ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वैदेशिक रोजगारीबाट आर्जित शीप र पूँजी गाउँमा लगानी

२०७७ मंसिर, १४  
प्रदेश ०१
NA
author avatar दिनेश गजमेर

सुनसरी । पछिल्लो समय युवाहरूले विदेशमा आर्जित शीप र पूँजी स्वदेशमा उपयोग गर्न थालेका छन् । यसैका उदाहरण हुन् वराहक्षेत्र–५ लक्ष्मीपुरका युवा आदेश गौतम । १५ वर्ष विदेशमा परिश्रम गरेका उनलाई सधैं विदेश बसिरहन मन लागेन । वर्षौंसम्म आफूले आर्जन गरेको शीप आफ्नै गाउँ–ठाउँमा लगाउने सोचले स्वदेश फर्किएका उनले डेढ वर्षअघि वराहक्षेत्र–५ भरौल कालाबन्जरमा ‘भरौल गार्डेन’ नामक  रेस्टुराँ खोलेका छन् ।

‘कालाबन्जरमा स्तरीय होटल रेस्टुराँ नभएको र आफूले पनि यससम्बन्धी शीप आर्जन गरेकाले अन्य विकल्पमा लागिनँ,’ उनले भने । इण्डियन, चाइनिज, इटालियन परिकार बनाउन सिद्धहस्त उनले पहिले यहाँका पारखीहरूको स्वाद, छनोट र मुडअनुसार नै खाना पस्कने निधो गरेर रेष्टुराँ व्यवसाय शुरू गरेका हुन् ।

यहाँका खानाका पारखीलाई धरान, इटहरी जान नपरोस् भनेर आदेशले स्वादिलो सेकुवा यहीँ तयार गर्ने योजना बनाए । कफी मेशिनबाटै विश्वस्तरीय कफी ‘सर्भ’ गर्नुपर्छ भन्ने उनले ठाने । ‘खाना नै जीवन हो, त्यसैले पुरानै खानाका नयाँ स्वादहरू बाँडौं मेरो सोचाइ हो,’ उनले भने, ‘बर्गरका लागि आवश्यक चाइनिज सागको उत्पादन गर्न यहाँका किसानलाई प्रोत्साहित गर्ने र बर्गरहरूका नयाँनयाँ स्वाद दिने योजनामा पनि छु ।’

आदेशले चीनमा रहँदा होटल र हस्पिटालिटीको विभिन्न क्षेत्रमा काम गरेर अनुभव बटुलेका छन् । साथै उनले इटालियन पाँचतारे होटलमा समेत काम गरेका छन् ।

कालाबन्जरमा उनले लाखौं लगानीमा रेस्टुराँ खोलेका हुन् । रेस्टुराँमा उनले स्थानीय युवालाई समेत आफ्नो शीप बाँडेका छन् । साथै शीप सिकाएर राम्रो कमाइ हुने ठाउँमा जान स्थानीय युवालाई प्रोत्साहित गरेका छन् । ‘यहाँ जतिसुकै राम्रो गरे पनि म २० हजारभन्दा बढी तलब दिन सक्दिनँ । राम्रो काम गर्नेले विदेशमा मासिक २ लाख रुपैयाँसम्म लिएका छन् । यहीँ मैले सिकाएका एकजनालाई कतार पठाइदिएको छु,’ उनले भने, ‘५० प्रतिशत लगानी पनि गरिदिएँ । गाउँघरका इच्छुक छन् भने सिकाउन सक्छु । पारिश्रमिक समेत दिएर सिकाइरहेको छु ।’

होटल, रेस्टुराँलाई पर्यटनसँग जोड्ने उनको इच्छा छ । स्थानीय सरकारले पर्यटकीय क्षेत्रमा लगानी गर्ने वातावरण मिलाइदिए आफ्नो शीप र ऊर्जा सदुपयोग गर्ने सोच छ उनको छ । तर उनले अहिले नै यो सम्भावना देखेका छैनन् । विदेशमा सरकारले शीप भएकालाई लगानी गर्ने गरेको सन्दर्भ सुनाउँदै उनले नेपाल सरकारले पनि शीप, अनुभवन भएका युवालाई व्यवसाय प्रवद्र्धनमा सघाउनुपर्ने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्