ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा अन्तरराष्ट्रिय फुटबल रंगशालाको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न

२०७७ मंसिर, ८  
गण्डकी प्रदेश
Image Not Found

मंसिर ८, पोखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तरराष्ट्रियस्तरको फुटबल रंगशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । 

विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रंगशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकोमा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रंगशालाको काममा ढिलाइ भएको छ । 

सम्झौता भएको आर्थिक वर्षभित्रमा रंगशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन ।

पछिल्लो पटक यही मंसिर मसान्तभित्रमा काम सम्पन्न गरेर रंगशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महीना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताए । 

गत वर्ष मंसिरमा पोखरामा सम्पन्न भएको १३औं सागअघिनै रंगशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रंगशालामा खेलाइएको थियो । 

सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालू आवको मंसिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रंगशाला तयार नहुने निश्चित देखिएको छ । 

इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताए । यो सँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ । 

उनले भने, ‘प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रंगशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई /तीन महीनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।’ राष्ट्रिय खेलकूद परिषद् (राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी)बीच रू. एक अर्ब २८ करोड लागतमा अन्तरराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माण गर्ने सम्झौता भएको थियो । 

सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ । 

निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले कोरोना महामारी, विभिन्न प्रतियोगिता तथा बाहिरबाट सामान आउन ढिलाइलगायतका कारणले रंगशाला निर्माणको काममा ढिलाइ भएको बताए । भिआईपी प्यारापिटको छानोका सबै सामग्री भारतबाट आउनुपर्ने भएकाले सामान नआउँदा काम रोकिएको उनको भनाइ छ । अघिल्लो आवमा सम्पन्न कामको समेत अझै भुक्तानी नपाएको गुनासो निर्माण कम्पनीको छ । 

‘कोरोनालगायतका कारणले ढिलाइ भएको छ तर हामीले काम गरिरहेका छौँ । अघिल्लो  वर्षको कामको भुक्तानी नपाए पनि सामान अर्डर गरेर भारतबाट आउन शुरु भएको छ’, बरालले भने, ‘सामान आएपछि प्राविधिकसमेत उतैबाट आउनुपर्दछ तर उनीहरु अहिलेको संक्रमणको समयमा आउन चाहिरहेका छैनन्, अब हामी छिटो सम्पन्न गर्नुपर्दछ भनेर लागि परेका छौँ ।’

रंगशालामा सुविधासम्पन्न प्यारापिटसहित चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), खेलाडी बक्स, कन्फरेन्स हल, मिडिया बक्सलगायतका सुविधा हुनेछन् । प्रि इञ्जिनीयरिङ भवनमा चेञ्जिङ रुमसहित कन्फरेन्स हललगायतका सुविधा रहने परियोजनाका इञ्जिनीयर पुरुषोत्तम बरालले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्