ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

छिट्टै स्टक डिलरको अन्तिम स्वीकृति लिँदै छौं

२०७७ पौष, १२  
अन्तरवार्ता
Image Not Found

कुल शेयरको ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्कासनको अन्तिम तयारी गरिरहेको नागरिक लगानी कोषले पुस १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) घोषणा गरेको छ । पछिल्लो समय आम नेपालीलाई हुनेगरी कोषले नागरिक पेन्सन योजना लागू गरिसकेको छ । कोष आफ्नो सहायक कम्पनी खोलेर छिट्टै स्टक डिलरको सेवा सञ्चालनमा जुटेको छ । प्रस्तुत छ, कोषले पछिल्लो समय गरेका गतिविधि, योजना लगायत विषयमा कोषका कार्यकारी निर्देशक रमण नेपालसँग आर्थिक अभियानका ममता थापाले गरेको कुराकानीको सार :

पछिल्लो समय देशमा देखिएको तरल राजनीतिक अवस्थाले कोषलाई कत्तिको प्रभाव पार्ला ?
नागरिक लगानी कोषलाई कुनै पनि राजनीतिक घटनाक्रमले प्रत्यक्ष असर त पार्दैन । तर राजनीतिक अस्थिरताका कारण कुनै पनि आर्थिक क्रियाकलापमा असर गर्‍यो भने मात्र केही असर गर्ला । यद्यपि यसबाट कोषलाई के कस्तो असर पर्ला भन्ने अनुमान गरेका छैनौं ।

मुलुकमा आर्थिक समृद्धिको कुरा चलिरहेको सन्दर्भमा यसमा लगानी कोषको के कस्तो भूमिका रहन्छ ?
हामीले त ‘समृद्धिको सहयात्री नागरिक लगानी कोष’ भन्ने राखेका छौं । देशको आर्थिक विकासमा पूँजीबजार निकै महत्त्वपूर्ण हुन्छ भनेर पूँजीबजारको विकास, विस्तार र स्थायित्वका कामहरू गरिरहेका छौं । पूँजी बजार विकासमा  आईपीओ, एफपीओ, डिबेञ्चरहरूको प्रत्याभूति गर्ने, तिनको विक्री प्रबन्धक भएर काम गर्ने, शेयरबजारमा भएको बढी ‘प्mलक्चुयशन’को अवस्थामा खरीद र विक्रीलाई बढाएर सन्तुलित राख्ने काम गर्ने गरेका छौं । विशेषगरी शेयरबजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्ने, विक्री नभएको शेयर किन्नेजस्ता काम पनि स्टक डिलर कम्पनीले गर्नुपर्ने हुन्छ । यसैलाई बढी प्रभावकारी बनाउन कोषको सहायक कम्पनीको रूपमा नागरिक स्टक डिलर पनि खोलिसकेका छौं । यसले काम शुरू गरिसकेको छ । सर्वसाधारणबाट संकलन भएको रकम ठूला परियोजना वा राष्ट्रका आवश्यकता परेका पूर्वाधार विकास कार्यक्रममा लगानी गरिरहेका छौं ।

स्टक डिलरको काम गर्न कोषले नेपाल धितोपत्र बोर्डबाट आशयपत्र (एलओआई) पाइसकेको छ । नेपालको पहिलो स्टक डिलरको रूपमा सञ्चालन गर्न लागिएको यो कम्पनीको अन्तिम स्वीकृति लिने तयारी कस्तो छ ?
स्टक डिलरको एलओआई पाइसकेपछि संस्था स्थापना, कम्प्युटर सफ्टवेयर, सिस्टम, ब्याकअप लगायत सबै तयारी भएर काम शुरू नै गरिसकेका छौं । यो सहायक संस्था भएकाले यसको छुट्टै सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत कर्मचारी छन् । कम्पनीको सीईओमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठलाई नियुक्त गरिसकिएको छ । डिलर सञ्चालनको सबै तयारी पूरा भइसकेको छ । नेपाल स्टक एक्सचेञ्जबाट निरीक्षण पनि भइसकेको छ । अब सेवा सञ्चालनको अन्तिम स्वीकृति लिने चरणमा छौं ।

कोषले ल्याएको सबै ‘नागरिक पेन्सन योजना’को प्रभावकारिता कस्तो छ ?
कोषले यो कार्यक्रम असहज परिस्थितिमा शुरू गर्नुपर्‍यो । कोभिडको चरम विन्दुमा तयारी गरेर गत असोजदेखि पेन्सन कोष शुरू गर्‍यौं । यो कार्यक्रम सञ्चालनमा ढिलाइ नगरौं, बरु पछि यसलाई विस्तार गर्दै जाऔं भनेर थालिएको हो । अहिलेसम्म यसमा नागरिकको आकर्षण राम्रो छ । हामीले यो योजनाका लागि जारी गरेका कार्डहरूको वितरण भएको छ र कार्ड भरेर आउने क्रम जारी छ । यसरी भरेर आएका करीब १२ सय कार्ड संकलन भइसकेको छ । कार्डलाई अभिलेखीकरण गर्ने काम जारी छ । केही रकम पनि जम्मा हुन थालेको छ । कोष यस कार्यक्रमप्रति एकदमै उत्साहित छ ।

यो कार्यक्रमबाट विशेषगरी कुन क्षेत्रका व्यक्ति लाभान्वित हुन्छन् ?
हाम्रो मुख्य उद्देश्य नै स्वरोजगारमा रहेका व्यक्तिहरू, जो विभिन्न पेशा/व्यवसायमा संलग्न भई निरन्तर आय गरिरहेका छन्, उनीहरू पेन्सन कार्यक्रममा सहभागी हुन सकून् भन्ने हो । आम नेपाली यसमा आबद्ध हुन पाउँछन् । यसबाहेक अन्य पेन्सनमा सहभागी नागरिक पनि यसमा सहभागी हुन सक्छन् । यस्तै सामान्य स्वरोजगारमा रहेकाहरू, कृषक, व्यापारी, अधिवक्ता, बीमा अभिकर्ता, डाक्टर, इञ्जिनीयर लगायत पेशाकर्मी आफ्नो आम्दानीको स्रोत देखाएर आबद्ध हुन सक्छन् ।  

यो कार्यक्रमका विशेषता के के हुन् ?
यो कार्यक्रममा सहभागी हुनेहरूले १५ वर्षसम्म निरन्तर रकम जम्मा गर्नुपर्नेछ । सहभागीले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रूपमा पनि बचत गर्न सक्छन् । तर बचत रकम मासिक कम्तीमा ५ सय हुनुपर्दछ । उनीहरू ६० वर्ष उमेर पुगेपछि पेन्सनमा सहभागी हुन पाउँछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महीना निजको जीवनकालभर पेन्सनको रूपमा दिइनेछ । पेन्सनमा सहभागी हुन नचाहनेले एकमुष्ट साँवा, ब्याज र प्रतिफल फिर्ता लिएर जान पनि पाउँछन् ।

पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरू गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम बराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान हुनेछैन । त्यस्तै बचतकर्ताको पेन्सन पाउने उमेर शुरू भएपछि श्रीमान् श्रीमती दुवैको मृत्यु भएमा सम्बन्धित व्यक्तिको नाममा कोषमा रहेको बचत रकम निजहरूको कानूनी हकदारलाई प्रदान गरिनेछ ।

लगानीका क्षेत्र खोज्न तपाईंहरू अग्रसर हुनु भएको छैन भनिन्छ नि ?
हामी बैंक वित्तीय संस्थाहरू जस्तो कर्जा प्रवाहमा अग्रसर हुनु भएन । कोषमा धेरैजसो राष्ट्र सेवक कर्मचारीको रकम जम्मा भएको हुन्छ । हामीसँग जम्मा भएको रकमको  लागत अलिकति बढी हुन्छ । किनभने हामीले बैंकको जस्तो चल्ती खाता, बचत खाता चलाउन मिल्दैन । जति फण्ड आउँछ, त्यसमा सक्ने अधिकतम ब्याज निर्धारण गरी लिएको पैसा हुन्छ । त्यसकारण धेरै जोखिम उठाउनेतिर पनि लाग्नु भएन । अर्को, निजी क्षेत्रहरूमा बैंकले जस्तो हामीले लगानी गर्न मिल्दैन । हामीले आवश्यकता अनुसार ठूला परियोजना र सुरक्षित परियोजनामा मात्रै लगानी गर्ने हो । त्यसैले बैंकहरूले जस्तो आक्रामक भएर लगानी गर्न नमिल्ने भएकाले हामीले पूँजीबजारमा भएका उपकरणहरू, जस्तै– शेयर, डिबेञ्चर, बैंकको मुद्दती निक्षेपमा र कतिपय संस्थाको इक्विटीमा सहभागी भएर लगानी व्यवस्था गरिरहेका छौं ।

यसबाहेक अन्य क्षेत्रमा लगानी गर्ने योजना पनि छ ?
राष्ट्रले प्राथमिकता पाएको कुनै राम्रो परियोजना आयो वा कुनैमा सहवित्तीयकरण गर्नुपर्‍यो र सरकारले आवश्यकता देखेका पूर्वाधार परियोजना आए भने त्यसमा लगानी गर्न सधैं तत्पर छौं । लगानी विस्तारको सम्बन्धमा हाम्रो निरन्तर काम भइरहेको हुन्छ । लगानी बोर्डसँग पनि निरन्तर सम्पर्कमा हुन्छौं । विद्युत् उत्पादन कम्पनी, कुनै राम्रा परियोजनाको प्रस्ताव आए हामी लगानी गर्छौं ।

सरकारले राखेको आर्थिक विकासको मोडललाई कोषले कत्तिको सहयोग पुर्‍याएको छ ?
हामी एउटा सानो संस्थाले भएकाले त्यस्तो ठूलो सहयोग  पुर्‍याउने भन्ने त हुँदैन । तर हाम्रो तर्फबाट जति गर्नुपर्ने हो, त्यो गरिरहेकै छौं ।

कोषले विराटनगर र पोखरामा शाखा स्थापना गरेको छ । प्रदेश कार्यालय स्थापनाको सम्बन्धमा कस्तो योजना छ ?
दुईओटा प्रदेशमा यो वर्ष शाखा स्थापना गर्ने कार्यक्रम राखेका छौं । यस वर्षपछि हामी सातै प्रदेशमा जाने योजनामा छौं ।

कोषले बचतकर्ताबाट संकलित अधिकांश रकम वाणिज्य बैंकहरूमा निक्षेपको रूपमा राखिरहेको अवस्था छ  । तर अहिले अर्थ मन्त्रालयले लघुवित्त क्षेत्रमा लगानीका लागि न्यून लागतको स्रोत व्यवस्थापन गर्न तपाईंहरूलाई पनि नीतिगत व्यवस्था मिलाउन भनेको छ । यसको व्यवस्था प्रक्रिया कहाँ पुग्यो ?
यो कुरा भर्खरै आएकाले हामी आवश्यक तयारी गर्दै छौं । यसलाई कोषको लगानी नीतिमा समावेश गरेर अघि बढ्छौं । कर्जा कार्यविधि बनाउँदै छौं । तत्काललाई हामी गृहकार्यमै जुटेका छौं ।

हकप्रद शेयर निष्कासनको तयारी के छ ?
हकप्रद शेयर निष्कासनका लागि कोष अन्तिम चरणमा पुगेको छ । यसै प्रयोजनका लागि पुस १४ गते (एक दिन) शेयरधनी दर्ता पुस्तिका बन्द गरिँदै छ । कोषले गत असार २० गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित गरेको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्कासनका लागि एक दिन दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको थियो । यसपटक कुल ८२ दशमलव ८४ प्रतिशत हकप्रद शेयर निष्कासन गरिँदै छ । यसले १ कित्ता शेयर बराबर शून्य दशमलव ८३ को अनुपातमा हकप्रद शेयर प्रदान गर्दै छ । बुक क्लोजको अघिल्लो दिनसम्म नेप्सेमा भएको कारोबारबाट शेयर खरीद गरी आवश्यक कागजातसहित कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा प्राप्त विवरणको आधारमा भौतिक तथा हितग्राही खातामा कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्