उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजीक्षेत्रले सरकारले भन्दा राम्रो गरेको भन्दै प्रशंसा गर्नुभयो । नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजीक्षेत्रले गरेको उहाँको भनाइ थियो । निजीक्षेत्रको सफलता नै सरकारको सफलता भएको प्रधानमन्त्री ओलीको भनाइले सरकार निजीक्षेत्रप्रति अत्यन्तै उदार रहेको देखिन्छ । अझ उहाँले निजीक्षेत्रलाई सफल बनाउन सरकारले सहयोग गर्ने बताउनुभयो र निजीक्षेत्रका व्यवसायीहरूले ताली बजाए । तर, प्रधानमन्त्री वा मन्त्रीले निजीक्षेत्रका बारेमा जति प्रशंसा गरे पनि र व्यवसायीले जति ताली बजाए पनि सरकारले निजीक्षेत्रलाई फटाहा व्यापारीका रूपमा मात्र हेर्ने गरेको पाइन्छ ।
प्रधानमन्त्री ओलीले कोरोनाका कारण निकै नराम्रो अवस्थामा पुगेको देशको अर्थतन्त्रको पुनरुत्थानमा निजीक्षेत्रको भूमिका निकै महŒवपूर्ण हुने बताउनुभयो । नेपाल सरकारले आर्थिक अवस्थाका कारण राहत दिन नसकेको स्वीकार्नुभयो । तर, सरकारले खर्च कटौती गरेर अर्थतन्त्र जोगाउन सक्थ्यो, सहुलियत दिन सक्थ्यो, नीतिगत सहजता बनाइदिन सक्थ्यो । यी सबै काम नगर्ने सरकारले पैसा नभएकाले सहयोग गर्न सकिएन भन्नु अरूलाई मूर्ख बनाउन प्रयास गर्नुमात्रै हो । व्यवसायीहरूले विकसित देशहरूले दिएको जस्तो सहयोग खोजेका पनि छैनन् ।
निजीक्षेत्रलाई सबल बनाउन ऐन, नियम बनाउनेलगायत सहयोगका कामहरू सरकारले गर्ने कुरा प्रधानमन्त्रीले जति दोहा¥याए पनि जति छिटो ऐनकानून बनाउन सकिन्थ्यो त्यो गतिमा सरकारले काम नगरेको सबैले अनुभव गरेको विषय हो ।
निजीक्षेत्रले नेपालीलाई विदेशमा लगानी गर्न दिनुपर्छ, जसले गर्दा नेपाली लगानीकर्ताको आत्मविश्वास बढ्छ र विदेशी लगानी भिœयाउन पनि सहज हुन्छ भनेर आवाज उठाइरहेको छ । तर, प्रधानमन्त्रीले विदेशमा लगानी गर्न खोज्नेलाई निरुत्साहित गर्नुभयो । केही हदसम्म यो भनाइ ठीक होला तर सरकारले लगानीका लागि जति नै सहजीकरण गरेको भने पनि यथार्थमा त्यो अनुभूति लगानीकर्ताले गर्न पाएका छैनन् । त्यही भएर पैसा भएर पनि नेपालीले लगानी गरिरहेका छैनन् ।
सरकारले उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्छ, निजीक्षेत्रको विश्वास बढाउनुपर्छ र लगानी गर्न अप्ठ्यारो पारेको गाँठो फुकाइदिनुपर्छ । तर, यस्तो नहुँदा सरकारले निजीक्षेत्रको जति नै प्रशंसा गरे पनि त्यो पत्यारिलो लाग्ने गरेको छैन ।
सोमेश कायस्थ
कालीमाटी, काठमाडौं ।