मंसिर १५, धादिङ ।धादिङ जिल्लामा चार महीनाको अवधिमा एउटै कम्पनीमार्फत १ अर्ब रुपियाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।
चालू वर्ष २०७७/ ०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपियाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो । जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए ।
विभिन्न रेमिट्यान्स कम्पनीको आधिकारिक प्रतिनिधिको रूपमा काम गरिरहेको कला इन्टरनेशनल प्रालिमार्फत उत्तरी धादिङ र मध्य क्षेत्रका स्थानीयवासीका विदेशमा काम गर्न गएकाले रकम पठाउने गरेका छन् ।
असोज महीनामा मात्रै ३३ करोड ५५ लाख रुपियाँ बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।
विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक ४० देखि ५० लाख रुपियाँसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ । रासस