मंसिर ८, लन्डन (बेलायत) । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।
एक पछि अर्को गर्दै कोरोना भाइरस विरोधी खोपको क्लिनिक परिक्षणको सफलता सम्बन्धी खबरहरु सार्वजनिक भएसँगै सोमवार कच्चा तेलको भाउ १ प्रतिशतभन्दा धेरैले बढेको हो । प्रमुख तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र समुह बाहिरका रुसलगायत अन्य उत्पादकहरुको समुह (ओपेक प्लस) ले उत्पादन कटौतीसम्बन्धी सम्झौताको अवधि लम्ब्याउने अपेक्षाले पनि तेल बजारले टेवा पाएको हो ।
सोमवार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९४ सेन्टले बढेर ४५ डलर ९० सेन्टमा पुगेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल ७६ सेन्टले बढेर ४३ डलर १८ सेन्टसम्म पुगेको थियो ।
कोभिड–१९ विरोधी खोपको विकासमा सफलता हात परिरहेको समाचारले तेलको माग परिदृश्य सुध्रिरहेको छ । अमेरिकाले एक दुई दिनमै खोप प्रयोगको लागि अनुमति दिने संकेत मिलेको छ ।
बेलायती औषधि निर्माता कम्पनी अस्त्रजेनेका र अक्सफोर्ड विश्व विद्यालयले बनाएको कोभिड–१९ विरोधी खोप ७० प्रतिशत प्रभावकारी पाइएको छ ।
नोभेम्बर ३० मा बस्ने ओपेक प्लसको दुई दिने बैठकमा उतपादन कटौती जनवरी देखि कम्तिमा पनि तीन महीना थप गर्ने अपेक्षा गरिएको छ । एजेन्सी