कोरोनाका कारण चैतयता बन्द भएका होटेलहरूले कर्मचारीलाई तलब दिन नसक्ने बताउँदै आएका थिए । तर पछि यसको विरोध भएपछि होटेल बन्द भएको अवस्थामा न्यूनतम तलब सबैले पाउने गरी होटेल एशोसिएशन नेपाल (हान) र कर्मचारीबीच सम्झौता भएको थियो । तर, अहिले उक्त सम्झौता पनि अब पालना गर्न नसक्ने अवस्था आएको भन्दै सञ्चालकहरूले होटेल बन्द गर्ने योजना अघि बढाएका छन् । होटल सञ्चालन गर्नुभन्दा बन्द गर्नु नै उपयुक्त हुने सञ्चालकहरूको भनाइ छ । राजधानीमा रहेका पाँचतारे, चारतारे र तीनतारे होटेलसमेत बन्दको विकल्पमा लागेको समाचार आइरहेको छ ।
बन्दाबन्दीका कारण कैयन् महीना बन्द भएको होटेलमा आम्दानीभन्दा खर्च बढी छ । अझै केही समयमा पर्यटन गतिविधि शुरू हुने सम्भावना पनि देखिएको छैन । यस्तोमा कर्मचारीलाई बिदाइ गरेर खर्च जोगाउन होटेलहरू लागिपरेको देखिन्छ ।
सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागिएकाले धेरै होटेलले स्तर उकास्न निकै खर्च गरेका थिए । तर, गतवर्षमात्रै होइन, यो वर्ष पनि होटेल सञ्चालनमा आउने अवस्थामा छैन ।
कोरोना भ्याक्सिन आएको खबरले अन्य क्षेत्र रिभाइभ हुन थालेको देखिएको छ । तर, विदेशी पर्यटकमा आश्रित होटेलहरूको अवस्था आगामी ३ वर्षसम्म राम्ररी सञ्चालन हुने सम्भावना छैन । साना होटेलहरू भने आन्तरिक पर्यटकका भरमा केही समय बाँच्न सके पनि ठूला होटेललाई भने समस्या भएको छ । यसरी उनीहरूले होटल बन्द गर्दा नेपालको पर्यटन थप प्रभावित हुने देखिन्छ ।
दशकौंदेखि होटेलमा कार्यरत कामदार कर्मचारीले जागीर गुमाउँदा त्यसको असर अर्थतन्त्रका अन्य क्षेत्रमा पर्ने निश्चित छ । होटेलहरूले नेपालका विभिन्न उत्पादन प्रयोग गर्थे । त्यहाँ आउने पर्यटकका कारण विभिन्न क्षेत्रमा आर्थिक गतिविधिलाई सहयोगसमेत पु¥याएको थियो । तर, पर्यटन क्षेत्र बन्द हुँदा त्यसले सबै क्षेत्रलाई असर गर्ने देखिन्छ ।
यस्तोमा सरकारले रोजगारी गुमाउन पुगेका कामदारहरूका बारेमा विशेष ध्यान दिनुपर्ने हुन्छ । हिजोसम्म राम्रो आम्दानी गरिररहेका र सरकारलाई कर तिरिरहेका कामदारहरू अकस्मात् रोजगारविहीन बन्दा निकै ठूलो समस्या आउँछ । त्यसैले सरकारले होटेल बन्द हुन नदिने तथा कामदारहरूको बिचल्ली हुन नदिने गरी सहयोगको नीति लिनुपर्छ ।
रवि क्षत्री
नयाँबजार, काठमाडौं ।