ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हल्लाले उचालिएको शेयरबजार

२०७७ पौष, १०  
पाठक विचार
NA

बुलिश प्रवृत्तिमा रहेको भनिएको शेयरबजारमा सूचनाको चलखेल भइरहेको देखिन्छ । हुँदै नभएको गतिविधिलाई गलत रूपमा प्रचारप्रसार गरी शेयर किनबेच प्रभावित पारेको पाइन्छ । यसका लागि केही अनलाइनहरूले समेत मलजल गरेका छन् । केही दिनअघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने हल्लाले यी दुवै कम्पनीको शेयर किनबेच र मूल्य प्रभावित भयो । सिद्धार्थ बैंक र नबिल बैंकबीच मर्ज हुने हल्लाले हिजो र अस्ति दिनभर नै नेपाली शेयरबजारमा चल्यो । एनसीसी बैंकको मूल्य र कारोबार यही कारण बढिरहेको छ । तर, वास्तविकता के हो थाहा छैन । सिद्धार्थ बैंकले त वक्तव्य नै निकालेर समाचारको खण्डन गरेको छ । यसरी अहिलेको शेयरबजारमा सूचनालाई लिएर चलखेल गर्ने गरिएको छ । यसबाट साधारण लगानीकर्ता फस्ने सम्भावना निकै हुन्छ ।

पूँजी बजारमा चल्ने यस्ता हल्ला चलाएर लाभ लिन खोज्ने समूह हुन्छ । विश्वभरको दोस्रो बजारमा यस्तो प्रवृत्ति पाइन्छ । कुनै कम्पनीको राम्रो हल्ला बजारमा चलेको छ भने त्यस्तो हल्लाले सो कम्पनीको शेयर मूल्य बढाउन सहयोग गर्छ । त्यस्तै कुनै कम्पनीका बारेमा नराम्रो हल्ला फिँजाएर मूल्य घटाउने काम पनि हुन्छ । यसरी घटेको बजारबाट शेयर उठाइ फाइदा उठाउनेहरू पनि हुन्छन् । त्यसैले शेयरबजारलाई हल्लैहल्लाको बजार भन्ने गरिन्छ । यसलाई जुवाघरको नाम दिनुको कारण पनि यही हो । ने ।

शेयरमा व्यक्ति वा संस्थाले त्यति बेला लगानी गर्छ जति बेला भविष्यमा कुनै पनि कम्पनीको आर्थिक अवस्था थप सुदृढ भई शेयरको मूल्य बढ्ने सम्भावना छ । जति बेला कम्पनीको आर्थिक अवस्था कमजोर हुने छाँटकाँट देखिन्छ शेयर मूल्यमा गिरावट आउँछ । त्यति बेला किन्नेभन्दा शेयर बेच्ने बढी हुन्छन् । कोरोना भाइरसको प्रभावले अर्थतन्त्रमा नकारात्मक असर परे पनि नेपालको शेयरबजार अनपेक्षित वृद्धि भएको हो । कम्पनीको वित्तीय अवस्था र संरचनागत अवस्था नबुझी हल्लाको भरमा गरिएको लगानी संकटमा पर्न सक्छ, तसर्थ आम लगानीकर्ताले राम्ररी अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ, हल्लाको भरमा लगानी गर्दा डुब्ने सम्भावना बढी हुन्छ ।

मनीष कायस्थ
कालिमाटी, काठमाडौं

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्