ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालीकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र

२०७७ मंसिर, १७  
कर्णाली प्रदेश
Image Not Found

मंसिर १७, कालीकोट । कालीकोटमा निर्माणाधीन दर्जनौं लघुजलविद्युत् आयोजना अलपत्र परेका छन् । रकम अभावले आयोजना अलपत्र परेका हुन् । जिल्लाका उच्छव खोला, हाउडिगाड, बालीगाड, घट्टेगाड, थिर्पुगाड, मालकोट लघुजलविद्युत् आयोजना निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।

यसैगरी केही समय सञ्चालन भएर मर्मत सम्भारको अभावमा बन्द भएका लघु जलविद्युत्मा घट्टेखोला, लाफागाउँ, औंँलाखोला, बच्चुगाड, भर्तागाड, बालीगाड, नाग्मगाड छन् । सान्नीगाड र भ्याकुने लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् । 

यसैगरी करीब २० मेगावाट विद्युत् उत्पादन हुने लघुजलविद्युत् आयोजना रकम अभाव, स्थानीयवासीको विवाद र मर्मत सम्भारको अभावलगायतका कारणले अलपत्र भएका हुन् । अलपत्र परेकामा तिलागुफा नगरपालिका–१ फाइमहादेवको नाग्मगाडस्थित ५७ किलोवाट, नरहरीनाथ गाउँपालिका–७ माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला आयोजना छन् ।

त्यस्तै, ३० किलोवाट क्षमताको तिलागुफा नगरापलिका –७ छाप्रेको वालिगाड खोला आयोजना, ३ किलोवाट क्षमताको तिलागुफा नगरपालिका–१० चिल्खायाको घट्टेखोला आयोजना विद्युत् उत्पादन भएर पनि समयमा मर्मत सम्भारको अभावमा बन्द भएका हुन् । यसैगरी ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडिगाड, नरहरिनाथ गाउँपालिकाको माल्कोट माइक्रो हाइड्रो र तिलागुफा नगरपालिकाको वालिगाड खोला लघुजलविद्युत् आयोजनालगायत दर्जनौैं आयोजना रकम अभावले अलपत्र छन् । 

यस्तै, १८ किलोवाट क्षमताको घट्टेगाड, २० किलोवाट क्षमताको थिर्पुगाड र १५ किलोवाट क्षमताको साना माइक्रो हाइड्रो पनि रकम अभावले अलपत्र छन् । यी लघुजलविद्युत् आयोजनाका काम अगाडि बढेको भए पनि रकम अभावले काम शुरु हुन नसकेको नेपाली कंग्रेसका उपसभापति शंकर न्यौपानेले बताए । ‘गाउँमा उज्यालो बनाउने सबैको चाहना थियो’, उनले भने, ‘रकम अभावका कारणले सबै आयोजना अलपत्र परेका छन् ।’

दर्जनौं  लघुजलविद्युत् आयोजना भए पनि कयौं मर्मत सम्भार र निर्माणका लागि रकम अभावलगायत कारणले बन्द भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए । ‘विभिन्न कारणले निर्माण रोकिएका लघुजलविद्युत् आयोजना सञ्चालनका लागि पहल शुरु गरिएको छ’, उनले भने, ‘विद्युत् आयोजना सञ्चालन गर्न सकिने ठाउँमा काम गर्न निर्देशन दिइएको छ ।’

सदरमुकामलगायत केही गाउँमा विद्युत् सेवा दिँदै आएका ५७०  किलोवाट क्षमताका दुई लघुजलविद्युत् मात्रै सञ्चालनमा छन् ।

त्यस्तै, ७० किलोवाटको लाफागाउँ लघुजलविद्युत् आयोजना पचालझरना गाउँपालिका राप्नाकोट, ५० किलोवाट क्षमता भएको कालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना भर्ता, १०० किलोवाट क्षमता भएको तिलागुफा नगरपालिकाको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट क्षमता भएको पलाताँ गाउँपालिकाको आँैलाखोला लघुजलविद्युत् आयोजना खिन, कालिका गाउँपालिकाको ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्यत् आयोजना सुकाटियाको निर्माण काम थालिएको भए पनि रकम अभावले ढिलाइ भएको जिल्ला समन्वय समिति कालिकोटका इन्जिनीयर चक्रबहादुर शाहीले बताए । 

‘कयौं आयोजनाको निर्माण कार्य थालिएको छ’, उनले भने, ‘रकम अभावले ती आयोजना बन्न सकेनन् । बनाउनका लागि पहल थालिएको छ ।’

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने गरेको भए पनि केन्द्रले ३० देखि ४० प्रतिशत रकम अनुदानको रूपमा उपलब्ध गराए पनि आयोजना सम्पन्न गर्न कठिनाइ देखिएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । 

‘स्थानीयवासीको १० प्रतिशत जनश्रमदान र बाँकी ५० प्रतिशत नगद लगानी गर्नुपर्ने अव्यावहारिक नीतिका कारणले पनि जलविद्युत् आयोजना अलपत्र पर्ने गरेका छन्’, उनले भने, ‘लघुजलविद्युत्् उत्पादन ऊर्जा मन्त्रालय मातहत नहुनुले पनि समस्या देखिन्छ ।’ रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्