काठमाडौ (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त रुपन्देहीको बुटवलमा मुख्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने गरी बुधबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समिति संयोजक प्रबलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समिति संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । दुवै बैंकले आ–आफ्नो विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरी राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरिनेछ ।
०७७ साल पुस २२ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गरेपछि निक्षेप करिब १२४ अर्ब र ऋण लगानी करिव १०२ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपछि बैंकको कुल १६३ शाखा हुनेछ ।
सहमतिअनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकामा प्राप्तिपछिको चुक्ता पुँजी ११ अर्ब ६६ करोड हुनेछ ।