ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भोजपुरमा पहिलो पटक लाहा खेतीको शुरुआत

२०७७ मंसिर, १५  
प्रदेश ०१
Image Not Found
भोजपुरका अरुण गाउँपालिका–७ सिक्रटारमा रहेको खयर रूखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकीरा (भ्रुण) राख्दै स्थानियवासी

मंसिर १५ भोजपुर । भोजपुरमा पहिलो पटक लाहाखेतीको शुरुआत् गरिएको  छ । निजी, सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउने लक्ष्यसाथ डिभिजन वन कार्यालय भोजपुरले लाहाखेतीको थालनी गरेको हो । 

विषेश गरेर बढी तापक्रम तथा सुख्खाग्रस्त क्षेत्रमा पाइने खयर, बयरलगायत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको थालनी गरिएको डिभिजन वन कार्यालय भोजपुरले जानकारी दिएको छ । 

कार्यालयले अरुण गाउँपालिकाका तीन सामुदायिक र निजी वनमा परीक्षणको रुपमा लाहाखेती थालनी गरेको हो । विज्ञहरुको समूहसहित धनकुटा जिल्लाबाट बीउ ल्याएर रुखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकीरा (भ्रुण) छाडेर यसको थालनी गरिएको जिल्ला डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । 

प्रमुख घिमिरेले भने, ‘भोजपुरमा पहिलो पटक लाहाखेतीको शुरु भएको छ, मैले यहाँको कार्यालय प्रमुखको जिम्मेवारी लिए पश्चात पहिलो पटक यसको थालनी गरेको छु, यहाँका तल्लो तटीय क्षेत्र अर्थात बेँसीभेगका वनमा यसको सम्भावना धेरै छ, यसको व्यावसायिक खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ भने यो लगाई सकेपछि हाँगा काट्न नमिल्ने भएकोले वनको पनि संरक्षणमा टेवा पुग्छ ।’

लाहाको कच्चा पदार्थ प्रतिकेजी रू. २५० सम्ममा विक्री हुने र यसको प्रशोधन गरे पश्चात प्रतिकेजी रू. एक हजार ८०० देखि दुई हजारसम्ममा विक्री हुन्छ । ‘यो खेतीमा धेरै मेहनत गर्नु पर्दैन, एक पटक लगाएपछि वर्षमा दुई पटक संकलन गर्न सकिन्छ । फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकोले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्देश्यले यहाँ पनि लगाउन शुरु गरेका हौँ’, प्रमुख घिमिरेले भने । 

यस अघि लगाएका ठाउँमा एउटा रुखबाट सय केजीसम्म संकलन गरेको किसानले बताउने गरेको उनले जानकारी दिए । तल्लो भेग तथा नदी खोलाका किनार एवम् तिनीहरुको आसपासका खयर, बयर, मौवालगायतका प्रजातिका रुख भएका जंगल उपयुक्त रहेको कार्यालयले जानकारी दिएको छ । 

रुखको हाँगामा लाहा उत्पादन गर्ने लाही कीरा (भु्रण)हरु छाडिएको हो । अहिले शुरु भएकाले भविष्यमा राम्रो भएमा आगामी दिनमा सरोकारवाला पक्षसँग सहकार्य गरेर विस्तार गर्ने कार्यालयले जानकारी दिएको छ ।  निजी तथा विभिन्न सामुदायिक वनमा यसको बीउ लगाइएको हो । विषेश गरेर खयर, बयरमा उत्पादन भएको लाहाले राम्रो मूल्य पाउने भएकोले सो प्रजातिका रुखलाई प्राथामिकतामा राखिएको छ । 

अन्य प्रजातिका रुखभन्दा खयर र बयरमा उत्पादन भएको लाहाको बजार मूल्य राम्रो रहेको झापामा लाहाको उद्योग सञ्चालन गर्दै आएका विज्ञ डम्बर विकले जानकारी दिए । विकले भने, ‘मैले भारतमा १५ वर्ष बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेको अनुभव छ, नेपालमा पनि यसको सम्भावना धेरै छ, यहाँ राम्रो उत्पादन गर्न सके भारतबाट यसको आयात रोक्न सकिन्छ ।’

यसको व्यावसायिक रुपमाखेती गर्न सके आयस्तर राम्रो हुने विश्वास गरिएको छ । यसले सुख्खा क्षेत्रका सामुदायिक तथा निजी क्षेत्रका उपभोक्ताको आयस्तरमा वृद्धि तथा वनको संरक्षण हुने सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ भोजपुरका अध्यक्ष राजन राईले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्