काठमाडौं (अस) । नेपाल सुनचाँदी व्यवसायी महासंघको सातौं तथा आठौं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशन आउँदो पुस २४ र २५ गते काठमाडौंमा हुने भएको छ ।
यस पटक महासंघको साधारणसभा तथा अधिवेशनमा देशभरका ६५ जिल्ला र नगर संघ तथा वस्तुगत र एसोसिएट सदस्यहरूका तर्फबाट ६ सयभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकले सहभागिता जनाउनेछन् ।
कोरोना संक्रमण विद्यमान अवस्थालाई दृष्टिगत गरेर सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुरूप कार्यक्रम सञ्चालन गरिनेछ ।
साधारणसभा उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ । शुक्रबार काठमाडौंको होटल याक एन्ड यतीमा उद्घाटन सत्र हुनेछ । शनिबार बन्दसत्र तथा निर्वाचनको कार्यक्रम छ । निर्वाचनबाट ५५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले पनि संघीय संरचनालाई आत्मसात् गर्दै ७ वटै प्रदेशमा प्रदेश महासंघ गठन गरेअनुरूप प्रदेश महासंघको निर्वाचन सम्पन्न भइसकेको छ ।
यस पटकको साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा एजेन्डाका लागि छलफल हुनेछ । विगत वर्षमा झैं यस पटकको वार्षिक साधारणसभामा पनि छापा, विद्युतीय र अनलाइन गरी तीन विधाका तीन सञ्चारकर्मीलाई सम्मानित गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।