मंसिर १४, कास्की । पोखरा पर्यटन परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराई निर्वाचित भएका छन् । शुक्रवार भएको परिषद्को ११ औं अधिवेशन तथा २०औं वार्षिक साधरण सभाबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।
परिषद्को उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काफ्ले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्य समितिको बैठकले चयन गर्नेछ ।
अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमांकनको काम तीन महीनाभित्र सक्ने दावी गरेका छन् । उनले लामो समयदेखि विवादित रुपमा रहेको सिमांकनको काम सकेर मुआब्जा वितरणमा लाग्ने बताए ।
मुख्यमन्त्री गुरुङले पूर्वराजाहरुले प्रयोग गर्दै आएको फेवाताल किनारमा अवस्थीत हिमागृह, रत्नमन्दिर सर्वसाधरणका लागि तीन महीनाभित्र खुला गर्ने बताए । नेपाल ट्रस्टको स्वामित्वमा रहेको ठाउँलाई पर्यटन स्थल हुने बताए ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसद राजिव पहारी, परिषद्का संस्थापक अशोक पालिखे लगायतले अब पर्यटन विकासका लागि फरक योजनाहरु ल्याउनु पर्नेमा जोड दिएका थिए ।