ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अबको नेतृत्व महिला उद्यमीलाई साथ लिएर जाने हुनुपर्छ : शारदा रिजाल, महिला उद्यमी 

२०७७ मंसिर, १२  
अन्तरवार्ता
Image Not Found
नेपाल उद्योग वाणिज्य महासंघको महासंघको निर्वाचनमा वस्तुगततर्फ सदस्य पदका उम्मेदवार शारदा रिजाल
author avatar अभियान संवाददाता

उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा तथा अधिवेशनलाई लिएर यतिखेर सिंगो व्यावसायिक क्षेत्रका प्रतिनिधि काठमाडौंमा भेला भएका छन् । मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशन १३ गते वरिष्ठ उपाध्यक्षसहितको नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । जिल्ला नगर, एशोसिएट तथा वस्तुगत क्षेत्रका आ–आफ्नै चुनावी मुद्दाहरूका साथ प्रतिस्पर्धीहरू चुनावी मैदानमा उत्रिएका छन् । यसैबीच यो निर्वाचनमा महीला उद्यमशीलताको वकालत गर्दै केही महिला उद्यमीहरू पनि चुनावी मैदानमा छन् । प्रस्तुत छ, महासंघको आसन्न निर्वाचन तथा महिला उद्यममशीलताको प्रश्नमा केन्द्रित रहेर नेपाल महिला उद्यमी महासंघका निवर्तमान अध्यक्ष तथा महासंघको निर्वाचनमा वस्तुगततर्फ सदस्य पदका उम्मेदवार शारदा रिजालसँग आर्थिक अभियानले गरेको कुराकानीको सम्पादित अंश : 
 

यो निर्वाचनमा धेरै पुरुष उम्मेदवारहरूका बीचमा कम मात्रै महिला उम्मेदवार र त्यसमा तपाईं पनि एक हुनुहुन्छ, कस्तो छ निर्वाचनको तयारी ?

हो, पक्कै पनि यो क्षेत्रमा महिलाहरूको उपस्थिति कम छ । त्यसैले नै समग्र गतिविधिमा महिलाहरूको उपस्थिति बढाउनु पर्छ । उद्यमशीलतासँगै नेतृत्व विकासको चरणमा पनि लैजानु पर्छ भनेर हामीहरू यो प्रतिस्पर्धामा छौं । खासगरी वस्तुगततर्फ कुरा गर्दा हामी दुई जना महिला छौं । आफ्नो ढंगले चुनावी तयारीमा लागेका छौं । तर हामी प्रतिस्पर्धामा रहे पनि महिलाहरूको सहभागिताको आवश्यकताका लागि पनि हामीलाई मतदाताले छनोट गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।  

महिला उद्यमीका मुद्दाहरूमा काम गर्न नेपाल महिला उद्यमी महासंघ हुँदा हुँदै किन यता आवश्यक पर्‍यो, त्यहा बसेर पनि त काम गर्न सकिन्थ्यो होला नि ? 

महिला उद्यमी महासंघले ५० ओटा जिल्लामा आफ्नो सञ्जाल छ । तर महासंघ ७७ ओटै जिल्लामा आफ्नो सञ्जाल भएको संस्था हो । महासंघको ५४ वर्षे इतिहासमा महासंघले पहिलो पटक भवानी राणालाई अध्यक्षका रूपमा पाएको हो । उहाँ पनि हाम्रो संस्थाबाटै प्रतिनिधित्व गर्दै विभिन्न पदमा रहँदै महासंघको नेतृत्वमा पुग्नु भएको हो । यताबाट गर्न सक्ने कामहरू त हामीले गरेकै छौं । हामीले उद्यमशीलताको माध्यमबाट करिब दुई दशकदेखि महिला सशक्तीकरण, उद्यमशीलता विकासका कामहरू गर्दै नै आएका छौं । अब महासंघमा जाँदा पनि मैले उठाउने अगाडि बढाउने एजेण्डा भनेकै महिला सशक्तीकरणका लागि नै हो । महिलालाई कसरी उद्यमशीलतामा जोड्न सकिन्छ र उनीहरूको जीवनस्तर कसरी माथि उठाउन सकिन्छ भन्ने नै हो । म आफैंले पनि आफ्नो उद्योगमा शतप्रतिशत महिलाहरूलाई नै रोजगारी दिंदै आएकी छु । त्यसैले पनि मेरो एजेण्डा त्यसैमा केन्द्रित रहनेछ । 
 

सरकार, महासंघ, महिला उद्यमी महासंघ सबैले आ–आफ्ना ठाउँमा महिला सहभागिताको कुरा गर्छन् । तर प्रतिनिधित्व सोही अनुरूप हुँदैन किन होला ?

भनाइ र गराइमा तारतम्य नमिल्ल्दा यस्तो भएको हो भन्ने लाग्दछ । अहिले पनि हामीहरू चुनावी प्रतिस्पर्धा गरिरहँदा सबै जनाले तपाईंहरु जस्तो महिलाहरू आउनु पर्छ भन्नु हुन्छ । तर सबैको सहयोग रहन्छ भन्ने छैन । पक्कै पनि हरेक ठाउँमा महिलाहरू नेतृत्वमा आउन संघर्ष गर्नुपर्ने अवस्था विद्यमान छ । यसो भन्दैमा सधैं पछाडि बस्ने भन्ने कुरा रहँदैन । त्यसैले हामीले ७७ ओटै जिल्लामा विभिन्न उद्यममा रहेका महिलालाई एकजुट गर्दै उनीहरूको आर्थिक सशक्तीकरणमा लाग्नु छ । अहिलेको आवश्यकता पनि त्यो नै हो ।   
 

उद्यम गर्न महिला उद्यमीहरूले भोग्नुपर्ने समस्याहरू र चुनौतीहरू के – के हुन् ? 

महिला उद्यमीहरूले धेरै नै चुनौतीको सामना गरेर अगाडि बढ्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । यद्यपि पहिलेको तुलनामा केही सुधार भने पक्कै भएको छ । गर्छु भन्नेहरूलाई चुनौतीसँगै अवसरहरू पनि सृजना भएका छन् । ती अवसरहरूलाई कसरी लिने र अगाडि बड्ने भन्ने मुख्य चुनौतीको विषय हो । महिलाहरू काममा इमानदार छन्, हातमा शीप पनि छ, काम गरेर परिणाम दिन पनि सक्छन् । तर उनीहरूसँग पूँजीको अभाव छ । बैंक तथा वित्तीय संस्था मात्र होइन, परिवारले पनि उद्यम शुरू गर्दा महिलाहरूलाई विश्वास गरेर लगानी गरिदिने अवस्था अझै बनेको छैन । 
यस्ता समस्या र चुनौतीबाट पार पाउन तपाईंहरूको भूमिका के रह्यो ?

महिला उद्यमीका चुनौतीका कुरा गर्दा वित्तीय पहँच, तालीम र बजारीकरणलाई मुख्य समस्याको रूपमा देखेपछि त्यसलाई सम्बोधन गर्नेगरी हामीले आफ्नो सञ्जाल भएका जिल्लाहरूमा विभिन्न तालीम तथा जनचेतनाका काम सम्पन्न गरेका छौं ।  यी कार्यक्रमहरू हाम्रा नियमित कार्यक्रमहरू नै हुन् । यस्तै वित्तीय पहुँच अभिवृद्धि गर्न उद्योग वाणिज्य महासंघ, महिला उद्यमी महासंघ र घरलु तथा साना उद्योग महासंघ मिलेर सरकासँग पहल गर्‍यौं । सरकारले पनि कोषको व्यवस्था गर्‍यो अहिले राष्ट्र बैंकको नीति अनुरूप विभिन्न बंैक तथा वित्तीय संस्थाबाट पनि त्यो पहल भएकै छ । पहिलेभन्दा केही सहज बनेको छ । तर यो नै पर्याप्त भने होइन । महिला उद्यमीहरूलाई माथि ल्याउन राज्य र निजीक्षेत्र दुवैको भूमिका महत्वपूर्ण रहन्छ । 
 

महिला उद्यमशीलताको विकास गर्न थप के गर्नुपर्ला ? त्यसका लागि महासंघको कस्तो नेतृत्व आउनु पर्ला ?

वित्तीय पहँचामा पहिले भन्दा केही सहज भए पनि त्यो पर्याप्त छैन । बैंक तथा वित्तीय संस्थाहरूले दिने विनाधितोको रकम १५ लाख रुपियाँको सीमा बढाउन आवश्यक छ । भर्खर व्यवसाय शरू गर्न लागेकोलाई त १५ लाख रुपियाँ ठीकै होला । तर स्थापित उद्योगहरूलाई त्यो रकम पर्याप्त हुँदैन । त्यसैले यसको सीमा बढाएर कम्तीमा २५ देखि ५० लाख रुपियाँसम्म पुर्‍याउनु पर्छ भनेका छौं । अब महासंघमा आउने नेतृत्व महिला उद्यमशीलताको विकास र विस्तारमा सहयोगी हुनुपर्छ भन्ने मेरो धारणा हो । जो नेतृत्वमा आए पनि महिला उद्यमशीलताको विकासमा पहल गर्ने नेतृत्व आउनेछ भन्ने महिला उद्यमीहरूको आशा हो भने म मेरो ठाउँबाट गर्ने प्रयत्न पनि त्यही नै हुनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्