीको कारोबार गर्ने कम्पनी हिमालयन बायोट्रेड लिमिटेडले पाँच लाख, बहुसरोकारवाला वन कार्यक्रमले १३ लाख र स्थानीयको श्रमदान गरी एक करोडभन्दा बढी रकम उद्योगमा लगानी भइसकेको जनाइएको छ ।

स्थापनाकालमा कार्यरत कर्मचारी स्थानीय गोविन्द कामीले उद्योगले स्थानीयलाई रोजगारीका साथ देशकै इज्जतसमेत बढाएको बताउँछन् ।     

लोक्ता तथा कागज ढुवानी गर्ने, दाउरा बिक्री गर्नेलगायत कामबाट यहाँका ३ सयभन्दा बढी स्थानीयले आयआर्जन गर्दथे । यहाँ उत्पादित नेपाली हाते कागज जापान, कोरिया, जर्मनीलगायत तेस्रो मुलकमा निर्यात हुने गरेको थियो । कागज बिक्रीबाट भएको नाफा लगानीकर्ता सदस्य घरधुरीलाई प्रत्येक वर्ष वितरण गर्ने नियम भए पनि एक पटक मात्रै त्यसो गरिएको स्थानीय बताउँछन् । सञ्चालन भएको दुई वर्षपछि एकपटक लगानी आधारमा प्रतिपरिवार १ हजारदेखि १० हजारसम्म रकम बाँडेका हुन् ।

स्थानीय ध्वजबहादुर सिंहले भने, ‘त्यसपछि जसले जिम्मा पाए, उसैले खाए । समुदायलाई एक सुको पनि दिएका छैनन् । अहिले त उद्योग नै बाँझो भइसक्यो ।’     

उद्योगका प्रबन्ध सञ्चालकसमेत रहेका जयपृथ्वी नगरपालिका वडा–१ का वडाध्यक्ष गगनबहादुर सिंहले व्यवस्थापनले ध्यान दिन दिन नसक्दा उद्योग धराशयी भएको बताए । ‘म वडाअध्यक्ष भएँ, त्यता ध्यान दिन पाइनँ । जिम्मा दिएका साथीले इमानदारीपूर्वक काम गरेनन् । त्यसैले यस्तो भयो ।’ उद्योग पुनः सञ्चालनका लागि विभिन्न संस्थासँग सहयोग माग्ने काम भइरहेको र निकट भविष्यमै सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्