काठमाडौं, (अस) जोन्टा क्लब काठमाडौंले २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सुरु भएको १६ दिने लेंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने महिलामाथि हुने हिंसा अन्त्य गर्न जनचेतना जगाउने अभियान सुरु गरेको छ ।
क्लबले नेपाल चेम्बर अफ कमर्स, अन्तर्राष्ट्रिय श्रम संगठन, माइग्रेसनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम), पौरखी नेपाल, कुमारी बैंक र काठमाडौंस्थित थाई दूतावाससँगको सहकार्यमा उक्त अभियान सुरु गरेको हो ।
गत नोभेम्बर २७ मा आयोजना गरिएको भर्चुअल प्यानल सेसनमा प्रसिद्ध प्यानलिस्टहरू आया मत्सुरा, दक्षिण एसियाका लागि लिंग विशेषज्ञ आईएलओ डेसेन्ट वर्क टेक्निकल सपोर्ट टिम, हंशराम पाण्डे, वरिष्ठ विशेषज्ञ, सिर्जना राणा, अध्यक्ष, होटल एसोसिएसन अफ नेपाल, भुवन दाहाल, अध्यक्ष, नेपाल बैंकर्स संघ र डा. लोचन कार्की, अध्यक्ष, नेपाल मेडिकल एसोसिएसन रहेका थिए । भर्चुअलमा सहभागी विभिन्न संघसंस्थाका पदाधिकारीले महिला हिंसाविरुद्धको अभियान सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए । जोन्टा क्लब काठमाडौंमा विभिन्न पेसागत पृष्ठभूमिका ५४ जना महिलाले प्रतिनिधित्व गर्छन् । आर्थिक, शिक्षा, स्वास्थ्य, युवा र महिलाविरुद्ध हुने हिंसासम्बन्धी मुद्दा सेवा र वकालतमार्फत सुधार गर्नु आफ्नो उद्देश्य रहेको क्लबले जानकारी दिएको छ ।