ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राधिकरणमा नीतिगत सुधार भइरहेकाले ईयुको कालो सूचीबाट छिट्टै फुुकुवा हुने आशमा छौं

२०७७ पौष, १६  
अन्तरवार्ता
Image Not Found

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज २२ औं वार्षिकोत्सव मनाउँदै छ । विगतमा विविध कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँदै आएको क्यानले यस पटक कोरोना महामारीका कारण सामान्य रूपमा मनाउँदै छ । राष्ट्रिय गौरवका आयोजनामध्ये महत्वपूर्ण परियोजना सञ्चालनको जिम्मा पाएको प्राधिकरणले २२ वर्ष मनाइरहँदा कोभिडको असर, यसले नेपालको उड्डयन क्षेत्रमा पारेको प्रभाव, राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्था र उडान सुरक्षा तथा भावी रणनीतिबारे क्यानका महानिर्देशक राजन पोखरेलसँग आर्थिक अभियान राष्ट्रिय दैनिकका टीपी भुसालले गरेको कुराकानी :

कोभिड १९ ले विश्वमा सबैभन्दा बढी प्रभावित पारेको उड्डयन क्षेत्रको असर र प्रभावलाई क्यानले कसरी आकलन गरेको छ ?
कोभिड–१९ ले जसरी संसारभरका मुलुकहरूलाई प्रभाव पार्‍यो, यसबाट हामी पनि अछुतो रहेनौं । कोभिड गर्दा भएको बन्दाबन्दीका कारण हवाई आवागमन रोकिँदा एरोनोटिकल तथा ननएरोनोटिकल दुवैतर्फका आम्दानीमा उल्लेख्य प्रभाव परेको छ । यसबाट क्यानको आयमा ठूलै प्रभाव परेको छ भने वायुयान उड्न नपाउँदा त्यसले हवाई सेवा सञ्चालन गर्ने निजी क्षेत्रले पनि ठूलो नोक्सानी बेहोर्नु परेको अवस्था छ ।  समग्रमा  कोभिडले सबै क्षेत्रमा असर पारेको छ । तर, अरूभन्दा हवाई क्षेत्र अझ बढि प्रभावित भएको छ । क्यानले पनि यसलाई त्यसैगरी लिएको छ । यसको रिकभरी हुन थप समय लाग्ने हाम्रो आकलन छ ।

आम्दानीका हिसाबले क्यानको आय र समग्र विकास निर्माण प्रक्रियामा यसको असर कस्तो रह्यो ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ०७६ चैतदेखि ०७७ मंसिर महिनासम्मको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८० प्रतिशतले न्यून रहेको देखिन्छ । यस्तै, कोभिड–१९ का कारण पछिल्लो ८ महिनाको आम्दानीमा करिब ८० प्रतिशतले ह्रास आएको छ । आयमा उल्लेख्य ह्रास आएकाले विगतदेखि सञ्चालनमा रहेका कार्यक्रमको निरन्तरताबाहेक अन्य योजना सञ्चालन गर्ने अवस्था छैन । तर, राष्ट्रिय गौरवका आयोजना विदेशी ऋण सहयोगमा सञ्चालित परियोजना भएकाले रकमकै समस्या नभए पनि अन्य कुरामा प्रभाव पक्कै परेको छ । यसले गर्दा हामीले चाहेर पनि ती आयोजना समयमा सम्पन्न गर्न कठिन भइरहेको छ ।

कोभिडले निजी क्षेत्र पनि प्रभावित भएको छ । वायु सेवा सञ्चालकहरूका लागि क्यानले  के–कस्तो राहत ल्यायो र त्यसबाट उनीहरू कति लाभान्वित भए ?   
पक्कै पनि निजी क्षेत्रले लामो समय उडान गर्न पाएन । पछिल्लो समय पहिलेजस्तो उडान भएका छैनन् र हुने अवस्था पनि छैन । पहिलेकै अवस्था आउन कम्तीमा सन २०२३ कुर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको समेत आकलनलाई हेर्दा अवस्था तत्कालै सहज हुने देखिँदैन । तर,  हामीले क्षमता र सीमितताको आधारमा ०७६ चैत १ गतेदेखि व्यावसाायिक उडान सुरु भएको एक महिनासम्मका लागि पार्किङ तथा कोठा, स्थान बहालमा ७५ प्रतिशतले छुट दिने निर्णय गरेका छौं । यो निर्णय कार्यान्वयनमा पनि आइसकेको छ । वायुसेवा सञ्चालन अनुमतिपत्र नवीकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशतले छुट दिने निर्णय भई कार्यान्वयन गरिएको छ । नियमानुसार शुल्क बुझाउने अवधि २०२० को डिसेम्बर ३१ सम्म कायम गरी सो अवधिभित्र बुझाए विलम्ब शुल्क नलिने व्यवस्था छ । यसबाट थोरै भए पनि निजी वायुसेवा कम्पनीहरूले राहत प्राप्त गरेका छन् ।  

नेपाल लामो समयदेखि युरोपियन युनियन (ईयु) को गम्भीर सुरक्षा चासो (बल्याक लिस्ट) बाट अझै हट्न सकेको छैन । तपाईंहरुले नेपालको समग्र उड्डयन सुरक्षा अवस्थामा सुधार भयो भनिरहनुभएको छ । पछिल्लो प्रगतिको अवस्था के हो ?
हो, हामी लामो समयदेखि ईयुको त्यो लिस्टमा रहेका छौं । तर, यसको अर्थ हामीले आईकाओ वा ईयुले उठाएका सुरक्षा चासोमा कामै गरेनाैं भन्ने होइन । हामीले नीतिगत सुधारदेखि विभिन्न सुरक्षा मापदण्डलाई पूर्ण परिपालना गरेका छौं । आईकाओको विश्व एभरेज मापन ६० भन्दा माथि हुनुपर्नेमा नेपालको स्तर मापन ६७ प्रतिशत  छ । त्यसैले हामीले धेरै सुधार गरेका छौं । कतिपय नीतिगत काम हुन बाँकी छन् । जस्तो, क्यानलाई नियामक र सेवाप्रदायक गरी दुई अलग–अलग निकाय बनाउने कुरा छ । त्यससम्बन्धी दुई वटै विधयेक राष्ट्रिय सभामा पुगेका छन् । अहिले राजनीतिका कारण पास हुन नसके पनि आउने संसद्मा त्यो पारित हुन्छ भन्ने हाम्रो आशा र विश्वास छ । यसले गर्दा हामीले ईयुको चासोलाई नीतिगत रूपमा सम्बोधन गर्नेछौं भने भौतिक पूर्वाधार विकास तथा अन्य विषयमा हामी विस्तारै अघि बढेका छौं । आईकाओले २०१९ अक्टुबर १६–२५ मा नेपालको हवाई सुरक्षा अडिटबाट औंल्याएका सुझावलाई विभिन्न निकायको समन्वयमा कार्यान्वयन गर्ने कामलाई निरन्तरता दिइएको छ । छिट्टै नै हामी त्यो प्रतिबन्धबाट फुुकुवा हुने आशमा छौं ।

नेपालको विभिन्न देशसँग भएका हवाई सम्झौता र उडान क्षेत्र विस्तारमा भएका पछिल्ला प्रगति के–के हुन् ?  
नेपालले हाल ४० मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता सम्पन्न गरेको छ । नेपालका तीन वटा वायु सेवाबाट आठ मुलुकमा नियमित हवाई सेवा सञ्चालन भएको अवस्था छ । यस्तै, १३ मुलुकका २७ वायु सेवाले नेपालमा हवाई सेवा सञ्चालन गरेका छन् । १५ मुलुकसँग सीधा हवाई सम्पर्क रहेको छ । तीन वटा सार्क मुलुकसँग सीधा हवाई सम्पर्क स्थापित गरिएको छ । यसले नेपालको सम्पर्क/सम्बन्ध विभिन्न मुलुकसँग बढ्दै गएको देखिन्छ ।

सन् २०२० को अन्त्यसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सकिसक्ने योजना थियो । पछिल्लो अवस्था हेर्दा त्यो लक्ष्य पूरा हुने देखिँदैन ? यही अवस्थामा काम हुँदा कहिलेसम्म सञ्चालन होला ?
हामीले छिट्टै सम्पन्न गर्ने लक्ष्य लिए पनि विभिन्न खाले अवरोधका कारण पहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाहेअनुरूपको प्रगति गर्न नसकिएको हो । नाकाबन्दी, बन्द– हडताल, भुँइचालो, विभिन्न समयको चुनाव, कन्ट्रयाक्टर र सबकन्ट्रयाक्टरबीचको विवाद अनि निर्माण कम्पनीले पर्याप्त रकम परिचालन गर्न नसक्नेजस्ता समस्या पहिले देखिए । यस्तै  विवादले लामो समय काम अवरुद्ध भयो । ढुंगा, गिटी, बालुवा, माटोलगायत निर्माण सामग्री आपूर्ति गर्ने क्रममा स्थानीय स्तरमा भएका अप्ठ्याराले हामीलाई व्यवधान खडा गरेको थियो । पछिल्लो समय कोरोना महामारीका कारण उपकरण आयात एवं जनशक्ति व्यवस्थापनमा समस्या हुँदा चाहेर पनि काम अवरुद्धजस्तै छ । तर, भौतिक काम चालू नै छ । आजका मितिसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९३ प्रतिशतभन्दामाथि नै छ । जुन उपकरण जडान गर्नुपर्छ, त्यसका अमेरिका, चीन, थाइल्यान्ड, अस्ट्रियालगायत मुलुकबाट आउनुपर्ने प्राविधिकलाई कोभिडकै कारण ल्याउन नसक्दा ढिला भएको हो । उनीहरू आएपछि  काम अगाडि बढ्छ । यसले गर्दा कति समय लाग्छ भन्ने कुरा प्राविधिक टिमलाई कति छिटो यहाँ  ल्याउन सकिन्छ भन्नेमा निर्भर छ । हामीले चाहेर मात्रै उनीहरूलाई नेपाल आऊ भन्ने स्थिति अझै बनिसकेको अवस्था छैन । हाम्रो ध्यान सुरक्षासाथ ती प्राविधिकलाई छिटोभन्दा नेपाल ल्याउनेमै छ । निर्माण कार्य सम्पन्न भएपछि जडान गरिएका उपकरणको क्यालिब्रेसन गर्न, विदेशबाट विशेष वायुयान झिकाई फ्लाइट इन्स्पेक्सन सम्पन्न गर्न र विमानस्थल प्रमाणीकरण सम्पन्न गर्न करिब तीन महिनाको अवधि लाग्ने अनुमान गरिएको छ । त्यसपछि विमानस्थलमा परीक्षण उडान सम्पन्न गरी अन्तर्राष्ट्रिय उडानका लागि सञ्चालन खुला हुनेछ ।

पोखरा विमानस्थलको अवस्था के छ ?
पोखराको आयोजना लक्ष्यभन्दा पहिले नै सकिने गरी काम भइरहेको थियो । त्यहाँ पनि विदेशी कामदार बढी रहेका र कोभिडकै कारण सबै जनशक्ति ल्याउन सकिएको अवस्था छैन । अहिले स्वदेशी/विदेशी कामदार लगाएर निरन्तर काम भइरहेको छ । पोखराको समय सन्  २०२१ सम्म भएकाले त्यो अहिलेलाई ढिलाजस्तो देखिए पनि निर्धारित मितिमै सकिन्छ भन्ने हो ।

निजगढ विमानस्थललाई देशकै प्राथमिकता गेम चेन्जर परियोजना भनियो तर यसमा पनि उल्लेख्य प्रगति देखिँदैन । कसरी अगाडि बढ्छ, यो परियोजना ?
यो सानो परियोजना होइन ।  सरकारले लगानी बोर्डमार्फत अघि बढाएकाले यो काम उतैबाट हुने हो । कसरी जाने भन्ने कुरा सरकारले निर्णय गर्ला । लगानी बोर्डबाट पीपीपी मोडलबाट जाने गरी जुरिक एयरपोर्ट इन्टरनेसनललाई छनोट गरी निर्माण प्रक्रिया अघि बढाइएको अवस्था हो । त्यसमा के–कसरी जाने, अवरोध के छन्, बोर्डले हेर्ने विषय भयो । जहाँसम्म क्यानले गर्ने कामको सन्दर्भ छ, हामीले निरन्तर आफ्ना काम गरेका छौं । विमानस्थलको जम्मा स्वीकृत ८ हजार ४५ हेक्टर क्षेत्रफलको सीमांकनमा करिब ६५ किमि तारबार सम्पन्न गरिएको छ । विमानस्थल निर्माण गर्ने क्रममा कुल क्षेत्रफलमध्ये पहिलो चरणमा करिब १ हजार ९ सय हेक्टरमा विमानस्थल निर्माण र करिब ८.५२ हेक्टरमा विमानस्थल पहुँच मार्ग निर्माण गर्न ती जग्गामा रहेका रुख ईआईए प्रतिवेदनअनुसार कटानको स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रिपरिष्द) मा प्रस्ताव पेस गर्न वन तथा वातावरण मन्त्रालयमा अनुरोध भएको छ । पहिलो चरणका लागि छुट्याइएको १ हजार ९ सय हेक्टर जग्गामा रहेका रुख कटानका लागि १२ वटा ब्लक निर्धारण गरी सो ब्लकमा रहेका रुखमा संकेत चिह्न लगाउन प्रदेश वन डिभिजन कार्यालयबाट काम सुरु भइसकेको छ । यसमा ५ लाखभन्दा बढी रुख तथा पोल संख्यामध्ये करिब ६० हजारमा टाँचा लगाउने कार्य सम्पन्न भएको छ । यस्तै, विमानस्थल क्षेत्रमा रहेको बस्ती (टाँगिया, मतियानी र काठघाँट) का १ हजार ४ सय ९५ सुकुम्बासी घरधुरीको पुनर्बासका लागि भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रक्रिया अघि बढाइएको छ ।  विमानस्थल निर्माण क्षेत्रको पश्चिम सीमामा रहेको पसाहा खोलामा २ हजार ५ सय १८ मिटर लामो नदी नियन्त्रणलगायत साइटसँग सम्बन्धित कार्य सम्पन्न भएका छन् ।

तपाईंले महानिर्देशकको रूपमा कार्यभार सम्हालेको पनि डेढ वर्ष बितिसक्यो । समग्रमा क्यानका अबका प्राथमिकता र कार्यभार पूरा गर्न के–कस्ता चुनौती छन् ?  
कोभिड तत्कालै सकिने अवस्था देखिँदैन । विश्वका विभिन्न मुलुकमा नयाँ खाले कोभिडका प्रकार देखा परेका छन् । यसको प्रभाव सबैतिर पक्कै पर्नेछ । यो प्रतिकूल परस्थितिमा पनि हामीले लिएका केही जिम्मेवारी र कार्यभार पूरा गर्नैपर्छ । त्यसमध्ये नेपाली वायुसेवालाई इयुको कालो सूचीबाट हटाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने र सञ्चालन मोडालिटी तय गरी सञ्चालनमा ल्याउने प्रमुख चुनौती पनि छ । यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो हवाई ट्राफिकको सन्दर्भमा गुरुयोजना टुंगोमा पुर्‍याई कार्यान्वयन गर्ने, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रारुप तय गरी निर्माण कार्य अघि बढाउने हाम्रो प्राथमिकताका विषय हुन् । यस्तै, अन्य क्षेत्रीय तथा साना विमानस्थलको स्तरोन्नतिलगायत नीतिगत सुधारका कामलाई अगाडि लैजानु नै अबको प्राथमिकता र कार्यभार हो ।

प्रतिक्रिया [1]
User Image

Armugam

[Jan 1, 2021 10:58am]

आशा मात्र गरेर केही हुँदैन जब सम्म CAANलाई टुक्राउने ऐन संसदबाट पास हुँदैन। तर के गर्नु ओलीले त्यो बटोनै भत्काइदिए। 😜


प्रतिक्रिया दिनुहोस्