ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नगरसभा नहुँदा कर्मचारीले तलब पाएनन्

२०७७ मंसिर, १५  
प्रदेश ०२
NA
author avatar दीपेश पौडेल

रौतहट । नगरसभा नहुँदा रौतहटको राजदेवी नगरपालिकामा कार्यरत कर्मचारीले तलब पाउन सकेका छैनन् । नगरप्रमुख धीरेन्द्र कुमार सिंह र उपप्रमुख अंशु सिंहको बीचको विवादको कारण हालसम्म नगरसभा हुन नसक्दा नगरपालिकामा कार्यरत कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायतले मासिक तलब नपाएका हुन् ।

साउन महीनादेखिको तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारी आन्दोलित भएका छन् । आफूले पाउनुपर्ने तलब नगरपालिकाले नदिँदा संघर्ष समिति गठन गरेर उनीहरू आन्दोलित भएका हुन् । आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहलाई ज्ञापनपत्र बुझाएर उनीहरूले तलब भत्ताको माग गरेका छन् ।

कोभिड–१९ को जोखिममा पनि अनलाइन कक्षा तथा पछिल्लो समयमा सामाजिक दूरी, स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन गरिएकाले समयमै तलब पाउनुपर्ने उनीहरूको माग छ । ४ महीनादेखि तलब भत्ता नपाउँदा समस्या भएकाले माग सुनुवाइका लागि आन्दोलन गर्नुपरेको संघर्ष समितिका संयोजक रवि शंकर यादवले बताए । आफूहरूले कालोपट्टी बाँधेर काम गर्ने र मागको सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम गरिने उनको भनाइ छ । यद्यपि विद्यालयको पठनपाठनमा कुनै अवरोध नगर्ने उनले बताए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध साहले नगरसभा नभएका कारण तलब दिन नसकेको भन्दै पुस १ गते नगरसभा गर्ने तय भएको बताए । नगरसभा सकिएकोे १० दिनभित्र तलब भत्ता निकासा हुने उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्