ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चार महीनामा चितवनमा ६५६ ओटा नयाँ उद्योग दर्ता, सबैभन्दा बढी कृषिका

२०७७ मंसिर, ८  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसीर ८, चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा आव ०७७/०७८ को प्रथम चौमासिकसम्म ६५६ ओटा नयाँ उद्योग दर्ता भएका छन् । दर्ता भएका उद्योगहरु मध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगहरु रहेका छन् । 

कार्यालयका अनुसार सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग शीर्षकमा ४७८ ओटा उद्योग दर्ता भएका छन् । यस्तै, उत्पादन मूलक उद्योग ६२ ओटा र पर्यटनमूलक ६२ ओटा, सेवामूलक उद्योग ५४ ओटा उद्योग दर्ता भएका छन् । यो अवधिमा उर्जामूलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छैनन् । 

कार्यालयका प्रमुख नारायण लम्सालले कोरोना महामारीका कारण र यसको असरले यो समयमा कृषिक्षेत्र नै विकल्प भएकोले स्वभाविक रुपमा यस क्षेत्रमा आकर्षण भएको बताए । ‘अहिले अन्य कुनै विकल्प नै छैन । भएका उद्योगधन्दा समेत चल्न सकेका छैन, अन्य क्षेत्रमा जोखिम मोल्ने कुरा पनि हुँदैन’ उनले भने । 

लम्सालका अनुसार सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अनुदान, सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेकाले पनि कृषि तथा वनजन्य उद्योगहरु दर्ता गर्नेको संख्या बढेको हो ।

चितवन कृषिको समेत हब भएकोले यहाँ उधोग दर्ता गर्नेहरुमध्ये पशुपंक्षी पालन, तथा तरकारी तथा फलफूल जन्य का उद्योगहरु बढी दर्ता भएको उनले जानकारी दिए । कृषिजन्य उद्योग कम लगानीमै सञ्चालन गर्न सकिने र प्रतिफल पनि छिटो प्राप्त हुनाले यो शीर्षकमा उद्योग दर्ता गर्नेको संख्या बढ्दै गएको उनको भनाइ छ ।  

९५ लाख राजस्व संकलन 
कार्यालये चालू आर्थिक वर्षको चौमासिक अवधिमा उद्योग दर्ता रकम दस्तुरबाट ९५ लाख २० हजार राजस्व संकलन गरेको छ । सबै शीर्षकहरुमध्ये सबैभन्दा बढी कृष तथा वनजन्य उद्योगबाट मात्रै ५४ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

यस्तै, उत्पादनमूलक उद्योगबाट २० लाख २४ हजार, सेवामूलक उद्योगबाट १२ लाख ३२ हजार र पर्यटनमूलक उद्योगबाट ८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उर्जामूलक उद्योग, खनिजजन्य उद्योग, निर्माणमूलक उद्योग र विज्ञान तथा सूचना प्रविधिसम्बन्धी उद्योगहरु दर्ता नभएकोले राजस्व संकलन पनि नभएको प्रमुख लम्सालले जानकारी दिए । 

कार्यालयमा यसअघि ५ लाख देखि २० लाखसम्म पूँजीको उद्योग दर्ता गर्न प्रति उद्योग २० हजार राजस्व लाग्ने गर्थ्यो भने अहिले यो दर घटेर १२ हजार १०० झरेको छ । उक्त कार्यालयमा २ करोडसम्म पूँजी भएका उद्योग व्यवसाय दर्ता हुने गर्दछन् । कार्यालयमा उद्योग दर्ता, नवीकरण, ठाउँसारी, पूँजी वृद्धि, खारेजी लगायत सबै शीर्षकमा गरी राजस्व संकलन हुने गर्दछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्