ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोभिड महामारीपछि औपचारिक क्षेत्रको दुग्ध व्यवसाय १० प्रतिशतमा झरेको छ

२०७७ मंसिर, १२  
अन्तरवार्ता
Image Not Found
सुमित केडिया, नेपाल डेरी एशोसिएशनका निवर्तमान अध्यक्ष, निर्देशक, सीताराम गोकुल मिल्क्स प्रालि

दुग्ध उद्योगको क्षेत्रमा सुमित केडिया परिचित नाम हो । नेपाल डेरी एशोसिएशनका निवर्तमान अध्यक्ष र सीताराम गोकुल मिल्क्स प्रालिका अध्यक्ष समेत रहेका केडियाले नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वस्तुगत संघतर्फ कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका छन् । पछिल्लो समय कोभिड महामारीले सबैजसो क्षेत्र प्रभावित भइरहँदा दुग्ध व्यवसाय पनि यसबाट अलग रहन सकेको छैन । बन्दाबन्दी अवस्था सुधारिँदै गए पनि अझै लयमा फर्किनसकेको व्यवसायी बताउँछन् । प्रस्तुत छ, समग्र दुग्ध व्यवसायमा कोभिडले पारेको प्रभाव, दुग्ध पदार्थको उत्पादन तथा उपभोगको हालको अवस्था लगायत विषयमा आर्थिक अभियानले उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

दुग्ध उद्योग तथा दुग्ध व्यवसायीको वर्तमान अवस्था कस्तो छ ?
नेपाल राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने अहिले कोभिड–१९ पछि कुल गार्हस्थ्य उत्पादनमा रू. २ खर्बको क्षति भएको देखिन्छ, जसमध्ये कृषि क्षेत्रमा मात्र करीब रू. ४२ अर्बजतिको क्षति देखिन्छ । दुग्ध उद्योगको कुरा गर्नुपर्दा अहिलेसम्म रू. २ अर्बभन्दा बढी नोक्सानी भएको छ । बन्दाबन्दी शुरू भएपछि होटल, रेष्टुराँ, स्कुल, कलेजहरू बन्द भए । त्यसले एकातिर हाम्रो व्यापारको चक्रमा धक्का पुग्यो भने अर्कातिर बजारमा मानिस प्रत्यक्ष रूपमा आएर वस्तु किन्ने क्रम पनि घट्यो । किनभने मानिसले दूध र दुग्ध पदार्थ सेवन गर्नेभन्दा पनि आफ्नो स्वास्थ्य जोगाउन भनेर घरबाट बाहिर निस्किन सक्ने अवस्था भएन । यसले गर्दा दुग्ध पदार्थको बजार यसरी घट्यो कि अहिलेसम्म पनि बजार लयमा फर्किन सकेको छैन ।

यो अवस्था माथि उठाउन के गर्नुपर्ला ?
मेरो विचारमा यसका लागि २/३ ओटा काम गर्नुपर्छ । दूध र दुग्ध पदार्थको सेवनले मानिसको रोगप्रतिरोधात्मक क्षमता बढाउने कुराको प्रचार प्रसार र प्रवद्र्धनमा सरकारले पनि भूमिका निर्वाह गरिदिनुपर्छ । बजारको यो अवस्था कसरी माथि पु¥याउन सकिन्छ भन्नेमा चाहिँ हामी सबै केन्द्रित भएर जाँदा राम्रो हुन्छ ।

कोरोना महामारीको संक्रमण कम गर्न सरकारले गरेको बन्दाबन्दीको समयमा पनि दैनिक उपभोग्य वस्तु भएकाले गर्दा दूधको विक्री वितरण रोकिएको थिएन । तर पनि विक्री कसरी घट्न पुग्यो ?
दूध अत्यावश्क वस्तु भएकाले सरकारले त्यो बेलामा ढुवानी तथा विक्री वितरणमा रोक नलगाउने भने पनि यथार्थमा चाहिँ हाम्रा गाडीहरू रोक्ने, गुड्न नदिने, बिहान ८ बजेपछि डेरी पसलहरू पनि बन्द गराउने जस्ता काम सरकारी निकायले गरेकै हो । बाहिर आम जनताको दृष्टिमा अत्यावश्यक वस्तुको ढुवानी तथा विक्री वितरण रोकेका छैनौं भने पनि बन्दाबन्दीको समयमा हुनुपर्ने जति सहजीकरण चाहिँ थिएन ।

बन्दाबन्दीपछि अहिले दूध उपभोग तथा विक्रीको अवस्था कस्तो छ ?
जाडो मौसममा आइसक्रिम र दही बाहेक अन्य दुग्ध पदार्थको उपभोग बढ्ने गर्दछ । यो हाम्रो सिजनको समय पनि हो । बन्दाबन्दीको शुरुआती अवस्थाको भन्दा थोरै मात्रामा भए पनि सुधार आएको छ । तर कात्तिक र मंसिरमा दशैं, तिहार र छठ पर्वका कारण मानिसको आवतजावत काठमाडौं बाहिर र भित्र हुने क्रम चल्यो । त्यसले पनि केही प्रभाव पार्‍यो । तर अब पहिलेभन्दा सुधार भएको हो कि भन्ने लागेको हो ।

हाल देशभरको कुल दूध उपभोग कति प्रतिशत छ ?
मेरो विचारमा औपचारिक क्षेत्रको मात्र कुरा गर्नुपर्दा ३० देखि ३५ प्रतिशतको हाराहारीमा खपत भएको होला । यस बाहेकको अनौपचारिक क्षेत्र वा किसान आफैले घरघरमा गएर दूधको डेलिभरीमार्फत गर्ने व्यवसाय चाहिँ केही बढेको छ । किनभने अहिले धेरैजसो उपभोक्ता घर बाहिर निस्कन डराउँछन् । त्यसैले उनीहरू घरमै दूध मगाउँछन्, जसले गर्दा औपचारिक क्षेत्रको बजारमा दूधको उपभोग निकै घटेको छ भने अनौपचारिक क्षेत्रको बजार बढेको छ ।

सामान्य अवस्थामा नेपालमा दैनिक दूध उत्पादन र खपत कति थियो ? अहिले बन्दाबन्दीपछि कति छ ?
नेपालमा दैनिक दूध उत्पादन ६२ लाख लिटरको हाराहारीमा हो । करीब १७ प्रतिशत दूध औपचारिक क्षेत्रमा आउने गर्दथ्यो । ५० प्रतिशत दूध किसान आफैले उपभोग गर्ने र बाँकी अनौपचारिक क्षेत्रमा जान्थ्यो । यसको मतलव करीब ३३ प्रतिशत अनौपचारिक क्षेत्रमा जान्थ्यो । अहिले त्यो १७ प्रतिशत पनि घटेर करीब १० प्रतिशतमा झर्‍यो र बाँकी दूध अनौपचारिक क्षेत्रमा मोडियो । त्यसैले कोभिड–१९ ले गर्दा अनौपचारिक क्षेत्रको विक्री औपचारिक क्षेत्रको तुलनामा बढेको छ ।

दूध उत्पादनको अवस्था कस्तो छ ?
उत्पादनमा पनि ह्रास आएको छ । किनभने दूध उपभोग घटिसकेपछि कतिपय किसानले आफ्ना गाईवस्तुहरू बेच्ने काम गरे । किसानको आम्दानी घटेपछि गाईभैंसीले पनि राम्रो आहार खान पाएनन् । आहाराको अभावमा दूध उत्पादन पनि घटेको छ । यतिबेला उत्पादन व्यापारको चक्रमै समस्या उत्पन्न भएको छ । त्यसैले यो अवस्था सम्हालन सकनौं र यही अवस्था कायम रहेमा भोलिको दिनमा उद्योगको दुग्ध आपूर्तिमा पनि असर पर्ने सम्भावना देखिरहेको छु ।

बन्दाबन्दीकै बीच पनि कतिपय कम्पनीका गोदाममा म्याद नाघेका दुग्ध वस्तु भेटिएको पनि सुनियो । यस्तो कैफियत हुन नदिन के गर्नुपर्छ ?
हामी उत्पादन तथा प्रशोधन गर्ने मात्र होइन, भोलिको दिनमा त्यहाँबाट आएको सामान हामी आफैले पनि उपभोग गर्नुपर्ने हुन्छ । हामी पनि के कुरामा सचेत छौं भने भोलिको दिनमा हाम्रो उद्योगबाट निस्केको कुनै पनि दूध र दुग्ध पदार्थमा स्वच्छता र गुणस्तरको हिसाबले केही कमीकमजोरी नहोस् । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धी निर्देशिका निकालेको छ । तर हालसम्म पनि त्यो निर्देशिका कार्यान्वयन हुन सकिरहेको छैन । त्यो निर्देशिकामा दुग्ध पदार्थको गुणस्तर सम्बन्धमा किसानले गर्नुपर्ने, उद्योगहरूले पालना गर्नुपर्ने विषय उल्लेख छन् । कुनै किसानले आफूले उत्पादन गरेको अलिकति दूध होटलमा लगेर बेच्छ भने त्यति अप्ठ्यारो छैन । तर कसैले पसल राखेर दूध बेच्छ भने त्यहाँ उसले अनिवार्य रूपमा प्याकेजिङ र लेबलिङको मापदण्ड अपनाउनुपर्ने हुन्छ । त्यसैले हामीले के कुरामा जोड दिइरहेका छौं भने त्यो निर्देशिका कार्यान्वयन हुन सके सम्पूर्ण भ्यालुचेनमा पनि सुधार र उपभोक्ताले पाउने गुणस्तरमा थप सुधार हुन सक्छ ।

चालू पूँजीको समस्याले व्यवसायीलाई काम गर्न कत्तिको समस्या भएको छ ?
बैंकहरूले कृषि कर्जामा यति खर्च गर्नैपर्ने भन्ने एउटा प्रावधान छ । त्यसमा हामीले ५ प्रतिशत जति कृषि कर्जा भनेर सुविधा पायौं । हाम्रो अहिलेको सबैभन्दा ठूलो समस्या चालू पूँजीकै हो । हाम्रो बटर र पाउडर दूधको स्टक हुनेबित्तिकै कामदार तथा कर्मचारीको तलब भत्ता, किसानहरूको भुक्तानीमा समस्या आइहाल्छ । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका लागि राम्रा कुराहरू छन् । तर त्यसमा चालू पूँजीको शीर्षक नभएको हामीलाई दैनिक कार्यमा समस्या छ ।

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघतर्फ कार्यकारिणी समिति सदस्यमा उम्मेदवारी दिनु भएको छ । त्यसमा जित हासिल गर्नुभयो भने नेपालको दुग्ध उद्योगमा के कस्ता सुधार देख्न सकिएला ?
मैले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएको छु । साथीहरूले मलाई जिताउनु भयो भने निजीक्षेत्रका समस्या वा मुद्दाहरूलाई सहज तरीकाले सामूहिक रूपमा समाधान गर्न सहयोग पुर्‍याउन सक्छु भन्ने विश्वास छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्