मंसिर १९, काठमाडौं । पछिल्लो समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ । सिडीएस क्लियरिङ लिमिटेडका अनुसार शुक्रवारसम्म २२ लाख ११ हजार ९७ डिम्याट खाता पुगेको छ ।
पछिल्लो सयमा धितोपत्र बजाराम नयाँ नयाँ कम्पनीहरुको आईपीओ जारी भइराखेकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । देशभरीमा ७६ ओटा डिपी कम्पनी र ६४ ओटा बैंक तथा वित्तीय संस्थाहरु सि -आस्वामा दर्ता भएकाले तीनका शाखा कार्यालयहरुबाट डिम्याट खाता खोल्ने र केही डिपीले अनलाइनबाटै डिम्याट खाता खोल्ने सुविधा ल्याएकाले पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो ।
असोज २६ गतेसम्म डिम्याट खाताको संख्या २० लाख ७३ हजार १६८ रहेको थियो भने कात्तिकमा मात्रै त्यो बढेर आजसम्म १ लाख ३७ हजार ९२९ थपिएको छ । केहि वर्षदेखि प्रत्येक आवेदकलाई सार्वजनिक निष्कासनमा अनिवार्य रुपमा १० कित्ता शेयर दिनुपर्ने व्यवस्था भएपछि पनि डिम्याट खाता खोल्नेहरुको संख्या बढेको हो । प्रथामिक र दोस्रो बजार पनि पूर्णरुपमा अनलाईन प्रणालीमा गएकाले पनि आगामी दिनमा अझै डिम्याट खाता खोल्नेको संख्या बढ्ने देखिन्छ ।
पछिल्लो समय कोरोना महामारीले अरु क्षेत्र प्रभावित भइरहँदा अन्य क्षेत्रका पनि शेयरबजार प्रवेश गरिरहेका छन् । त्यसोत प्राथमिक बजारबाट थोरै लगानी गरेर छोटो सयममा राम्रो प्रतिफल प्राप्त हुने भएकाले पनि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढेको हो ।
पछिल्लो पटक नयाँ बीमा कम्पनीले निष्कासन गरेको आईपीओमा ९ लाखभन्दा बढीले आवेदन दिएको पाइएको छ । र आगामी दिनमा पनि नयाँ बीमा कम्पनीका साथै चन्द्रागिरी हिल्स, डिस होम र नेपाल इन्फ्रास्टक्चर बैंकजस्ता कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारीमा रहेकाले अझै डिम्याट खाता खोल्नेको संख्या बढ्ने देखिन्छ ।
नेपाल इन्फ्रास्टक्चर बैंकले नेपालमा हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्ने तयारी गरेकोे छ । कम्पनीले ८ करोड कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।प्राथमिक बजारमा आईपीओ निष्कासन गर्ने कम्पनीहरु बढिरहेका छन् ।
पछिल्लो समय बजार बुलिश ट्रेण्डमा छ । रू. ४ हजार लगानी गर्नेहरुको सम्पत्ति एक वर्षमै रू. ६९ हजारभन्दा बढी पुगेको छ । यसैको यो उदाहरण हो नेपाल पुनर्बीमा कम्पनीे । यस कम्पनीको आईपीओमा आवेदकले न्यूनतम ४० कित्ता र अधिकतम ५० कित्ताका दरले पाएका थिए ।
पछिल्लो समयमा आईपीओ निष्कासन गरेका नयाँ बीमा कम्पनीको शेयर मूल्य पनि रू. ६०० भन्दा माथि पुगेको छ । यसरी हेर्दा छोटो समयमा थारै लगानीबाट राम्रो प्रतिफल प्राप्त भएपछि शेयर बजारमा प्रवेश गर्नेको संख्या बढ्दो देखिन्छ ।