ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

२०७७ मंसिर, १२  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर १२, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका  छन् । 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रुपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपी यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्नेमा आफ्नो सहमति जनाएका  थिए । 

ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए । चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेर कानूनी चुनौतीहरू दिएका थिए । तर अदालतले ट्रम्पले लगाएका आरोपहरुमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरु खारेज गरिदिएका थिए । 

हाल राष्ट्रपति ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकार गर्न नजिक पुगेको देखिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताएका छन् । इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महीनाको १४ तारिखमा हुँदैछ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेद्वारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गर्नु भएको देखिएको छ । संविधान अनुसार कुल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गर्नेछन् । त्यसयता जो बाइडेन राष्ट्रपति–निर्वाचितका रुपमा रहनेछन् ।  रासस/एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्