ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सोलार प्लान्ट राखिने

अन्तरराष्ट्रिय रूपमै राम्रो सन्देश जान्छ : पर्यटनमन्त्री, ऊर्जा सन्तुलन गर्न सोलार प्लान्ट पनि आवश्यक : ऊर्जामन्त्री

२०७७ मंसिर, १४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सोलार प्लान्ट पनि जडान गरिने भएको छ । विमानस्थल सञ्चालन गर्न आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले सोही ठाउँमै सोलार प्लान्ट बनाउने तयारी अगाडि बढाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्नेबारे छलफल अघि बढिसकेको छ । पहिलो चरणमा गत शुक्रवार ऊर्जा मन्त्रालयमा दुवै मन्त्रालयका मन्त्री र अन्य प्रतिनिधिहरूबीच छलफल भएको छ ।

छलफलमा मन्त्रीद्वय वर्षमान पुन र योगेश भट्टराई,  पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीणराज अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको उपस्थिति थियो । बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर एक साताभित्र मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ ।

एशियाली विकास बैंक (एडीबी)को सहयोगमै निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमीनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्न लागिएको हो ।

एडीबीले यसअघि नै सोलार प्लान्टका लागि नेपाललाई रू. १८ अर्ब ५ करोड दिएको थियो । सोही बजेटबाट सरकारले झापामा ५ मेगावाट, बुटवलमा ७ मेगावाट, पोखरामा ४ मेगावाट र चनौटामा ८ मेगावाटको सोलार प्लान्ट बनाउने कार्य अगाडि बढाएको छ । त्यसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरीद–विक्री सम्झौता समेत गरिसकेको छ ।

ती आयोजना निर्माण गरेर पनि एडीबीले दिएको रकम बचेको छ । त्यसपछि सोही रकमले थप सोलार प्लान्ट बनाउन लागिएको हो । एडीबीले दिएको रकममध्ये अझै नेपालसँग रू. ९ अर्ब ५० करोडभन्दा बढी बाँकी छ । उक्त रकमले २५ मेगावाट क्षमता बराबरको सोलार प्लान्ट बनाउन सकिन्छ । तर, विमानस्थललाई १० मेगावाट विद्युत्ले पुग्ने भएपछि सोही क्षमता बराबरको सोलार प्लान्ट बनाउन लागिएको हो ।

सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमीन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा दिनेछ । निजीक्षेत्रलाई सीधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ ।

प्राधिकरणले खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई नै सोलार प्लान्ट निर्माणको जिम्मा दिने बताएको छ । त्यसबाट उत्पादित विद्युत् खरीद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्ताव प्राधिकरणको छ ।

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको बताए । साथै, उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन सम्बन्धित निकाय तथा कर्मचारीलाई निर्देशन दिएका छन् । यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तरराष्ट्रि«य रूपमै राम्रो सन्देश जाने बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्