ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निक्की र लगानी बोर्डबीच छलफल : ‘नेपाल–इण्डिया पार्टनरशिप समिट’मा प्रमुख साझेदार बन्न बोर्डलाई प्रस्ताव

२०७७ पौष, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को प्रतिनिधि मण्डल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच शुक्रवार भेटवार्ता भएको छ । संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा उपाध्यक्षद्वय सुनील केसी, सैवाल घोष, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, निर्देशक केशवमान सिंह र प्रशासकीय अधिकृत मार्शल राठौरसहितको टोलीले नेपालमा पछिल्ला वर्ष भारतबाट भित्रिने लगानी घट्दो क्रममा रहेको सम्बन्धमा लगानी बोर्डको ध्यानाकर्षण गराएको छ । संघका उपाध्यक्ष केसीले आगामी दिनमा भारतबाट लगानी भिœयाउन संघले हरेक वर्ष पालैपालो नेपाल र भारतमा ‘नेपाल–इण्डिया पार्टनरशिप समिट’ आयोजना गर्ने योजना रहेको जानकारी गराउँदै त्यसमा बोर्डलाई प्रमुख साझेदार बन्न प्रस्ताव गरे । भारतको दिल्लीमा ‘नेपाल इन्नोभेसन सेन्टर’को स्थापना गर्ने योजना रहेको भन्दै उनले त्यसबाट नेपालमा लगानी गर्न चाहने भारतीय लगानीकर्तालाई सहजीकरण गरिने बताए । साथै त्यसमा बोर्डको पनि सहकार्य आवश्यक र महत्त्वपूर्ण हुनेउनले बताए ।

संघले भारतीय राजदूतावास समेतलाई समावेश गरी त्रिपक्षीय सम्झौता गरी नेपालमा भारतीय लगानी भित्र्याउने कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने योजना रहेको जानकारी उनले गराए । यसमा बोर्डको सहमति र साझेदारीका लागि पनि उनले अनुरोध गरे ।

संघका अर्का उपाध्यक्ष घोषले नेपालमा विदेशी लगानी आकर्षित गर्न यहाँ भएका विदेशी लगानीमा सञ्चालित उद्योगका समस्याको उचित सम्बोधन गरिनुपर्नेमा जोड दिए । विगत करीब १० वर्षदेखि सम्बोधन नभएको बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी समस्याका साथै ब्राण्ड रजिष्टरका समस्या, टेष्ट मार्केटिङको अनुमति प्राप्तिमा ढिलाइ लगायत सन्दर्भ उठाउँदै उनले कन्ट्रयाक्ट म्यानफ्याक्चरिङ खुला गरिनुपर्ने बताए । विदेशी कम्पनीसँग लिएको सेवाबापतको भुक्तानीको विषयमा १ लाखसम्मको भुक्तानी बैंकमार्फत गर्न सकिने प्रावधान परिवर्तन गरिनुपर्ने धारणा समेत उनले राखे । भेटवार्तामा संघका कोषाध्यक्ष प्रधानले अब नेपाल–भारत आर्थिक सम्बन्धबारे पुनर्विचार गर्नुपर्ने बेला आएको भन्दै तुलनात्मक लाभको हिसाबले पर्यटन र जलविद्युत्लाई अगाडि बढाउनुपर्ने बताए । भारतमा ६–७ वर्षपछि जलविद्युत्को ठूलो माग रहने भन्दै उनले अहिले जलविद्युत् परियोजनालाई विनाअवरोध अघि बढ्न दिएमा नेपालबाट भारतमा उच्च मूल्यमा बिजुली निर्यात गर्न सकिने उनले बताए ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा भारतीय लगानी भिœयाउने सम्बन्धमा लगानी बोड अत्यन्त चिन्तनशील भई कामहरू गर्दै आएको जानकारी दिए । साथै संघले प्रस्ताव गरेका कार्यक्रममा सहभागिताका सम्बन्धमा बोर्ड सकारात्मक रहेको उनको भनाइ थियो । संघले प्रस्ताव गरेको ‘नेपाल–इण्डिया पार्टनरशिप समिट’ आयोजनामा सहकार्यका लागि थप छलफल गर्न सकिने भन्दै उनले अन्य प्रस्तावमा पनि सहकार्य हुन सक्ने धारणा राखे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्