ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महासंघमा नयाँ नेतृत्व

२०७७ मंसिर, १५  
सम्पादकीय
Image Not Found

निजीक्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले ५४औं साधारणसभाबाट नयाँ नेतृत्व पाएको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बनेका छन् भने चुनावी प्रतिस्पर्धाबाट चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष बनेका छन् । नयाँ नेतृत्व भनिए पनि महासंघका विभिन्न पदमा रहेर कार्यरत व्यवसायीहरू नै नयाँ नेतृत्वमा देखिएकाले महासंघका आगामी दिन कम विवादास्पद हुने अपेक्षा गर्न सकिन्छ ।

व्यवसायीहरूको संगठनमा समूह बनाएर प्रतिस्पर्धा गरिएकाले निर्वाचनपछि पनि व्यवसायीहरूबीच तिक्तता र आरोपप्रत्यारोप रहिरहने हो कि भन्ने आशंका पाइन्छ । त्यसैले नयाँ नेतृत्व यसमा विशेष संवेदनशील हुन जरुरी देखिन्छ ।

व्यवसायीहरूको संगठनमा समूह बनाएर प्रतिस्पर्धा गरिएकाले निर्वाचनपछि पनि व्यवसायीहरूबीच तिक्तता र आरोपप्रत्यारोप रहिरहने हो कि भन्ने आशंका पाइन्छ । विगतमा महासंघ नेतृत्वमा यस्तो नभएको पनि होइन । यस्तो विवादले समग्र व्यावसायिक क्षेत्र र निजीक्षेत्र नै प्रभावित हुने भएकाले नयाँ नेतृत्व यसमा विशेष संवेदनशील हुन जरुरी देखिन्छ । निर्वाचनका समयमा वर्तमान अध्यक्षले समर्थन नगरेको व्यक्ति वरिष्ठ उपाध्यक्ष बनेकाले अन्तर्विरोध र विवाद भइरहने हो कि भन्ने आशंका व्यवसायीमा छ । यद्यपि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले मिलेर व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता विजयी भएपछि व्यक्त गरेका छन् । त्यसैले महासंघभित्रका सबैलाई समेटेर निजीक्षेत्रले भोग्नुपरेका समस्या समाधानार्थ जुट्नु नयाँ नेतृत्वका लागि चुनौतीपूर्ण देखिन्छ ।

उद्यमी व्यवसायीहरूको ठूलो र प्रभावशाली संस्था महासंघ हो, यद्यपि समानान्तर रूपमा नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श पनि सक्रिय छन् । यी संस्था पनि महासंघको विरोधमा छैनन् । तिनीहरूको पनि अस्तित्व छ र ती सबल पनि छन् । यस्तोमा निजीक्षेत्रका यी प्रतिनिधिमूलक संस्थाहरूलाई समेटेर सँगै हिँडाउने जिम्मेवारी र चुनौती नयाँ नेतृत्वमाथि छ । यी संस्थाबीच कम्पिटिसिन (प्रतिस्पर्धा) होइन कोपिटिसन (सहकार्य) हुनुपर्छ । प्रतिस्पर्धी व्यवसायमा समेत कोपिटिसन हुन्छ भने व्यवसायीहरूकै संघसंस्थामा प्रतिस्पर्धा जरुरी छैन, कोपिटिसन सम्भव छ । त्यसैले व्यावसायिक क्षेत्रका अप्ठ्यारा सुल्झाउन संयुक्त प्रयास जरुरी देखिन्छ । महासंघका सामु निजीक्षेत्रको वकालत गर्नुपर्ने र त्यसको उपादेयतालाई स्थापित गर्नुपर्ने अर्को चुनौती पनि छ । नेपालको नयाँ संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको उल्लेख गरेपछि यसको बढी बखान हुन थालेको छ । समाजवाद आफै अस्पष्ट र बहुरूपी त छँदै छ, साथै यो शब्दले निजीक्षेत्रको महत्त्वलाई नस्वीकारेको देखिन्छ । खासगरी वामपन्थी राजनीति हाबी भएको बेलामा निजीक्षेत्र सरकारप्रति केही आशंकित नै देखिन्छ । स्वदेशी निजीक्षेत्रमा यस्तो आशंका भएपछि विदेशी लागनीकर्तामा समेत यस्तो आशंका हुनु स्वाभाविक हो । राजनीतिक नेतृत्व पनि कहिले निजीक्षेत्रको महिमा बखान गर्ने तर कहिले निजीक्षेत्रलाई लगाम लगाउने अभिव्यक्ति दिइरहेको पाइन्छ । त्यसैले महासंघले यो अन्योल हटाउन पहल गर्नुपर्ने देखिन्छ । नयाँ नेतृत्व भए पनि नेपालको अर्थतन्त्र र प्राथमिकता आदिबारे जानकार र विदेशी लगानीकर्तासँग काम गरिरहेका व्यवसायी नै नयाँ जिम्मेवारीमा आएका छन् । त्यसले सरकार र व्यवसायीबीच विश्वासको वातावारण बनाउन सक्ने नेतृत्व आएको छ । यद्यपि जुन समूहले जितेको भए पनि यो अवस्था खासै फरक हुन्थेन ।

नेतृत्वमा आएका व्यक्तिलाई आफ्नो फाइदामात्रै हेर्ने समूहका रूपमा बाहिरबाट टीकाटिप्पणी आइरहेको पाइन्छ । कतिपय अवस्थामा यस्तो टिप्पणीमा स्पष्टीकरण दिनुपर्ने अवस्थासमेत महासंघलाई आउने गरेको छ । निजीक्षेत्रप्रतिको यस्तो आशंका र अविश्वासलाई हटाउने जिम्मेवारी पनि महासंघको नयाँ नेतृत्वसामु छ । सिन्डिकेट, कार्टेलिङ, बैंक र व्यवसायीबीचको विवाद जस्ता थुप्रै विषयमा महासंघ विशेष सचेत र सतर्क बन्न आवश्यक छ । निजीक्षेत्रप्रति हुने गरेको आलोचना र टिप्पणीलाई बलियो बन्न दिने होइन, निराकरण गर्दै जानु आवश्यक छ ।

कोभिडका कारण थला परेको अर्थतन्त्रलाई उकास्न निजीक्षेत्रले स्पष्ट दृष्टिकोण दिनु आवश्यक छ । त्यसैले आर्थिक नीति र सुधारका बारेमा महासंघले थिन्क ट्यांकका रूपमा काम गर्न सक्नुपर्छ । आआफ्ना व्यवसायमा व्यस्त भएर पनि व्यवसाय र संस्थाबीच सन्तुलन मिलाउँदै अगाडि बढ्न नयाँ नेतृत्वलाई सफलता मिलोस् ।

प्रतिक्रिया [1]
User Image

रामहरि

[Nov 30, 2020 12:18am]

धेरै पछि आर्थिकअभियानको समाचार बिहानै पढ्न पाइयो । धन्यवाद ..


प्रतिक्रिया दिनुहोस्