ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिनी मिलका लागि विकल्प

२०७७ मंसिर, १०  
सम्पादकीय
Image Not Found

झन्डै दशकको प्रयासपछि चिनी मिलबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणलाई बेच्न प्रक्रियाले ठोस आकार लिन थालेको छ । तीनओटा चिनी मिलले यही सिजनबाट प्राधिकरणलाई विद्युत् बेच्ने भएका छन् । चिनी मिलका सहउत्पादनलाई पूर्ण उपयोग गर्न नसक्दा नेपालका चिनी मिलहरू सधैंजसो घाटामा जाने गरेका छन् भने चिनी मिल र उखुखेतीको भविष्यमाथि नै प्रश्न उठाउन थालिएको छ । यस्तोमा विद्युत् बेच्ने प्रक्रियाले चिनी मिललाई केही राहत दिन सक्छ ।

चिनी उद्योग यस्तो हो जसबाट निस्कने कुनै पनि वस्तु फोहोर हुँदैन । सबै थोकलाई कच्चा पदार्थका रूपमा पुनः प्रयोग गरी विभिन्न सहउत्पादन निकाल्न सकिन्छ ।

नेपालमा १३ ओटा चिनी उद्योग भए पनि तीनओटा मिलले बढीमा ७ मेगावाट विद्युत् बच्न सक्ने देखिएको चिनी उद्योगीको भनाइ छ । चिनी मिलनजिकको सबस्टेशनम्म प्रसारण लाइन जोड्नेलगायत तयारी भइसकेको र विद्युत् खरीद सम्झौतासमेत भइसकेकाले सानै भए पनि महत्त्वपूर्ण कामको थालनी हुन लागेको छ । नेपालका चिनी उद्योगको कथा निकै तीतो रहेको पाइन्छ । सुर्तीखेती छाडेर उखुखेतीमा लागेका किसानले समयमा भुक्तानी नपाउनेदेखि उद्योग घाटामा गएकोसम्म र नेपालको चिनीले भारतीय र अन्य देशका चिनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेकोसम्मका समस्या यसमा रहिरहेको पाइन्छ । अझ उखु किसान र उद्योगीबीच विवाद बढेर दुवै पक्षको रुवाबासी भएको समाचारसमेत गतवर्ष आएकै हो । कुनै बेला उखु बढी भएर सख्खर निर्यातसम्म गरेको मुलुकले अहिले पर्याप्त चिनी उत्पादन गर्न सकेको छैन । यस्तोमा विद्युत् विक्रीको समाचारले केही आशा दिएको छ ।

नेपालका चिनी उद्योगहरूले विदेशी चिनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्नुको मुख्य कारण नै सहउत्पादनहरू निकाल्न नसक्नु हो । उखुको वैकल्पिक प्रयोग गर्न सके चिनीबाट मुनाफा नभए पनि अन्य उत्पादनबाट राम्रै मुनाफा गर्न सक्ने अवस्था रहन्छ । ती विकल्पमध्ये विद्युत् विक्री एक हो । विद्युत् विक्री गर्न पाउँदा चिनी मिलमात्रै होइन, प्राधिकरणलाई समेत सहज हुने देखिन्छ । हिउँदका याममा विद्युत्का माग बढ्ने तर आपूर्ति घट्ने गर्छ । यस्तोमा भारतसँग महँगो मूल्यमा विद्युत् खरीद गरी व्यवस्थापन गर्ने गरिएको छ । चिनी मिलको क्रशिङ समय यही हिउँद याम हो । यही बेला चिनी मिलले उखुका छोक्रा बालेर विद्युत् उत्पादन गर्छन् । अहिलेसम्म यस्तो विद्युत् मिल आफैले उपभोग गर्दै आएका थिए र बढी विद्युत् उत्पादन पनि गर्दैनथे । तर, अब भने बढी भएको विद्युत् प्राधिकरणलाई बेचेर अतिरिक्त लाभ गर्न पाउन सक्ने अवस्था आएको छ ।

उखु क्रशिङ गर्दा मोलासिस, बगास र कम्पोस्ट मल तयार हुन्छ । प्रतिक्वीन्टल उखु क्रशिङ गर्दा ३ किलो मोलासिस अर्थात् इथानोल तयार हुन्छ । त्यस्तै ३४ किलो बगास र नौ किलो चिनी उत्पादन हुन्छ । यस्तै केही परिमाणमा कम्पोस्ट मल उत्पादन हुन्छ । इथानोलबाट पेट्रोल र स्प्रिट तयार गर्न सकिन्छ । बगासबाट कागजका साथै विभिन्न किसिमका पार्टिकल बोर्डहरू बनाउन सकिन्छ । भारतका चिनी मिलले विभिन्न सहउत्पादन निकाली फाइदा लिइरहेको पाइन्छ तर नेपालमा भने यस्ता वस्तुहरू फोहोरका रूपमा खेर फाल्ने गरिएको छ । चिनी उद्योग यस्तो हो जसबाट निस्कने कुनै पनि वस्तु फोहोर हुँदैन । सबै थोकलाई कच्चा पदार्थका रूपमा पुनः प्रयोग गरी विभिन्न सहउत्पादन निकाल्न सकिन्छ । यी सह उत्पादन नै चिनी मिलका वास्तविक मुनाफाका स्रोत बन्छन् जसको फाइदा लिन नेपाली चिनी मल वञ्चित रहेका छन् ।

चिनी मिलको विद्युत् खरीदजस्तै इथानोललाई पेट्रोलमा मिसाउने विषय पनि सँगै उठेको थियो । तर अझै त्यसबारे ठोस निर्णय र काम हुन सकेको छैन । पेट्रोलियम पदार्थको मूल्य बढेको बेला या अभाव भएका बेला यो विषय उठाइन्छ र अन्य बेला यसबारे खासै चर्चा गरिँदैन । यसलाई पनि कार्यान्वयन गर्ने हो भने चिनी मिलले निकै राहत अनुभव गर्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्