ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विदेशमा लगानी खुला गरौं

२०७७ मंसिर, १२  
सम्पादकीय
Image Not Found

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा उद्घाटन नेपालमा पूँजी कमाएर विदेशमा लगानी गर्ने काम नराम्रो भएको बताउनुभयो ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले नेपालीलाई विदेशमा लगानी गर्न दिनुहुन्छ या हुँदैन भन्ने विषयलाई पुनः चर्चामा ल्याएको छ ।

नेपालीलाई विदेशमा लगानी गर्न दिँदा मुलुकलाई आर्थिक मात्र होइन, बहुआयामिक फाइदा छ । दुई देशका व्यवसायीहरूको सम्बन्ध गाँसिँदा दुई देशका बीचको सम्बन्ध थप बलियो बनाउन पनि सहयोग मिल्छ ।

५४ वर्षअघि बनेको विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ को टेकोमा टेकेर नेपालीलाई विदेशमा लगानी गर्न रोकिएको छ । तर, घुमाउरो पाराले विदेशमा लगानी गर्न भने रोकिएको छैन । विगत २ दशकमा नेपालीहरूको उपस्थिति विश्वका धेरै देशमा भइसकेको छ र ती देशमा नेपालीले विभिन्न तरीकाले लगानी गरी व्यवसाय गरिरहेका छन् । तर, त्यस्तो व्यवसायबाट आर्जेको नाफा सोझो तरीकाले नेपालमा ल्याएर लगानी गर्न सकिँदैन । त्यही भएर आर्थिक वर्ष २०६५/६६ मा नेपालीलाई विदेशमा लगानी गर्न दिने गरी कानून बनाउने भनी मन्त्रिपरिषद्ले निर्णय नै गरेको थियो । त्यसपछि पनि यस विषयमा कुरा भए पनि लगानी खुलाउने विषयले मूर्तरूप लिन सकेको छैन । निजीक्षेत्रले यस्तो लगानी गर्न दिनुपर्ने आवाज उठाइरहेको सन्दर्भमा प्रधानमन्त्रीको भनाइले सरकार अझै यसतर्फ अनुदार नै रहेको देखाउँछ ।

नेपालमा उद्योग व्यवसायको विकास र विस्तार गर्ने हो भने देशमा ठूलो लगानी आवश्यक पर्छ । यो लगानी स्वदेशी र विदेशी दुवै चाहिन्छ । तर, सरकारले विदेशको लगानीलाई स्वागत गर्ने र नेपालीलाई विदेशमा लगानी गर्न नदिने एकतर्फी नियम बनाएको छ । उदारवादको यस युगमा यस्तो नीतिका कारण सरकारप्रति लगानीकर्ता सशंकित हुन पुग्छन् र विदेशीहरू लगानीका लागि निरुत्साहित हुन सक्छन् ।

पूँजी पलायन हुने डरले नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाइएको बुझिन्छ । विदेशमा लगानी गर्न दि“दा यहा“को उद्योग सरसम्पत्ति बेचेर विदेशमा लगानी गर्न विदेशमा लैजान्छन् भन्ने धारणा पाइन्छ । तर, अनौपचारिक रूपमा थुप्रै व्यवसायीले विदेशमा लगानी गरेका छन्, जसबारे सरकार जानकार छ । तैपनि सरकार न कारबाही गर्न सक्छ न रोक्न नै सक्छ । यस्तोमा औपचारिक रूपमा लगानी गर्न दियो भने कति लगानी विदेशमा भएको छ त्यो यकिन तथ्यांक सरकारलाई थाहा हुन्छ ।

विदेशी लगानीकर्ताले नेपालको बारेमा बुझ्न पाएका हुुँदैनन् । नेपालीलाई विदेशमा लगानी गर्न दि“दा उनीहरूले नेपालको लगानीको वातावरणबारे थप थाहा पाउँछन् र सकारात्मक सन्देश जान्छ । नेपालका केही निर्माण कम्पनीहरूले विदेशमा ठेक्का पाउन सक्ने अवस्था देखिएको छ । तर, विदेशमा लगानी गर्न नपाउने नियमले गर्दा अहिलेसम्म उनीहरूले विदेशी ठेकेदारको पेटी ठेकामै सीमित हुनु परेको छ । फलस्वरूप देशभित्रकै ठेक्कामा पनि उनीहरू पेटी ठेकामै सीमित छन् ।

भारतकै उदाहरण हेर्ने हो भने पनि विदेशमा लगानी गर्न दिनु लाभदायक भएको पुष्टि हुन्छ । भारतले पनि पहिले विदेशमा लगानी गर्न दिँदैनथ्यो । तर, उदारीकरणको शुरुआतसँगै भारतले यस्तो लगानीलाई अनुमति दिन थाल्यो र केही वर्षमै यसको प्रत्यक्ष फाइदा देशले पाउन थाल्यो । नेपालमा नीतिनियमहरू राम्रो बनाउँदा पनि विदेशी लगानीकर्ता आएका छैनन् । नेपालमा लगानी गर्न आएकाले पनि थप लगानी गरेका छैनन् ।

नेपालीले वैधानिक रूपमै विदेशमा लगानी गर्न थाले भने त्यसले विदेशीहरूलाई नेपाल लगानीका बारेमा उदार छ भन्ने विश्वास बढ्छ । त्यसैले, कसैले विदेशमा ठूलो बजार पाउँछ, नाफा गर्न पाउँछ भने नेपालीलाई विदेशमा गएर लगानी गर्ने र व्यापार बढाउने अवसर दिनुपर्छ । हो, यसरी विदेशमा लगानी गर्न दिँदा विशेष नियमनको ढाँचा आवश्यक पर्छ, जसले विदेशमा कमाएको पैसा नेपालमा लगानी गर्न प्रोत्साहन गरोस् । नेपालीलाई विदेशमा लगानी गर्न दि“दा मुलुकलाई आर्थिक मात्र होइन, बहुआयामिक फाइदा छ । दुई देशका व्यवसायीहरूको सम्बन्ध गाँसिँदा दुई देशका बीचको सम्बन्ध थप बलियो बनाउन पनि सहयोग मिल्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्