आम आमा बुबाले जस्तै कमला शाही र कुबीर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वाभाविक नै थियो । तर जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन्, त्यति बेला तिनै आमा बुबाले भनेछन्, ‘हाम्रो छोरीले त हाम्रो इज्जत पो बढाइन् ।’ यो कथा हो, नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीको ।
वर्ष २०७६ मा नेपाली खेलकुदको वृत्तान्त भन्नु नै हाम्रोमै भएको १३औं दक्षिण एशियाली खेलकुद हो र त्यसका अनेक अनेक सफलताका कथा छन् । त्यसमध्ये सम्भवतः सबैभन्दा मन छुने कथा हो, त्यही महिला राष्ट्रिय भलिबल टिमले चुमेको रजत पदक । भन्नेले भन्दो हो, एकपछि अर्को स्वर्णको हुलमा यो रजत पदक के नै हो र ? तर होइन, यो रजत पदकको सार नै बेग्लै छ, अनुपम पनि छ ।
भलिबल त नेपालको राष्ट्रिय खेल हो, त्यसमाथि महिला भलिबल बढी नै लोकप्रिय छ । अनि यसका लागि वर्ष २०७६ बेग्लै शानको रह्यो । यही वर्षको उपलब्धिले देखाउँछ, यो खेलमा नेपालको सम्भावना पनि उत्तिकै बाक्लो छ । नेपालले त्यो वर्ष एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनशिपमा स्वर्ण जितेको थियो । यो महिला भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो ।
त्यसपछि त दक्षिण एशियाली खेलकुदमा रजत पदक पनि हात परिहाल्यो । यो यात्रामा टिमका सबैभन्दा ठूला पात्रा हुन्, तिनै करुणा । उनी कप्तान त हुन नै, गहकिला ‘सेटर’ पनि हुन् । नेपाली महिला भबिललमा आम खेल प्रेमीमा सबैभन्दा चिनिने नाममध्ये सबैभन्दा अगाडि पनि अरुणा कै नाम आउने गर्छ । आखिर यी २७ वर्षीया चेलीले त्यसको आधाभन्दा बढी समय (१४ वर्ष) भलिबलका लागि समर्पित गरिसकेकी छिन् ।
यिनै दुई ठूलो सफलतापछि म्याग्दी रघुगंगा गाउँ पालिकाका आमा बुबाले आफ्नै छोरीलाई लिएर गर्व नगरेर कहाँ पाइन्थ्यो त ? उनी त अब पूरा गाउँकै शान हुन्, अझ यो भौगोलिक घेरा तोडेर देशकै इज्जत समेत भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने वर्ष २०७६ को पल्सर स्पोटर््स अवार्डको लोकप्रिय खेलाडी विधामा अरुणा पनि मनोनयनमा परेकी छिन् ।
अब यिनलाई समग्र भलिबलमा पुर्याएको योगदानका लागि धेरै भन्दा धेरै मत दिएर जिताउने काम आम खेल प्रेमीको हो । फेरि एकपल्ट त्यही १३औं दक्षिण एशियाली खेलकुदमा फर्कौं न, त्यसमा पनि महिला भलिबलको फाइनल । नेपालको प्रतिद्वन्द्वी थियो भारत । स्वर्णको प्रतिस्पर्धामा नेपालले शुरुआती दुई सेट जितेको थियो, सबैलाई लागेको थियो, अब स्वर्ण नेपालकै हो ।
तर त्यस्तो भएन, नेपालले त्यसपछि तीन सेट गुमायो । यो तीन सेट गुमाएको मात्र थिएन, स्वर्ण नै गुमाएको थियो । अरुणालाई मुखमै आएको भात खोसिएको जस्तै लागेको थियो । फाइनल खेल के सकिएको थियो, सबै खेलाडीले मन नै थाम्न सकेनन्, कोर्टमै रोए । अरू बेला खासै रून नपर्ने अरुणाले पनि आफूलाई रोक्न सकिनन् अविरल आँसु बगिहाल्यो ।
त्यसो त अरुणा खासै बोलिरहने खालकी होइनन्, तिनलाई हल्का अन्तरमुखी भन्दा पनि हुन्छ । कप्तान भएयता उनलाई बोल्नु परेको छ । तर कम बोल्न सबैले जस्तै उनले पनि सपना भने धेरै देख्छिन्, त्यो पनि दिउँसै । सपनासँगै मनका कुरा खेलाउने बानी भन्दा पनि हुन्छ ।