ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विश्वभरको शेयरबजारमा नयाँ उत्साह

शेयरबजारमा आएको परिवर्तनको प्रवृत्ति

२०७७ मंसिर, १४  
लेख | दृष्टिकोण
Image Not Found

बितेको २ हप्तामा विश्वका अधिकांश मुलुकको शेयरबजारमा धेरै कीर्तिमानी रेकर्डहरू कायम भएका छन् । गत हप्ताको शेयर कारोबारमा पनि विश्वभर धेरै रोचक संयोगहरू समेत देखापरेका छन् । बुधवार अमेरिकाको शेयर सूचक डाउ जोन्सले समेत अहिलेसम्मको उच्च रेकर्ड अंक ३००५८ कायम गर्‍यो भने मंगलवार भारतको प्रमुख शेयर सूचक सेन्सेक्सले अहिलेसम्मकै उच्च रेकर्ड अंक ४४५२३ छोएको थियो । संयोगले नेपालको समेत शेयर सूचक नेप्सेले बिहीवार उच्च रेकर्ड अंक १८९३ कायम गरेको छ । यसबाहेक बेलायतको एफटीएसई पनि लगातार बुलिश प्रवृत्ति रहेर उच्च रेकर्ड अंकको नजीक आइपुगेको छ । यो हप्तामा जापानको शेयर सूचक निक्कीले पहिलोपटक ३० वर्षयताको उच्च रेकर्ड कायम गरेको छ । यद्यपि सन् १९८९ अर्थात् ४१ वर्ष अगाडिको उच्च रेकर्ड अंकलाई भने जापानमा आजसम्म तोडिएको छैन । जर्मनको डाक्स सूचकले पनि गएको केही महीनामा उच्च रेकर्ड अंक बनाएको थियो भने यद्यपि त्यो अहिले पनि वारपार गर्ने सँघारमा छ । अस्ट्रेलिया, सिंगापुर, चीनलगायत केही एशियाली मुलुकहरूको सूचकले भने कोभिड १९ को महामारी तीव्र फैलिरहँदा नै उच्च रेकर्ड कायम गरिसकेका थिए । यसबाहेक अधिकांश मुलुकमा अहिले क्रमश नयाँ रेकर्डहरू कायम भइरहेको देखिन्छ र त्यसका कारण पनि मिल्दोजुल्दो भेटिन्छ । विश्वभरका मुलुकहरू कोभिड–१९ को महामारीबाट उन्मुक्तिका उपायहरू खोजिरहेको समयमा लगानीकर्ताहरूले पनि लगानीको उत्तम विकल्पका रूपमा शेयरलाई रोजेको देखिन्छ ।

अर्थ राजनीतिक वातावरणमा केही परिवर्तन देखापर्नु वा उच्च तरलताहरू कायम रहनु पनि नेपाल र भारतको बुलिश प्रवृत्तिका समान कारणहरू लाग्छन् ।

अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा जोए बाइडेन विजय भएपछि त्यहाँ नयाँ परिस्थिति बनेको छ । कोभिड–१९ बाट समग्र अर्थतन्त्रमा ठूलो जोखिम आएपछि त्यसबाट उन्मुक्ति पाउने योजनाहरूप्रति मतदाताहरू जोए बाइडेनसँग आशावादी देखिए । त्यससँगै कोभिड–१९ को विरुद्धमा नयाँ खोपको विकासको सफलताले लगानीकर्तामा नयाँ ऊर्जा थपिएको महसूस भयो । गतवर्ष कोभिड–१९ महामारीको घोषणासँगै विश्वबजारमा लगानीका लागि उपलब्ध विभिन्न भौतिक र अभौतिक उपकरणहरूको मूल्यमा तीव्र असन्तुलन देखापरेको थियो । विशेषगरी कोभिड–१९ पछि कच्चा तेल र शेयरबजारको मूल्यमा तीव्र गिरावट आएको थियो । त्यसको ठीकविपरीत सुन, चाँदी, तामालगायत बहुमूल्य धातुहरू र मुद्रासहित बहुराष्ट्रिय बन्डहरूमा मूल्य अस्वाभाविक वृद्धि भएको थियो । कच्चा तेलको मूल्य विश्वबजारमा पहिलोपटक गत अप्रिलमा ऋणात्मक बनेको थियो । त्यसैगरी सन् २०१८ पछि क्रमिक रूपमा बढ्न थालेको सुनको मूल्यले कोभिड–१९ को महामारीसँगै नयाँ रेकर्डसमेत बनाएको थियो । तर, अब जोखिमपछिको प्रवृत्तिले नयाँ दिशा लिने अनुमान गरिँदै आएको छ ।

विश्वभरको शेयरबजारमा अहिलेको उच्च रेकर्डमा धेरै समानता देखिन थालेका छन् । कोभिड–१९ महामारी घोषणापछि प्रमुख अर्थतन्त्र मुलुकहरूको शेयरबजारमा आएको गिरावटको सिलसिलमा करीब २ महीनासम्म चलेको थियो । तर, त्यो समयमा एशियाका केही मुलुकहरू चीन, सिंगापुर, अस्ट्रलिया भने अपवादमा देखिएका थिए । बियरिस प्रवृत्तिको लहर एशिया, यूरोप हुँदै अमेरिकी गोलार्धसम्मका अधिकांश मुलुकको शेयरबजारको मूल्य र सूचकहरूमा गिरावट आएको थियो । समग्र विश्वको शेयरबजारमा ३ महीनामा औसत ३५ प्रतिशतको गिरावट देखियो भने अप्रिल २०२० पछि बजार क्रमशः बुलिश लयमा फर्कियो । चीन, सिंगापुर, अस्ट्रलियालगायत मुलुकहरूमा कोभिड–१९ को असर न्यून रहेकाले त्यहाँको बजार खासै प्रभावित बनेको थिएन । अन्य ठूला अर्थतन्त्र भएका मुलुकहरूमा भने अप्रिल २०२० को बुलिश प्रवृत्तिसँगै शेयरबजारको संरचनामा पनि विश्वव्यापी रूपमा परिवर्तनहरू देखा प¥यो । बजारको अंशमा परम्परागत उपकरणहरूको मागमा धेरै ह्रास आएको थियो भने प्रविधिमा आधारित भएका उपकरणहरूको पूँजीकरणको अंशमा उल्लेख्य वृद्धि भयो । अमेजन, क्लोरक्स, जुम भिडियो, नेटप्लिक्स, अलिबाबादेखि पे–पलजस्ता कम्पनीहरूमा लगानीकर्ता आकर्षित भए भने पुराना कम्पनीहरूको वर्चस्व खोसियो । नेपालमा पनि ठीक त्यही शैलीमा कोभिड–१९ पछि शेयरबजारको संरचना, प्रविधिको प्रयोग, माग र आपूर्तिको स्वरूपलगायत विषयहरूमा परिवर्तन आएको देखिन्छ । नेपालको पनि यसपटकको बुलिश प्रवृत्तिमा परम्परागत रूपमा अगाडि लागेका कम्पनीहरू विशेषतः बैंकहरूको वर्चस्व विस्थापित भएको छ र प्रविधिको प्रयोग र पँहुचमा पनि व्यापक वृद्धि भएको छ ।

विश्वभर शेयरबजारका लगानीकर्ताहरू छिटो नाफा लिएर वा थप नोक्सान नबेहोर्ने मनसायले बजारमा उत्रनु स्वाभाविक हो । शेयरबजारको लगानी कच्चा तेल वा सुनको जस्तो प्रकृतिको जोखिमयुक्त अवस्था आउँदैन । लगानीकर्ताले जुन अपेक्षाले बजारमा आएका हुन्छन्, त्यसमा उनीहरूले लक्ष्य तय गरिसकेका हुन्छन् । तसर्थ कोभिड–१९ बाट उनीहरूले बजारमा धेरै नोक्सानी नहुने अनुमान गरिसकेका थिए । कोभिड–१९ ले आर्थिक संकट बोहेरे पनि ठूला र स्थापित कम्पनीहरू विस्थापनमा नपुग्ने निष्कर्षका कारण छोटो समयमा लगानीकर्ताहरू पुनः पूँजीबजारमा फर्किएका छन् । साथै कम्पनीहरूको नाफामा समेत धेरै गिरावट नदेखिएकाले सम्भावित प्रतिफलमा प्राप्त गर्नेमा उनीहरू ढुक्क हुन पुगे । बढीभन्दा बढी नाफा लिने उद्देश्यले उनीहरूको प्राथमिकता वा रोजाइमा भने धेरै फरक परेकोे देखिन्छ । यसले विश्वभरको बजारको संरचना र बजारको आकर्षण केही हदसम्म परिवर्तन गर्नमा सहज बन्यो ।

कोभिडको कारण कोभिड–१९ को महामारीपछि विश्व नै एकअर्थमा डिजिटलाइज भएको छ । यो समय बजारका संरचना परिष्कृत बन्दै पूर्णतः प्रविधिमा निर्भर हुन थालेका छन् । प्रविधिको प्रयोगले कम्पनीहरूको नाफामा समेत सुधार आएको छ, भने अपेक्षाकृत नोक्सानी कोभिड–१९ बाट नपर्ने विश्वासमा लगानीकर्ताहरू ढुक्क हुन पुगे । अन्ततः विश्वभरको शेयरमा थप नयाँ उत्साहहरू थपियो ।

नेपालको शेयरबजार र विश्व बजारको सन्दर्भलाई सीमित अर्थमा मात्र तुलनायोग्य गर्न सकिने अवस्था छ । तर पनि अहिलेको बुलिश लयमा धेरै सतही कारणहरूमा समानता देखिन्छ । यद्यपि यो समय नेपाल र भारतको शेयर सूचकले एक साथ उच्च तहको रेकर्ड अंक बनाए पनि अन्य दक्षिण एशियाली बजारमा भने नयाँ उत्साह देखिएको छैन । अमेरिकाको निर्वाचन र भारतसँगको सम्बन्धमा जोए बाइडेनले झन् महत्त्व दिने भारतको अपेक्षाले त्यहाँ उत्साह बढेको अनुमान गर्न सकिन्छ । यससँगै अपेक्षाअनुसार त्यहाँ अक्टोबरमा प्रकाशित हुने कम्पनीहरूको दोस्रो त्रैमासिक विवरणमा विभिन्न कम्पनीहरूको नाफा उल्लेख्य बढेको प्रतिवेदनहरू सार्वजनिक भएको छ । त्यसैगरी गत त्रैमासिक अवधिमा चीनको उत्पादकत्व वृद्धिमा उल्लेख्य गिरावट आउनु नै भारतका लागि उत्साहको विषय रहेको पाइन्छ । भारतीय लगानीकर्ताहरूले चीनको अर्थतन्त्र, बजारको आकार र संरचना, विश्व बजारमा चीनको प्रभुत्व र उसको निर्णयहरूलगायत विषयलाई गहिरो ढंगले विश्लेषण गर्ने गरेका छन् । चीनमा लगानी वा उत्पादकत्वमा ह्रास आएमा भारतको लगानीदेखि उत्पादकत्व र बजारको विस्तारसमेत बढ्ने अपेक्षा गरिन्छ । त्यसबाहेक विहारको विधान सभाको निर्वाचनमा नीतेश कुमारको पुनर्विजयले पनि त्यहाँको बजारमा केही उत्साहको तरंग दिएको थियो ।

विश्वभरका लगानीकर्ताका लागि कोभिड–१९ ले समग्र बजार संरचना बिथोलिदिएको छ । उनीहरूका लागि लगानी गर्न सीमित अवसरहरू प्राप्त छन् । अर्थ राजनीतिक वातावरणमा केही परिवर्तन देखापर्नु वा उच्च तरलताहरू कायम रहनु पनि नेपाल र भारतको बुलिश प्रवृत्तिका समान कारणहरू लाग्छन् । नेपालमा शेयरको रेकर्ड अंक बनाउँदै गर्दा बैंकहरूमा देखिने परम्परागत उत्साह विस्थापित भएको छ, भारतमा पनि उत्पादन क्षेत्रलाई पछि पारेर वित्तीय र प्रविधिमूलक कम्पनीहरू यो समय अगाडि लागेको देखिन्छ । भारतको बुलिश लयमा वैदेशिक संस्थागत लगानीकर्ताहरूको मागले महत्त्वपूर्ण भूमिका खेल्यो भने नेपालमा त्यो परिस्थिति निर्माण हुन सकेको छैन । केही समय अगाडि नेपाल धितोपत्र बोर्डले भेन्चर क्यापिटल, हेज फन्ड र प्राइभेट इक्विटी फन्डलाई व्यवस्थित गर्ने प्रयोजनार्थ विशिष्टीकृत लगानी कोष नियमावली सार्वजनिक गरेको थियो । त्यससँगै गैरआवासीय नेपाली र स्वदेशी तथा विदेशी नयाँ संस्थागत लगानीकर्ताहरू पूँजी बजारमा प्रवेशका लागि सहजीकरण गर्ने विषयहरू समेत बहसमा आएका थिए । तर, त्यो विषय कार्यान्वयनमा आएको छैन भने भारतीय बजारमा त्यसको प्रयोग धेरै अगाडि भइसकेको छ ।

लेखक आर्थिक तथा विकास अनुसन्धान केन्द्र (नारेक) नेपालका निर्देशक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्