काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिड–१९ महामारीको संवेदनशील समयमा पनि निर्माण सामग्रीमा कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गराइएको बताएको छ ।
महासंघले फलामजन्य निर्माण सामग्री विभिन्न साइजका डण्डी, पाता, पत्ती, जीआई तार, ग्याविन तार उत्पादक कम्पनीहरूले र नदीजन्य निर्माण सामग्री ढुंगा, बालुवा गिट्टीमा विभिन्न व्यवसायीले मूल्यवृद्धि गराएको दाबी गरेको छ ।
‘फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीहरूले अन्तर्राष्ट्रिय मुद्रा डलरको दरमा र फलाम ब्लेडको मूल्य थोरै बढेको अवस्थामा पनि अनुपातभन्दा बढी मूल्य बढाएर मिलेमतो गरेको देखिएको छ’, महासंघका महासचिव रोशन दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी देशका कुनै पनि स्थानबाट नदीजन्य सामग्री उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ । गृहको निर्णयबमोजिम निर्माणाधीन परियोजनामा ढुंगा, गिट्टी, बालुवाको अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएपछि सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको महासंघले जानकारी दिएको छ ।
केही महिनाअघिको भन्दा हाल डण्डीको मूल्य २० रुपैयाँसम्म बढाइएको र ढुंगा, गिट्टी, बालुवाको स्रोत दरको मूल्य दोब्बर बढेको महासंघको दाबी छ ।