ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्र बैंकको त्रैमासिक प्रतिवेदन : अर्थतन्त्रका प्रमुख सूचक सकारात्मक

२०७७ मंसिर, १०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना महामारीबाट अर्थतन्त्रमा असर परे पनि अर्थतन्त्रका मुख्य सूचकहरू भने सकारात्मक देखिएका छन् । वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, शोधनान्तर स्थितिजस्ता प्रमुख सूचकहरूमा सुधार आएको पाइन्छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको त्रैमासिक प्रतिवेदनअनुसार गत असोजसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ दशमलव ३ प्रतिशतले बढेको थियो । निजीक्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ५ दशमलव २ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

औद्योगिक कच्चा पदार्थ, इन्धन, यातायातका साधन तथा पार्टपुर्जालगायत वस्तुको आयात असोज महीनामा बढेको छ । यद्यपि गतवर्षको दाँजोमा भने कम छ । समीक्षा अवधिमा बाह्य क्षेत्र सन्तुलनमा रहेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अहिलेको अवस्थामा चालू खाता, शोधनान्तर बचतमा हुनु राम्रो भएको बताए । बाह्य क्षेत्र सन्तुलन भएन भने विदेशी दातृ निकायको, दाताको, लगानीकर्ताको विश्वास कायम गर्न गाह्रो हुने भट्टको भनाइ छ ।

चालू आव २०७७/७८ को प्रथम ३ महीनामा कुल वस्तु निर्यात १४ दशमलव ३ प्रतिशतले वृद्धि भई रू. ३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ हुने निर्यात बढेको छ भने चीनतर्फको निर्यात घटेको छ ।
 
चालू आवको ३ महीनामा कुल वस्तु आयात १२ दशमलव ७ प्रतिशतले घटेर रू. २९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव ३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६ दशमलव ६ प्रतिशत, २६ दशमलव ९ प्रतिशत र १९ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेललगायत वस्तुको आयात घटेको छ ।

भ्रमण आय ९१ दशमलव ५ प्रतिशतले कमी

नेपालबाट विदेशी मुलुकमा गरिने भ्रमणमा कमी आउँदा सेवा खर्चमा समेत नियन्त्रण आएको छ । तर, कोरोनाकै कारण नेपाल भ्रमण गर्न आउने पर्यटन ह्वात्तै घटेकाले सेवा आय पनि संकुचन हुन पुगेको छ ।

सेवा खाताअन्तर्गत असोजसम्ममा भ्रमण आयमा ९१ दशमलव ५ प्रतिशतले कमी आई रू. १ अर्ब ४७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू.१७ अर्ब ३३ करोड रहेको थियो । जसले गर्दा सो अवधिमा खुद सेवा आय रू. १० अर्ब ५९ करोडले घाटामा रहेको थियो । यसबीच नेपालबाट विदेश घुम्न जाने भ्रमण खर्च ७४ दशमलव ८ प्रतिशतले घटेर रू. ५ अर्ब २९ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रू.४ अर्ब ४० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू. २१ अर्ब रहेकोमा शिक्षातर्फको व्यय रू. १० अर्ब १८ करोड रहेको थियो ।

चालू खाता र शोधनान्तर बचतमा
विप्रेषण आप्रवाह १२ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. २५८ अर्ब ८६ करोड पुगेको छ । यसरी आयात, सेवा खर्चजस्ता देशबाट बाहिरिने रकममा कमी आउँदा र विप्रेषणजस्ता देशमा भित्रिने रकममा वृद्धि हुदा चालू खाता तथा शोधनान्तरमा सुधार देखिएको छ । विगतका ४ वर्षसम्म घाटामा रहेको चालू खाता चालू आर्थिक वर्षको साउनदेखि यता बचतमा रहन पुगेको छ । गत असोजसम्ममा चालू खाता रू. ३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रू. २२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । यस्तै समीक्षा अवधिमा शोधनान्तर स्थिति रू. १०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो ।

समग्र मूल्यवृद्धि नियन्त्रणमा
नेपाल राष्ट्र बैंकको तथ्यांकले समग्रमा उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) नियन्त्रित भएको देखाएको छ । तर, खाद्यान्न तथा तरकारीको मूल्यमा भने कमी नभएको देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट २०७६ असोजको तुलनामा २०७७ असोजमा तरकारी उपसमूहको मूल्य वृद्धि २३ दशमलव १० प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि १३ दशमलव ८६ प्रतिशतले बढेको छ । तर, समग्रमा भने मूल्य वृद्धि नियन्त्रित रहेको उनले बताए । २०७७ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव २१ प्रतिशत रहेको थियो ।

सुविधाजनक सञ्चिति
आर्थिक वर्ष २०७७/७८ को ३ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महीनाको वस्तु आयात र १४.१ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ । २०७७ असार मसान्तमा रू. १४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४ दशमलव ९ प्रतिशतले वृद्धि भई २०७७ असोज मसान्तमा रू. १४७० अर्ब २६ करोड पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्