ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल–चीन व्यापार सम्झौता : कार्यदलको बैठक एकपटक मात्र

२०७७ मंसिर, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–चीन व्यापारसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको १ वर्ष बिते पनि यसमा कुनै प्रगति भएको छैन । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका क्रममा भएको व्यापारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ‘नेपाल–चीन व्यापार संयुक्त कार्यदल’ गठन गरिए पनि हालसम्म यसको बैठक एकपटक मात्रै बसेको छ ।

द्विपक्षीय व्यापारमा देखिएका समस्याहरू सल्टाउन र व्यापार वृद्धि गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । गत असोजमा भएको भर्चुअल बैठकमा कोरोना संक्रमणका कारण नाकामा देखिएको समस्या समाधानका साथै ट्रान्जिट रुट सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो । तर, अझै नाका पूर्णरूपमा सञ्चालनमा आएका छैनन् । चिनियाँ लगानी नेपाल भित्र्याउने विषयमा समेत कार्यदलको बैठकमा छलफल भएको मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए ।

नेपालको उत्तरी छिमेकी मुलुक चीनसँगको व्यापार सहजीकरणका लागि गरिएको पारवहन ढुवानी सम्झौता प्रोटोकल कार्यान्वयन गर्ने विषयमा पनि छलफल भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । यद्यपि कोरोना संक्रमण जारी रहँदा निर्यात–आयातमा परेको प्रभाव हटाउन कार्यदलले प्रभावकारी भूमिका खेलेको देखिएको छैन ।

अहिले नेपालबाट स्थलमार्ग हुँदै चीनतर्फ हुने निर्यात ठप्प प्रायः छ । चीनबाट हुने आयात पनि उल्लेख्य मात्रामा घटेको छ । तातोपानी र रसुवागढी नाकाबाट सामान सहज रूपमा नेपाल आउन सकेका छैनन् ।

असोजमा बसेको बैठकमा समेत स्वास्थ्य मापदण्डभित्र रहेर द्विपक्षीय व्यापार गर्ने छलफलसमेत भएको थियो । तर, अहिले पनि नेपाली व्यापारी तथा व्यवसायीले पर्याप्त मात्रामा चीनबाट सामान भने ल्याउन पाएका छैनन् । चीनबाट नेपाल आउने कन्टेनरको संख्या न्यून रहेको मन्त्रालयको भनाइ छ । अहिले तातोपानी नाका र रसुवागढी नाकामा चीनले दैनिक ३–४ ओटा कन्टेनर ल्याइदिने गरेको छ । मन्त्रालयका अधिकारीका अनुसार अहिले परराष्ट्र मन्त्रालय र विभागीय मन्त्रालयले चिनियाँ दूतावासमार्फत नेपाली उत्पादन चीन निर्यातका लागि पहल गरिरहेका छन् । हवाईमार्ग तथा कार्गोबाट भने केही सामान चीन निर्यात भएको देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्