ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सडक सञ्जालमा जोडियो पर्यटकीय खुम्बु क्षेत्र

२०७७ मंसिर, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १२, काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ । यस अगाडी खुम्बु क्षेत्रमा पुग्न महंगो हवाई यात्रा र कष्टकर पैदलयात्रा बाहेक अर्को विकल्प थिएन । 

सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र माप्य दूधकोशी गाउँपालिकाको सीमानामा पर्ने दूधकोशीको अर्लाङघाटमा पुलनिर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्रखुम्बु सडक सञ्जालसँग जोडिएको हो ।

सडक सञ्जालले खुम्बुलाई सोलुसँग जोडेपछि खुशि देखिएका माप्य दूधकोशी गाउँपालिका–२ का रामबहादुर राईले बिगत सम्झिदैं भने, ‘उहिले यो खोला(दूधकोशी) बाबियोको डोरीमा झुण्डिएर पो तर्नु पथ्र्यो त ।’ खुम्बु क्षेत्र सञ्जालसँग जोडिएसँगै विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज भएको बताउँछिन् खुम्बु पासागंल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पा ।

उनी भन्छिन्, ‘खुम्बु क्षेत्र आउनका लागि लुक्ला, फाप्लु सम्ममहंगो भाडातिरेर जहाज चढ्नु पथ्र्यो । हवाईयात्रा संभव नभएमा सल्लेरीसम्म गाडी र त्यसपछि पैदलयात्रा पथ्र्यो । तर, अब भने गाढी चढेरै खुम्बु क्षेत्र पुग्न सकिने भएपछि विदेशीमात्र नभई आन्तरिक पर्यटकको संख्या पनि बढ्नेछन् ।’ 

खुम्बु क्षेत्रमा वर्षेनी ४० देखि ५० हजार पर्यटक भ्रमण गर्छन् । दूधकोशी नदीमा पुल सञ्चालन भएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. १, थामडाँडासम्म सवारी साधन पुग्न थालेका छन् । यही वर्षभित्र खुम्बुको चौरीखर्कसम्म गाडीमार्फत आवतजावत गर्न सकिने अध्यक्ष शेर्पा बताउँछिन् ।

खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि खुम्बु क्षेत्रमा दैनिकउपभोग्य सामाग्रि र पर्यटकलाई लाग्ने भ्रमणखर्च पनि सस्तो हुने बताउँछन् स्थानीय आङफुर्वा शेर्पा । शेर्पा भन्छन, ‘रोड नहुँदा खाद्यान्न, नुन, तेल जस्ता सप्पै चिज हेलिकप्टर र प्लेनबाट ओसार्दा महंगो हुन्थ्यो ।गाडीले ढुवानी गरेपछि त अब सस्तो हुन्छ ।’

हवाई र पैदलयात्राबाट मात्र पुग्न सकिने खुम्बु क्षेत्र सडकसँग जोडिएपछि विदेशीमात्र नभई आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुने स्थानीय गोम्बु शेर्पाले बताए ।

 यसअघि सडक सञ्जाल नहुँदा लुक्ला र स्याङ्बोचे विमानस्थलको मौसम खराब हुँदा तथा हिउँपर्दा हप्तौंसम्म पर्यटकहरु फर्किन सक्दैन थिए । खुम्बुक्षेत्र सडक सञ्जालसँग जोडिएपछि मौसम सफा हुने प्रतिक्षा गरेर पर्यटकले लामो समय कुर्नुपर्ने समयको पनि अन्त्य भएको छ । 

सडकमार्ग हुँदै काठमाडौंबाट बीपी राजमार्गबाट ओखलढुंगा, सल्लेरी हुँदै दूधकोशी किनार पुग्न सकिन्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ३८ किलोमिटर सडकयात्रा पार गरेपछि ओर्लाङघाट पुगिन्छ । आर्लाङघाटबाट २५ किलोमिटर सडकपार गरेपछि थामडाँडा पुग्न सकिन्छ । थामडाँडाबाट ५ घण्टाको पैदलयात्रा तय गरेपछि लुक्ला पुग्न सकिन्छ ।

सडक सञ्जालले खुम्बु क्षेत्रमात्र नभई सोलुकासेलिगुढी, खास्ताप, काँकु, राप्छा, ठूलीढुंगा, ओर्लाङघाटअँधेरी, जुभिङ, खरीखोला, बुप्सालगायतका एक दर्जन बस्तीलाई पनि सडक सञ्जालसँग जोडेको  माप्य दूधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।

७ करोड २९ लाख ९७ हजार २०० रुपियाँको लागतमा निर्माण भएको पुलका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १ करोड रुपियाँ, प्रदेश सरकारबाट २ करोड  रुपियाँ र बाँकी बजेट माप्य दूधकोशी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त रूपमा विनियोजन गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्