मंसिर १५, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि मंसिर ३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीकोे नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ६४ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ५४ लाख ६१ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १ करोड ९८ लाख ८५ हजार पुगेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. १ करोड ५३ लाख ७४ हजार खराब कर्जा उठाउन कम्पनी ब्यवस्थापन सफल भएकाले नाफा बढेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा २१९ प्रतिशत र खुद ब्याज आम्दानी १७४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू.६ करोड रहेको छ भने जगेडा कोषमा रू. १४ करोड ७७ लाख ७९ लाख सञ्चित रहेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ अर्ब ५३ करोड ३६ लाख सापटि लिएर, रू.७२ करोड ३२ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब २४ करोड ४९ लाख कर्जा लगानी गरेको छ ।
हालसम्ममा कम्पनीले ५६ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।