ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोलकाता बन्दरगाहमा ईडीआई : प्रणाली छ, पारदर्शी छैन

२०७७ मंसिर, २९  
समाचार
Image Not Found
author avatar ओमप्रकाश खनाल

काठमाडौं । नेपालका लागि तेस्रो मुलुकबाट आउने कार्गोमा भारतको कोलकाता बन्दरगाहमा इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई) प्रणाली लगाइएको ३ महीना बित्न लाग्यो । बन्दरगाह भन्सारको प्रक्रियालाई पारदर्शी र छरितो बनाउन लगाइएको यो प्रणालीबाट आयातकर्ताले अझै लाभ लिन भने पाएका छैनन् ।

कस्टम ट्रान्जिट डिक्लियरेशन (सीटीडी) अन्तर्गत नेपाल आउने कार्गोमा यो प्रणाली लागू गरिएको हो । ईडीआईमार्फत आयातकर्ताका प्रतिनिधिले आफ्नै कार्यालयबाट प्रक्रिया पूरा गर्न सक्ने बताइएको थियो । तर, भन्सारमै उपस्थित भएर प्रक्रिया पु¥याउनुपरेको प्रतिनिधिले बताएका छन् ।

कोलकाता बन्दरगाहमार्फत हुने तेस्रो मुलुकसँगको व्यापारलाई कागजी प्रक्रिया मुक्त बनाउन असोजको पहिलो सातादेखि यो प्रणाली अनिवार्य गरिएको हो । त्यसअघि पनि बन्दरगाहमा यो प्रणाली कार्यान्वयनमा थियो । भन्सार कर्मचारीको स्वार्थका कारण प्रणाली प्रभावकारी हुन सकेको छैन ।

पछिल्लोपटक अनिवार्य गरिने घोषणाका साथ लागू गरिए पनि पुरानै प्रवृत्ति दोहोरिएको आयातकर्ताका प्रतिनिधिले बताएका छन् । अनलाइनबाट कागजात पेश गरेर प्रक्रिया पूरा गर्दा अदृश्य आय प्रभावित हुने भएकाले पूर्ण कार्यान्वयनमा बन्दरगाह भन्सारले बेवास्ता गर्दै आएको आयातकर्ताको गुनासो छ । भारतीय सीमा शुल्क प्रधान आयुक्तको कार्यालयले ईडीआई अनिवार्य गरेको थियो । भारतका लागि आउने कार्गोमा यसअघि नै पूर्ण कार्यान्वयनमा छ । नेपालको कार्गोमा मात्रै उदासीन देखिएको हो ।

कोलकाता बन्दरगाहबाट नेपालका लागि आउने अधिकांश कार्गो सीटीडीमा भित्रिन्छन् । वर्ष २०२०/२१ को पहिलो ८ महीनामा कोलकाता बन्दरगाहबाट ३४ हजार कन्टेनर ल्याइएका छन् ।

तीमध्ये २३ हजार ४ सय कन्टेनर कोलकाताबाट सडकमार्ग हुँदै नेपाल भित्र्याएको नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले बताएको छ । सडकबाट आउने सबै कन्टेनर सीटीडीमा आउँछन् । रेलमा समेत सीटीडीका कन्टेनर ढुवानी हुन्छ ।

ईडीआईले सीटीडीका लागि अनलाइनबाटै कागजात पेश गर्ने व्यवस्था मिलाएको छ । तर, कागजातको फाइल लिएर बन्दरगाह भन्सारमा पुग्नुपर्ने बाध्यता अन्त्य नभएको आयातकर्ताका एक प्रतिनिधिले बताए । ‘एजेन्टसित सम्पर्क नभएपछि बन्दरगाह भन्सार कर्मचारीको अनधिकृत आय बन्द हुने भएकाले विभिन्न बहानामा प्रणालीलाई अवरुद्ध पारिएको छ । यसमा नेपाली आयातकर्ताका लागि काम गर्ने केही प्रतिनिधि पनि लागेका छन्,’ ती प्रतिनिधिको दाबी छ ।

सीटीडी प्रणालीमा आयातकर्ताले सामानको बिल, प्याकिङ लिस्ट, उत्पत्तिको प्रमाण, प्रतीतपत्र, कोलकातास्थित महावाणिज्य दूतावासले दिने प्रमाणपत्रलगायत कागजात बन्दरगाह भन्सारमा बुझाउनुपर्छ । ईडीआई पूर्ण कार्यान्वयनमा आएमा काजगपत्र अनलाइनबाटै पेश गर्न सकिने कस्टम हाउस एजेन्ट बताउँछन् ।

ईडीआई कार्यान्वयनमा देखिएका समस्या समाधानको प्रयास भइरहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताए । ‘ईडीआईलाई पूर्ण स्वचालित बनाएर सीटीडी प्रणाली छरितो र प्रभावकारी बनाउन बन्दरगाह भन्सार प्रशासनसँग पहल भइरहेको छ । पहिलाको तुलनामा सहजीकरण पनि हुँदै गएको छ,’ महावाणिज्यदूत पौडेलले आर्थिक अभियानसँग भने । शुरूमा ईडीआईबाट काम गर्दा कार्गोको चाप बढेको र प्रक्रियामा ढिलाइ भएको गुनासो आउने गरेकोमा अहिले यस्तो गुनासो नआएको दाबी महावाणिज्यदूतावासको छ । ईडीआईमा गल्ती सच्याउने, रुट परिवर्तनलगायत विकल्प समावेश गर्न पनि आयातकर्ताका प्रतिनिधिले सुझाव दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्