ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अम्लीय जातका फलफूल चीन निर्यात गर्ने तयारी

२०७७ पौष, १६  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । गतवर्ष चीन सरकारसँग अम्लीय जातका फलफूल निर्यातका लागि भएको सम्झौताअनुसार यसै वर्ष चीन निर्यात गर्ने तयारी सरकारले थालेको छ ।

गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको राजकीय भ्रमणका क्रममा नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको कृषि विभागबीच सुन्तलालगायत अम्लीय जातका फलफूलहरू चीन निर्यातका लागि सम्झौता भएको थियो ।

दुई देशबीच अम्लीय जातका फलफूल निर्यातसम्बन्धी मस्यौदा प्रस्तावमा भएको सहमतिअनुसार काम भएको भए यति बेलासम्म सुन्तला, जुनार, कागतीलगायत फलफूल चीनमा निर्यात हुन थालिसकेको हुन्थ्यो । तर, प्रक्रियामा केही ढिलाइ भएको भए पनि यसै वर्ष निर्यात गर्ने गरी काम अघि बढिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दाबी गरिरहेको छ ।

‘निर्यात प्रक्रियालाई मूर्तरूप दिन हामी निरन्तर प्रयासरत छौं, केही समय ढिलाइ अवश्य भएकै हो । परीक्षणका लागि भए पनि केही समयमै चीनको तिब्बतस्थित जिजान क्षेत्रमा फलफूल निर्यात हुनेछ भन्ने कुरामा म विश्वस्त छु,’ मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले आर्थिक अभियान दैनिकसँग भने । ढिलै भए पनि काम सकारात्मक तरीकाले अघि बढेकाले चाँडै निर्यात शुरू हुने उनको भनाइ थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रम र नेपाल कृषि अनुसन्धान परिषद् नेपालले निर्यातका लागि जिम्मेवारी अनुसार काम गरिरहेका छन् । यतिवेला बगैंचा दर्ता गर्ने, फलफूलहरू रोग तथा किरामुक्त छ कि छैन भन्ने कुराको अनुगमन गर्ने कार्यहरू भइरहेका छन् । यससँगै मन्त्रालयले सुन्तला उत्पादक किसान, व्यापारी र चीनियाँ एजेन्टको बीचमा सहकार्य गराउने काम समेत गरिरहेको बताएको छ ।

यसअघि सन् २०१२ मा नेपाल सरकार र चीन सरकारविच यस्तै सहमति भएको भए पनि त्यसवेला सहमति पत्रमा रोग किरा मुक्त बगैंचामा फलेका फलफूल हुनुपर्ने भन्ने प्रावधानले गर्दा नेपालबाट अम्लीय जातका फलफूल निर्यात हुन सकेको थिएन । तर, गत वर्ष भएको सहमति अनुसार रोग किरा मुक्त फलफूल मात्र भनिएकाले नेपाललाई सम्झौता कार्यान्वयन गर्न सजिलो हुने देखिएको छ ।

नेपालले पुर्‍याएको मापदण्ड चीनले प्रभावकारी ठानेमा चाँडै नै २/३ सय मेट्रिक टनसम्म फलफूल निर्यात गर्न सकिने अवस्थामा आफूहरू रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई, सिन्धुलीका प्रमुख देवराज अधिकारीले जानकारी दिए । अहिले परीक्षणका रूपमा निर्यात भएमा उत्पादन बढाएर निर्यात गर्नतर्फ लाग्नु पर्ने उनले बताए ।

सम्झौतामा उल्लेख भएअनुसार निर्यातका लागि नेपालले फलफूलहरू कम्तीमा पनि २१ दिनसम्म निश्चित तापक्रममा भण्डारण गरेर राख्नु पर्ने छ भने ओसारपसार गर्दा पनि कोल्डस्टोरेज भएको गाडीबाट गर्नुपर्नेछ । त्यसैले यस्ता प्राविधक कुराहरू नेपालका लागि चुनौती भएको बताइएको छ ।

स्थानीय बजारमा उत्पादन भएका फलफूलहरू अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकियो भने किसानको हौसला बढ्ने र अझ बढी उत्पादन गर्न सकिने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्