काठमाडौं (अस) । नबिल बैंक लिमिटेड र अनलाइन बजार दराज नेपालबीच सम्झौता भएको छ । बैंकका डेपुटी सीईओ सुजितकुमार शाक्य र दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङले सारथि कार्यक्रम सञ्चालन गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुरुप दराज अनलाइन सपिङ बजारमार्फत व्यापार गर्ने साना तथा मझौला उद्यम (एसएमई) हरूले नबिल बैंकबाट विभिन्न कर्जा सुविधा उपयोग गर्न सक्नेछन् ।
कार्यक्रमबाट कोरोना भाइरसको महामारीका कारण उत्पन्न आर्थिक संकटसँग लड्न एसएमईहरू सक्षम बनाउने अपेक्षा गरिएको छ । कार्यक्रम एसएमईहरूको योग्यतामा आधारित हुनेछ । दराजमा बिक्रेताको राम्रो कारोबारले उनीहरूलाई अझ न्यून ब्याजदर प्राप्त गर्ने अवसर दिनेछ । कार्यक्रमअन्तर्गत एसएमई बिक्रेताहरूले आवश्यकताअनुसार आकर्षक ब्याज दरमा १ करोड रुपैयाँसम्मको एसएमई कर्जा लिन सक्नेछन् । कार्यक्रम नेपालमा डिजिटल बजारको विकासका लागि महत्वपूर्ण रहने शाक्यले बताए ।