कोरोना महामारीले थलिएको अर्थतन्त्र अहिले विस्तारै चलायमान हुन थालेको छ । धेरैजसो व्यापारव्यवसाय, उद्योगकारखाना सञ्चालनमा आएका छन् । माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी, भैरहवा र पोखरा विमानस्थल, मध्यपहाडी लोकमार्ग इत्यादि पूर्वाधार निर्माणको अन्तिम चरणमा छन् । आन्तरिक तथा बा≈य उडान पनि शुरू भएको छ । सडक यातायात पूर्णरूपमा सञ्चालनमा आइसकेको छ । आन्तरिक पर्यटन चलायमान हुन थालेको छ ।
यसरी कोभिडको असरबाट अर्थतन्त्र विस्तारै चलायमान हुन थालेको देखिए पनि सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण निम्तिएको पछिल्ला राजनीतिक घटनाक्रमले देशको अर्थतन्त्र र विकासको गतिमा अनिश्चय सृजना भएको छ । सरकारको नेतृत्व गरेको दल नै विभाजनको बाटोमा लागेपछि अबको राजनीति मुठभेडतर्फ जाने हो कि भन्ने भय पैदा भएको छ । यसले स्वदेशी र विदेशी लगानी र त्यसले अर्थतन्त्रमा ल्याउन सक्ने परिणाम नकारात्मक हुन सन्छ ।
आउँदो वैशाखमा प्रतिनिधिसभाको निर्वाचन हुने भयो भने सरकारले २० अर्बभन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ । चुनावका लागि बजेट बनाइएको छैन । त्यसैले विकास खर्च काटेर चुनावमा खर्च गर्नुपर्ने हुन्छ । सरकारलाई खर्च जुटाउन स्रोतको अभाव छैन । तर, भएको स्रोतको उपयोग गर्ने क्षमताकै कमी देखिन्छ । चुनावले अनौपचारिक रूपमा रहेको वा अवैध धनसम्पत्ति वा पैसा बाहिर आउन सक्छ । यसले आर्थिक क्रियाकलापलाई केही समयका लागि एक हदसम्म चलायमान बनाउनेछ ।
बहुदलीय व्यवस्था अँगालेपछि नै हामीले खुला बजारको नीति अपनायौं । विदेशी लगानीलाई देश भित्र्याउन अनुमति दियौं । पहिले जुनसुकै लगानीका लागि पनि लाइसेन्स लिनुपर्ने थियो । त्यो लाइसेन्स तन्त्र २०४९ सालमा अन्त्य भयो । तर, पछिल्लो २० वर्षको अवधिमा उद्योग कलकारखानाहरू बढ्नुपर्नेमा एउटै अर्थतन्त्रमा यसको अंश १२ प्रतिशतबाट ५ प्रतिशतमा समेटिएको छ ।
यसैबीच हाम्रासामु करीब करीब चुनाव आइपुगेको छ । प्रतिनिधिसभा पुनःस्थापित भए पनि चुनाव चाँडै नै हुने सम्भावना छ । एउटै दलले त सरकार चलाउन सकेन भने संयुक्त सरकार चल्ने सम्भावना त झनै छैन । अबको निर्वाचनमा राम्रो नेता चयन गर्न सक्नुपर्छ । गाली विरोध गर्नु मात्र होइन, जनतालाई खुशी बनाएर देश बनाउने नेतालाई छान्न सक्नुपर्छ ।
विदेशी मुलुकको जस्तै हाम्रो देशमा पनि लोकतन्त्र ल्यायौं जुन सराहनीय कुरा हो । तर, दुःखलाग्दो कुरा ३ दशक बितिसक्दा पनि विकासचाहिँ अरू देशले जस्तो गर्न सकेनौं ।
विकास ढिलो गतिमा भयो भनेर एकतन्त्रीय शासनको विरोध भएको हो । देशको विकास होला भनेर लोकतन्त्रका लागि नेताहरू लडे, जनताले साथ दिए । लोकतन्त्र आएपछि देशको मुहार फेरिएला, विकास होला भन्ने आशा निराशामा परिणत भयो । नेपालीहरू परिवार छोडेर रोजगारीका लागि विदेश जान बाध्य भए । राजनीतिमा लाग्नेहरू गलत तरीकाले कमाउने काममा व्यस्त भए । यही कारण देश झन्झन् पछि धकेलियो ।
पैसाका लागि जे पनि गर्ने राजनीतिक नेतृत्व भएकाले पैसा र विलासिताको देखासिकी बढ्यो उत्पादन बढाउन सकिएन । उपभोग बढ्यो तर उत्पादन गर्न नसक्दा आयात बढ्यो । यसले समाजमा विकृति भित्रियो ।
लोकतन्त्र आउनुअघि एकतन्त्र शासनमा पञ्चहरू भ्रष्ट भए, जनतालाई स्वतन्त्रता दिएनन् भनेर आन्दोलन भएको थियो । तर, भ्रष्टाचार रोकियो त ? झन बढ्यो । जनतालाई सधैं राजनीतिक अन्योलमा मात्र भयो । जनता पनि विभाजित भए । धेरै दलका धेरै कुरा हुँदा जनताले साँचो र गलत छुट्याउन नसक्ने अवस्थासमेत आयो । समाजलाई यहाँको लोकतन्त्र नपचेको जस्तो भयो । धेरै दल, धेरै नेता, धेरै कार्यकर्ता, अनभिज्ञ जनता आदि मिश्रणको कारणले गर्दा नेपालको राजनीति असफल तवरले गुज्रिराखेको हामीले पायौं ।
राजनीतिक कलह आफ्नो ठाउँमा विकास आफ्नो ठाउँमा हुनुपर्ने हो तर यहाँ त जुन सरकार आए पनि रिस, डाह, झगडा मात्र भइरहेको देखिन्छ । झगडा तीव्र देखिन्छ भने विकासको गतिचाहिँ सुस्त । झन्डै २ तिहाईको सरकार हुँदा पनि सरकार सफल हुन सकेन । राजनीतिक अशान्ति खिचातानी जस्ता प्रक्रियाले नेपाली जनता धेरै दुःखी भएका छन्, यस्तो अवस्थामा कसलाई दोष दिने यो करा बुझ्न गार्हो भएको छ ।
खाद्यान्न भण्डारमा खानेकुराहरू पर्याप्त हुँदा पनि हामीले पकाएर खान नजानेको अवस्थामा हामी अहिले छौं । सबै दलको हविगत हामीले देख्यौं तर कुनै दल सफल हुन सकेन । अब हामीले लोकतन्त्रबाट राम्रो अपेक्षा गर्ने हो भने देशमा रहेका रम्रा बुद्धिजीवीहरूको समूह खडा हुनु जरुरी छ, कार्यकर्ता स्वाभिमानी हुन जरुरी छ । खराब नेताहरूप्रति समाजले कडा प्रतिक्रिया देखाउन नसकेको र यस्तै हो भन्ने सोच भएकाले नेताहरू नसच्चिएको मान्न सकिन्छ ।
हाम्रो देशमा खराब मात्रै होइन, राम्राराम्रा व्यक्तिहरू पनि छन् । यिनीहरूले आफ्नै हिसाबले योगदान गरिराखेका छन् । तर, तिनको मूल्यांकन हुन सकेको छैन । कुलमान घिसिङ, अनुराधा कोइराला, महावीर पुन, सन्दुक रूइतजस्ता अनेक व्यक्ति छन् । अझ कतिपय व्यक्ति त चर्चामा नआईकन काम गरिरहेका छन् । त्यसैले सबै निराशा मात्र होइन, आशाका ठाउँ पनि छन् ।
नागरिकले आप्mनो कर्तव्य राम्ररी निर्वाह नगर्दा पनि समस्या बढेको हो । निर्वाचनका बेलामा राजनीतिक दर्शन हेरेर भोट हाल्ने अथवा पैसाको प्रलोभनमा भोट दिने गर्दा खराब व्यक्तिहरू नै बारम्बार चुनावमा जित्ने गरेका छन् । निर्वाचनमा जितेपछि जनतालाई वास्ता नगर्ने नेतालाई अब आउने निर्वाचनमा प्रत्येक नागरिकले स्पष्टीकरण लिनुपर्छ । विकास निर्माणका कामले किन गति लिएन ? किन स्थिति बसाल्ने कुरामा नेताहरूले काम गरेनन्, किन आफन्तलाई मात्र प्राथमिकता दिए भनेर तिनलाई केरकार गर्नुपर्छ । नागरिकको कर्तव्य विकास भएन भनेर सरकारलाई गाली गर्ने मात्र होइन, गलत काम गर्ने नेतृत्वलाई दण्डित गर्ने पनि हो । आगामी निर्वाचनमा यस्ता गलत नेतृत्वलाई हराएर विकास र निमाणका साथै स्थिति बसाल्ने र प्रणालीमा विश्वास गर्नेलाई निर्वाचित गर्नु पनि नागरिकको जिम्मेवारी हो ।
रामकेशरी वैद्य