ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धनगढी र महेन्द्रनगरमा साढे २४ किमी सडक निर्माण शुरू

२०७७ मंसिर, २७  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar वीरेन्द्र भट्ट

मंसिर २७, धनगढी । एशियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाभित्र साढे २४ किलोमिटर सडक निर्माणको काम अघि बढाइएको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा पहिलो चरणअन्तर्गत साढे १० र भीमदत्तमा १४ किलोमिटर सडक निर्माण शुरू गरिएको हो । बिहीवारदेखि धनगढीमा शुरू भएको परियोजनाको उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टले क्याम्पस गेट–चटकपुर सडकको शिलान्यास गरेका छन् । धनगढीलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने कार्यक्रमको रूपमा यो परियोजनालाई लिइएको छ ।

एडीबीको सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र ४२ किलोमिटर सडक विस्तारका लागि २०१५ मा सम्झौता भएको थियो । ‘सम्झौता भएको लामो समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको थिएन,’ नगरप्रमुख वडले भने, ‘ढिलै भए पनि परियोजनाको काम शुरू भएको छ ।’ सन् २०१५ मा छुट्ट्याइएको १ अर्ब ३५ करोड बजेट अपुग भएको भन्दै सडक निर्माण चरणबद्ध रूपमा हुने नगरप्रमुख वडले बताए । पहिलो चरणमा साढे १० किलोमिटर सडक निर्माण शुरू भएको उनले जानकारी दिए । पहिलो चरणमा ६८ करोड ५ लाख ९८ हजार ७०४ रुपैयाँमा कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको छ । कम्पनीले ७ वटा सडक निर्माण गर्दै छ । 

क्षेत्रीय सहरी विकास आयोजना उप–व्यवस्थापक श्यामचन्द्र बुढाथोकीले समयमै काम सम्पन्न हुने अपेक्षा गरे । शुरूमा ठेक्का प्रक्रियामा केही समस्या भएर काममा ढिलाइ भएको उनको भनाइ छ । धनगढी उप–महानगरपालिकाका डिभिजन इन्जिनियर डिजराज भट्टले सडक विस्तारका लागि स्थानीयले पनि सहयोग गर्न थालेको बताए । उनले भने, ‘सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउने घरधनीलाई सम्मान गर्ने, करमा छूट गर्ने, भत्काइएको घर नक्सामा छूट दिने, रंगरोगनमा सहयोग गर्ने जस्ता कार्यक्रम ल्याएका छौं ।’

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक सडक निर्माणका लागि प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले शिलान्यास गरेका छन् । एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सरकारले सुदूरपश्चिम प्रदेशका चार स्थानीय तहका मुख्य शहरमा आधुनिक सडक निर्माणका लागि छनौट गरेको थियो । कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक स्तरोन्नति र ढल व्यवस्थापनका साथै फोहोरमैला प्रशोधन केन्द्रको निर्माणको प्रक्रिया थालनी गरेको थियो ।

क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइका प्रमुख महेश सिंहले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक र ढल, साइकल लेन, फुटपाथलगायत संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको बताए । आयोजनाअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरका ५ गल्लीको सडक स्तरोन्नति, ढल निर्माणका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोड्ने नमूना सडक, सौर्य बत्ती जडान हुने निर्माणको जिम्मा पाएको जेडआईईसी–लामा जेभीका इञ्जिनीयर भूपेन्द्रबहादुर सिंहले बताए । ‘यहाँको बजार क्षेत्र र आसपासको क्षेत्रमा गरेर १० देखि १५ मिटर चौडाइ भएको १४ किलोमिटर सडक निर्माणका लागि ८८ करोडको ठेक्का सम्झौता भएको छ । निर्माणका लागि २ वर्षको समयावधि तोकिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्