मंसिर १६, काठमाडौं । माउण्टेन इनर्जी नेपालको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ ।
गत आइतवारनै प्रि–अलोटमेण्ट गरेको यो आईपीओ बिहान १० बजे बाँडफाँट गरिने विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले बताएको छ ।
विक्री प्रबन्धकको कार्यालय डिल्लिबजार, काठमाडौंमा बाँडफाँटको कार्यक्रम तय गरिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । उक्त अवधिमा आवेदन दिनेमध्ये ६ लाख ५१ हजार ५७५ जना योग्य रहेको विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत १८ लाख ३० हजार २६५ कित्ता शेयर विक्री गरेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको कुल १९ लाख ६८ हजार २७ कित्तामध्ये ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई सुरक्षित गरी ९८ लाख ४०१ कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । बुधवार योग्य आवेदकहरुलाई सार्वजनिक निष्कासन मार्फत विक्री गरिएको १८ लाख ३० हजार २६५ कित्ता शेयर बाँडफाँट हुनेछ ।
कम्पनीले यस अघि आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थायिनको लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर विक्री गरेको थियो । स्थानियका लागि कम्पनीले भदौ ३१ गतेदेखि असोज २९ गतेसम्म आईपीओ विक्री गरी कात्तिक ६ गते बाँडफाँट गरेको हो । उक्त कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्ये नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ ।
उक्त कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ २०७६ चैत मसान्तसम्ममा रू. ११८ दशमलव ३२ रहेको छ । आर्थिक वर्ष २०७६÷७७ सम्ममा रू. १२३ दशमलव ४० प्रतिशेयर नेटवर्थ कायम गर्ने प्रक्षेपण कम्पनीले गरेको थियो । वास्तविक प्रतिशेयर आम्दानी रू. ३ दशमलव ५१ रहेको छ ।