पुस २२, टोकियो (जापान) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ बढेर प्रतिगोटा ३५ हजार डलरमाथि उक्लिएको छ ।
पछिल्ला केही दिनमाा बिट्क्वाइनको कारोबार आक्रामक रुपमा बढेसँगै बुधवार यसको भाउले नयाँ उचाइ छोएको छ । क्वाइन डेस्कका अनुसार बुधवार बिट्क्वाइनको भाउ बढेर प्रतिगोटा ३५ हजार ७५१ डलरसम्म पुगेको थियो ।
यद्यपि यो समाचार तयार पार्दाखेरी नेपाली समयअनुसार साँझ ७ बजे बिट्क्वाइनको भाउ ३४ हजार ९९१ डलर १७ सेन्ट कायम भएको छ । यो अघिल्लो २४ घन्टाको तुलनामा यो १० प्रतिशतभन्दा बढी हो । पछिल्लो वृद्धिसँगै बिट्क्वाइनको बजार पूँजीकरण ६ खर्ब ५० अर्ब ५५ करोड डलरमा पुगेको छ । केही दिन अघि बिट्क्वाइनको भाउ १० प्रतिशतभन्दा धेरैले घटेर २९ हजार ३१६ डलरमा आएको थियो ।
गत वर्षभरि भने भाउ ३०० प्रतिशतभन्दा धेरैले बढेर पहिलो पटक २९ हजार डलरमाथि उक्लियो । बिट्क्वाइनले सुनसँग वैकल्पिक मुद्राको रुपमा प्रतिस्पर्धा गर्नेतर्फ औंल्याउँदै दीर्घकालमा यसको भाउ १ हजार ४६ डलरको उचाईसम्म पुग्ने सोमवार मात्रै अमेरिकी लगानी बैंक जेपी मोर्गनले एक नोटमा बताएको थियो ।
यस वर्षको अहिलेसम्मको अवधिमा यसको भाउ २५ प्रतिशतले बढिसकेको छ । कोरोना भाइरसको विद्यमान महामारीको समयमा बिट्क्वाइनलाई सुन जस्तै मुद्रा स्फीतिप्रतिको हेजिङका रुपमा लिन थालिएको छ । यद्यपि अलोचकहरुले भने यसलाई सट्टेबाजीको रुपमा लगानी सम्पत्तिको रुपमा हेरेका छन् ।
यसको मूल्य वृद्धिको फोका जुनसुकै बेला फुट्न सक्छ भनेर पनि चेतावनी दिइरहेका छन् । एजेन्सी