पुस २२, वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आठ ओटा चिनियाँ एपमाथि कारोबार गर्न प्रतिबन्ध लगाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ती एपहरुमा लोकप्रिय भुक्तानी मञ्च अलिपेको साथै क्यूक्यू वालेट र विच्याट पेसमेत रहेका छन् । उक्त आदेश ४५ दिनमा कार्यान्वयनमा आउनेछ । ती एपहरु अमेरिकाको राष्ट्रिय सुरक्षामा खतराको रुपमा रहेकोले प्रतिबन्ध लगाइएको आदेशमा भनिएको छ ।
ती एपहरु अमेरिकी संघीय कर्मचारीहरुलाई ट्र्याक गर्न र उनीहरुको डोसियर बनाउन प्रयोग हुन सक्ने सम्भावनातर्फ आदेशमा औंल्याइएको छ । उक्त आदेशमा क्याम स्क्यानर, शेयरइट, भीमेट र डब्ल्यूपीएस अफिससमेत परेका छन् । राष्ट्रिय सुरक्षाको सुरक्षा गर्न यस्ता एपहरु विरुद्ध आक्रामक कदम चाल्नु पर्ने आदेशमा भनिएको छ ।
उनको कार्यकाल सकिदैं गर्दा ट्रम्प प्रशासनले चिनियाँ कम्पनीहरुमाथि दबाब तीव्र बनाएको छ । चिनियाँ कम्पनीहरुलाई डिलिष्ट नगर्ने न्यूयोर्क स्टक एसक्चेञ्ज (एनवाईएसई)को निर्णय पुनः विचार गर्न ह्वाइट हाउसले दबाब दिएकै बेलामा प्रतिबन्ध सम्बन्धी पछिल्लो खबर आएको हो ।
गत हप्ता एनवाईएसईले चाइना मोबाइ, चाइना टेलिकम र चाइना यूनिकमलाई डिलिष्ट गर्ने घोषणा गरेको थियो । तर सोमवार भने यसले सो निर्णय उल्ट्याएर अमेरिकी नियामकहरुसँग थप निर्णय गरेर मात्रै डिलिष्ट गर्ने बताएको थियो । तर यो निर्णयका कारण दबाब बढेपछि ती तीन ओटा कम्पनीहरुलाई सूचीकरणमा रहन दिने निर्णयको एनवाईएसईले पुनः विचार गर्ने भएको छ । एजेन्सी