ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज नाका : बढ्दो व्यापार, कमजोर पूर्वाधार

२०७७ पौष, २३  
समाचार
Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले वीरगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि यो नाकामा सबै भन्सारहरूलाई एकीकृत गर्ने योजना बनायो । तर, यो संरचनाबाट आयातनिर्यात शुरू भएको ३ वर्ष बितिसक्दा पनि उद्देश्य पूरा हुन सकेको छैन ।

वीरगञ्जमा अहिले आईसीपी, सुक्खा बन्दरगाह र इनर्वा (साविक वीरगञ्ज) भन्सारबाट आयातनिर्यात भइरहेको छ । आईसीपी सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारलाई यात्रु शाखामा सीमित तुल्याउने योजना बनाइएको थियो । सुक्खा बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने निर्णय भएकै १ वर्ष पुग्न लाग्यो । कमजोर पूर्वाधार र अस्पष्ट निर्णयले यो उद्देश्य अलपत्र परेको छ ।

वीरगञ्ज नाकाबाट बल्क कार्गो भित्र्याउने व्यवसायीहरूले आईसीपीमा बेग्लै लेनको व्यवस्था मिलाउन माग गरेका छन् । अहिले अधिकांश बल्क कार्गो भारतको रक्सौलबाट मितेरीपुल हुँदै भित्रिन्छ । रक्सौलमा रेलमार्फत आउने कार्गो आईसीपीमा लैजाने प्रबन्ध नभएसम्म यो नाकाको आयातनिर्यात आईसीपीमा गाभ्ने योजना पूरा हुन नसक्ने दाबी वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले गरे ।

रक्सौलबाट अहिले क्लिंकर, जिप्सम, स्ल्याग, कोइला, नुन, फलाम र केही परिमाणमा इन्धन भित्रिने गरेको छ । रेलमार्फत रक्सौलसम्म आएका यस्ता अधिकांश वस्तु अहिले पनि यही मार्गबाट नेपाल ल्याइन्छ । गत डिसेम्बरमा ५१ ¥याक मालसामासन भित्रिएको तथ्यांक वीरगञ्ज भन्सारसित छ ।

जनवरी ४ तारीखसम्ममा १४ ¥याक बल्क कार्गो साविक भन्सारबाट आयात भएको छ ।

आईसीपीबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को मङ्सिरसम्ममा १ हजार ३ सय २ गाडी क्लिंकर र ८ सय २ गाडी कोइला भित्रिएको नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) वीरगञ्जका प्रमुख कमल ज्ञवालीले जानकारी दिए । आईसीपीमा पार्किङ, गोदामलगायत अन्य पूर्वाधार थप्ने काम भए पनि बल्क कार्गोका लागि बेग्लै लेनको योजना भने बनिनसकेको ज्ञवालीले बताए ।

वीरगञ्ज नाकाबाट दैनिक ७ सय मालवाहक गाडी आवागमन हुने एनआईटीडीबीले बताएको छ । सामान्य अवस्थामा सुक्खा बन्दरगाहमा दैनिक ५/६ ओटा र रक्सौलमा तीनओटा रेल अनलोड हुन्छन् । आयातनिर्यात परिमाणका आधारमा सबैभन्दा ठूलो नाकामा यसको प्रभावकारितासित जोडिएका संरचना भने कमजोर देखिएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिको पूर्वसंयोजक अशोक टेमानीले बताए ।

आईसीपीमा आयात र निर्यातका पाँचओटा लेन छन् । प्रवेश र निकास एउटैमात्र भएकाले समस्या भएको भन्सार अधिकृत रमेश सुकमनी बताउँछन् । पर्याप्त पूर्वाधार नहुँदा वीरगञ्जका भन्सार एकीकृत गर्ने योजना प्रभावित भएको अधिकृत सुकमनीले बताए ।

भौतिक सरचनाको कमीका कारण साविक भन्सारको सबै कारोबार आईसीपीमा ल्याउन नसकिएको भन्सारले बताएको छ । ‘वीरगञ्ज नाकाबाट अधिकांश वैदेशिक व्यापार आईसीपीमा केन्द्रित भइसकेको छ । तर, पुरानो भन्सारबाट अहिले पनि बल्क कार्गो आईसीपीतिर आउन सकेको छैन,’ सुकमनीले भने, ‘यस्ता वस्तु भिœयाउन आईसीपीमा पर्याप्त पूर्वाधार छैन ।’

रेल सेवा विस्तार गरेर सबै कार्गो आईसीपीसम्म ल्याउनुपर्ने माग व्यवसायीहरूको छ । ‘यसका लागि सरकारले भारतसित पहल गर्नुपर्छ । आईसीपीसम्म रेल जोडिएमात्रै वीरगञ्जको साविक भन्सार यात्रु शाखामा रूपान्तरण हुन सक्छ,’ आयातकर्ता प्रदीप केडियाले आर्थिक अभियानसित भने ।

निर्णयका विरोधाभास
गत माघमा सरकारले वीरगञ्ज सुक्खा बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने निर्णय गर्‍यो । तर, साविक वीरगञ्ज भन्सारको सम्पूर्ण कारोबार आईसीपीमा गइसकेपछि मात्रै भन्सार गाभ्ने शर्त घुसाइएकाले यो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । रेलमार्फत आउने कार्गो रक्सौलमा अनलोड हुन्छ । रेलवेको रक्सौल यार्डमा ओरालिएको कार्गो पुरानै भन्सार भएर भित्रिन्छ । रक्सौल–वीरगञ्ज भएर मालसामान आउँदासम्म सुक्खा बन्दरगाह भन्सार गाभ्ने निर्णय अघि नबढ्ने देखिएको छ ।

पूर्वाधार विस्तार र बन्दरगाह भन्सारलाई आईसीपीमा गाभ्ने उद्देश्यकै लागि यी दुई संरचनाको बीचमा पर्ने ६२ बिगाह जग्गा अधिग्रहण गर्ने भनिएको थियो । सरकारले जग्गाको मुआब्जा तोकिसकेको छ । मन्त्रिपरिषद्बाट अधिग्रहणको निर्णय भने गरेको छैन । मुआब्जा तोकिए पनि अधिग्रहणको निर्णय नै नभएकाले प्रक्रिया अड्किएको भन्सारका अधिकारीहरू बताउँछन् । सरकारी निर्णय र कार्यान्वयनका विरोधाभासले वैदेशिक व्यापारको प्रभावकारितासित सरोकार राख्ने संरचना पूर्ण उपयोग हुन नपाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्