काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका हिराचन सोमवार भएको मतदानमा डीबी बस्नेतलाई पछि पार्दै कोषाध्यक्षमा नियुक्त भएका हुन् ।
आइतवार शपथ ग्रहणपछि भएको महासंघको नवनियुक्त कार्यसमितिको बैठकमा कोषाध्यक्षका लागि सहमति हुन नसकेपछि सोमवार निर्वाचन गरिएको थियो । कुल ७१ भोट खसेकोमा हिराचनले ४० ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी बस्नेतको पक्षमा ३१ भोट खसेको थियो ।
यसैबीच, नेपाल उद्योग वाणिज्य महासंघको विशिष्ट सदस्यमा पूर्व अध्यक्ष पशुपति मुरारका नियुक्त भएका छन् । महासंघको ५४औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले मुरारकालाई विशिष्ट सदस्य नियुक्त गरेको हो । यसअघिको कार्यसमितिमा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए । यस्तै शनिवार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधानलाई पनि मानार्थ सदस्यमा मनोनीत गरिएको छ ।