अन्योलग्रस्त भएको मुलुकको राजनीतिलाई निकास दिन यसपटक निजी क्षेत्रले महत्वपूर्ण पहल गरेको छ । राजनीतिक दलहरू संविधान निर्माण र शान्ति प्रक्रियालाई अन्तरिम संविधानले तोकेबमोजिमको समयसीमाभित्र इमानदारीका साथ क्रियाशील भएनन् । यसको सट्टा सत्ता प्राप्त गर्न र सत्तामा टिकिरहने तानातानमा राजनीतिक कटुता तीव्र रूपमा वृद्धि भयो । यसले गर्दा प्रमुख राजनीतिक दलका नेताहरूबीचमा नै बोलचालसमेत नहुने परिस्थिति पैदा भयो । यसले मुलुक थप अनिश्चित र अस्थिरताको भुमरीमा पर्ने भयावह परिस्थितिको सिर्जना भएको छ ।
यस्तो विषम अवस्थामा नेपालका उद्यमी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र व्यक्तिगत रूपमा यसका वर्तमान अध्यक्ष कुशकुमार जोशीका पहलमा तीनवटा प्रमुख राजनीतिक दलका नेताहरूलाई एउटै मञ्चमा बहसमा लागि उपस्थित गराउन सक्नु वास्तवमै प्रशंसनीय कार्य हो । महासंघलाई नेपाल मिडिया सोसाइटी, टेलिभिजन ब्रोडकास्टर्स नेपाल, नेपालका स्वतन्त्र रेडियोहरूको सञ्जाल र नेपाल चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रकै अरु प्रतिनिधिमूलक संस्थाहरूले सघाए । परिणामस्वरुप गत बुधबार दिउँसो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला र नेकपा एमालेको अध्यक्ष झलनाथ खनालले नेतृत्व गरेको उच्चस्तरीय नेताहरूको टोली निर्णायक बहसमा सहभागी भए । त्यही एउटा बहसले अत्यन्तै जटिल र दलहरूबीच आपसमा घृणापूर्ण भएको राजनीतिले तत्कालै निकास पाइहाल्छ भन्ने होइन तर सार्थक ढंगले छलफलको क्रम सुरु गराउन निजी क्षेत्रको नेतृत्व सफल हुनु वास्तमा सुखद पक्ष हो ।
(सम्पादकीयबाट)
वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६