मंसिर १४, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार उनी आफ्ना प्रतिद्वन्द्दी किशोर प्रधानलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् ।
शनिवार भएको ५४ औं वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा ढकाल निर्वाचित भएका हुन्।
महासंघको विधान अनुसार ढकाल अव निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर गोल्छापछि महासंघको नेतृत्व गर्नेछन् ।
तस्वीरहरु : मिलन विश्वकर्मा /आर्थिक अभियान
निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गरेका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका थिए ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४ दशमलव २६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५ दशमलव ७४ प्रतिशत मत प्राप्त गरेका थिए । यो विजयसँगै ढकाल उद्योग वाणिज्य महासंघको २०औं अध्यक्ष बन्ने निश्चित भएको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् । उनीहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।
वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाएका थिए। जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरेका थिए ।
यस्तै एशोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघाई विजयी भएका छन् । संघाईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरेका थिए ।महासंघ- जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भएका छन् ।
यसैगरी गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन् ।
आइएमई ग्रूपका अध्यक्षसमेत रहेका ढकाल ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्सभन्दा धेरै व्यवसायिक संस्थामा संलग्न रहेका छन्।
यसैवीच, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले अब जित–हार भुलेर महासंघलाई बलियो बनाउन अघि बढ्ने बताएका छन् ।सञ्चारमाध्यमका प्रतिनिधिहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै ढकालले अब चुनावसँगै प्यानल पनि सकिएको बताएका छन् ।