पुस २२, पर्वत । पर्वत स्थित कुश्माबजारको अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएको छ । बस्ती बढ्दै गएको, बजारमा गल्ली साँघुरो रहेको र पर्यटकीय पूर्वाधारका कारण भीडभाड बढ्न थालेकोले पार्किङलाई व्यवस्थित बनाउन लागिएको हो ।
अव्यवस्थित सवारी पार्किङ हुँदा बजार अव्यवस्थित देखिएको र दूर्घटनाको जोखिम बढ्ने देखिएपछि नगरपालिकाले पार्किङ व्यवस्थापन गर्न थालेको हो । कुश्मा नगरपालिकामा बुधवार बसेको बैठकले यातायात व्यवस्थापन समिति गठन गरेर पार्किङ क्षेत्र निर्माण गर्ने निर्णय गरेको छ ।
वडाध्यक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा गठित समितिलाई पार्किङ क्षेत्र बनाउने जग्गा खोजि गरी अर्को बैठकमा प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । उनले तत्काल पार्किङ क्षेत्र नबनेको हुनाले त्यतिञ्जेलसम्म बजारक्षेत्र भित्र अरु विकल्पहरुको प्रयोग गरी सवारीसाधानहरुको चाप कम बनाउने तयारी रहेको बताए ।
बैठकले विद्यालय समय र सरकारी कार्यालयको कामकाजको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ः३० देखि ४ः३० बजेसम्म बजार क्षेत्रमा मालबाहक तथा यात्रुवाहक ठूला सवारीसाधान लाई प्रवेशमा रोक लगाईने निर्णय गरेको छ ।
यो नियम पुष २५ गतेबाट लागू हुने भएको छ । मूल सडकको रुपमा रहेको पोखरा बागलुङ राजमार्गको शिवालयचोकदेखि प्रगतिचोकसम्म, नारायण मावि हुँदै लोकतान्त्रिक चोकबाट अस्पतालचोकसम्म, साझाचोकदेखि धनेश्वर चोक हुँदै बगैँचाचोकसम्म, दुर्लुङचोक हुँदै कुश्मा नगरपालिकाको कार्यालयबाट मैत्रीचोक हुँदै बगैँचा चोकसम्मको क्षेत्रमा ठूला सवारीसाधान प्रवेशमा रोक लगाइएको हो ।
बिहान र दिउँसोको समयमा बढी भीड हुने भएको यो व्यवस्था लागू गरिएको जोशीले बताए । यस्तै ट्राफिक सचेतनाका लागि ३० ठाउँमा नो पार्किङ बोर्ड निर्माण गरी बढी भीड हुने ठाउँमा राखिने भएको छ । मध्यपहाडी लोकमार्गका छेउछाउमा यात्रु झार्ने र चढाउने खालका साना खाले बस बसौनी स्थल निर्माण गर्ने निर्णय पनि बुधवारको बैठकले गरेको प्रमुख प्रसाशकीय अधिकृत हरी पंगेनीले जानकारी दिए ।
उनले बजारमा पैदलयात्रु हिँड्ने फुटपाथ मिचेर व्यवसायीहरुले सामान विक्रीका लागि राख्ने गरेको र पाली बनाएर फुटपाथ अवरोध गरेको बताउँदै ति सामान तत्काल हटाउन निर्देशन दिइएको बताए । फुटपाथ ओगटेर सामान राखेको पाइए नगरपालिकाले जवरजस्ती हटाउने निर्णय गरेको प्रमुख प्रसाशकीय अधिकृत पंगेनीले जानकारी दिएका छन् ।