आर्थिक वर्ष २०६६ मा नेपाल रजिष्ट्रार कार्यालयमा १० हजार ३ सय ३३ वटा कम्पनी दर्ता गरेका छन् । गत वर्षको सोही अवधिमा यो संख्या ९ हजार १ सय २ थियो । चालू आवमा दर्ता कम्पनीमध्ये रू. ५० करोडबराबरको अधिकृत पुँजी भएका सेन्चुरी विकास बैंक, रेज क्यापिटल एन्ड इन्भेस्टमेन्ट, जी एन्ड टी हेल्थकेयर एजुकेसन, घोराही विद्युत् कम्पनी र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी रहेका छन् । यो आवमा दर्ता भएका कम्पनीहरूको कुल चुक्ता पुँजी रू. ५९ अर्ब ५२ करोड ४४ लाख रहेको रजिष्ट्रार कार्यालय स्रोतले बताएको छ ।
चालू आवको फागुन, चैत र वैशाख महिनामा मात्रै २ हजार ३ सय ४१ कम्पनी दर्ता भएका छन् । हालसम्म कम्पनी रजिस्ट्रारको कार्यालयमा जम्मा ८१ हजार ५८ कम्पनीहरूको दर्ता अभिलेख रहेको छ । कार्यालयका अनुसार यीमध्ये करिब ४० प्रतिशत कम्पनीहरूमात्र चालू अवस्थामा छन् । रजिस्ट्रार कम्पनी सञ्चालनमा आउने वा नआउने निश्चित छैन । दर्ता भएका सबै कम्पनी सञ्चालनमा हुने हो भने नेपालीहरू कामको खोजीमा विदेश जानै पर्दैनथ्यो, कार्यालयका सहायक रजिष्ट्रार टीकामणि न्यौपाने भन्छन् ।
अंक ३७, २०६७, जेठ ३–९