ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बैंकिङ क्षेत्रमा माइक्रो मेनेजमेन्ट

२०७७ पौष, २३  
लेख | दृष्टिकोण
Image Not Found

नेपाल राष्ट्र बैंकले बैंकहरूको जन्म, सुधारद्वारा पुनर्जन्म, बैंकहरूको खाता खोलिदिने, ऋण प्रदान गर्ने, सल्लाहसुुझाव प्रदान गर्नेलगायत कार्य गर्छ । नेपालको समग्र बैंकिङ क्षेत्रको नीतिनियम बनाउने, पुनःसंरचना गर्ने, विकास गर्ने, नियन्त्रण र अनुुगमन गर्ने, ग्राहकको निक्षेप सुरक्षित गर्ने, कर्जा असुली र लगानीको गन्तव्य निर्धारण गर्नेजस्ता कार्य गरी बैंकिङ क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने नेपाल राष्ट्र बैंकमाथि माइक्रो मेनेजमेन्ट गर्‍यो भन्ने सिबिफिनको टिप्पणीले हतास मनस्थितिको संकेत गर्छ । बैंकिङ क्षेत्रले सबद्ध निकायमा आफ्ना गुनासा र माग राख्दा निक्षेपकर्ता र ऋणीको मनोबल नगिरोस् भन्नेतर्फ विशेष सतर्क हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाहरूको ग्राहकसँग लिने बैंकिङ शुल्कमा एकरूपता छैन न त कर्जा तथा निक्षेपको ब्याजदरमा नै एकरूपता छ ।

बैंक तथा वित्तीय संस्था उद्योग, वाणिज्य, जलविद्युत्, कृषि, विपन्न वर्गको उत्थान एवम् प्रत्यक्ष वा अप्रत्यक्ष रोजगार प्रदान गरी देशको आर्थिक र सामाजिक रूपान्तरणको कोसेढुंगाको कार्य गरेको कुरामा कसैको विमति रहँदैन । राष्ट्र बैंकको बैंकिङ क्षेत्रप्रतिको अनुुगमन र निरीक्षण प्रभावकारी नहुँदा बैंक तथा वित्तीय संस्था छाडा भए, आफूखुशी ब्याजदर निर्धारण गर्ने र आफूखुशी कर्जा लगानीको क्षेत्रहरू विस्तार गर्ने, अन्य शुल्कहरू समेत चर्को रहेको भन्नेहरूको कमी छैन । चाहे ऐननियमको निर्माण होस् चाहे एकीकृत निर्देशनको माध्यमवाट होस् नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा एक स्पष्ट मार्गचित्र दिएको छ । बैंकिङ क्षेत्रप्रति जनविश्वास बढाउन पनि अनुुगमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट यथोचित हस्तक्षेप अपरिहार्य छ । नेपाल राष्ट्र बैंकलाई सबैले बलियो बनाउनु जरुरी छ ।

अन्तरराष्ट्रिय बैंकिङ अभ्यास हेर्ने हो भने तीव्र प्रतिस्पर्धा र बढ्दो चुनौतीहरूको सामना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक उन्मुख वस्तुको विकासलगायत ग्राहक सन्तुष्टिका लागि भारी शुल्क घटाउने, ब्याजदर समायोजन गर्नेतर्फ होडबाजी नै देखिन्छ । प्रविधिको विकासले बैंकिङ लागत घटाउन मद्दत गरिरहेको छ । ग्राहकको सन्तुुष्टिको मूल आधार ब्याजदर, छिटोछरितो गुणस्तरीय सेवा, मुस्कानसहितको सेवा नै हो । तर, नेपालको बैंकिङ क्षेत्रको व्यवहारको एक अध्ययनले ८० प्रतिशत बैंकहरूमा गुणस्तरीय र छिटोछरितो सेवाको अभाव छ । मुस्कानसहितको सेवामा शून्य छ । परस्पर विरोधी शुल्क उठाइएको छ । गुनासोको सुनुवाइ हुँदैन । नियमित मेशिन जडित क्षेत्रको अनुुगमन र मर्मत कार्य समयमा नहुनुु, ग्राहकको भनाइलाई ध्यानपूर्वक नसुन्नेलगायत समस्या देखिन्छ । बैंकिङ विज्ञापन गर्दा उल्लेख गरिएका कुराहरू र वास्तविक रूपमा गरिने व्यवहार र मूल्यमा उतारचढाव देखिन्छ छ । तसर्थ नारा र विज्ञापनले मात्र बैंकिङ क्षेत्रको वस्तु तथा सेवाको जनस्तरमा प्रभावकारी प्रवेश नपाउने हुँदा सिद्धान्त र नारालाई व्यवहारमा उतार्ने कार्यबाट मात्र दिगो र ग्राहकमुखी बैंकिङको कल्पना गर्न सकिन्छ । त्यसैले बैंकिङ क्षेत्रका प्रवद्र्धक, सञ्चालक, व्यवस्थापन र कर्मचारीहरूले सूक्ष्म अवलोकन र अध्ययन गर्न ढिला भइसकेको छ ।

प्रकाशित वासलात हेर्दा कुनै पनि बैंक तथा वित्तीय संस्था घाटामा गएको देखिँदैन । विश्व महामारीका रूपमा देखिएको कोभिड–१९ को कारणबाट बैंक तथा वित्तीय संस्थाको नाफा कम हुनु, भाखा नाघेको कर्जाको मात्रा बढ्नु, सञ्चालन खर्चमा बढोत्तरी हुुनुजस्ता समस्या नेपालको बैंकिङ क्षेत्रमा मात्र नभई विश्वभर देखिएको छ । यसको अर्थ यसरी बन्दाबन्दी, कोभिड–१९ बाट भएको घाटालाई पूर्ति गर्ने साधन ग्राहकलाई मात्र बनाउन उचित नहोला । यस्तो संकटका बेलामा संकट व्यवस्थापनतर्फ बैंकिङ क्षेत्र लाग्नुपर्छ । सञ्चालन खर्च कम गर्ने,  शेयरधनीलाई दिने लाभांशमा कटौती, स्रोतसाधनको उच्चतम परिचालन, अनावश्यक कर्मचारी कटौतीलगायतका माध्यमबाट खर्च घटाई ग्राहकलाई मनग्य राहत दिन बैंकिङ क्षेत्र चुुक्नु हुँदैन । बैंकिङ क्षेत्रलाई थाहा छ धेरै समय उद्योगधन्दा चलेनन्, ग्राहकको आम्दानी घटेको छ, व्यापार र औद्योगिक क्षेत्रमा मन्दी छ, बेरोजगारी दर बढेको छ । यस्तो अवस्थामा ग्राहकको नजिकको साथी भनेको बैंकिङ क्षेत्र नै हो, जहाँबाट वित्तीय सहयोग र शुल्क र ब्याजदरलगायतमा राहत पाइन्छ । त्यसो त बैंकिङ क्षेत्रले ग्राहकवर्गलाई कर्जाको ब्याजदर घटाएर, भुक्तानी मिति थपेर विभिन्न माध्यमबाट सुविधा र सहुलियत दिएको भए तापनि यो जनअपेक्षित छैन भन्ने गुनासाहरू सुन्नमा आएको पाइन्छ ।

नेपाल राष्ट्र बैंक ग्राहक र बैंकिङ क्षेत्रकै पुल भएकाले बैंकिङ क्षेत्रको अल्पकालीन, दीर्घकालीन समस्याका बारेमा सूक्ष्म विश्लेषणको माध्यमद्वारा समस्या बुुझ्न जरुरी हुन्छ । विगत १ वर्षदेखि बैंक तथा वित्तीय संस्थामा कोभिड–१९ ले पारेको असर र यसबाट सार्वजनिक क्षेत्रमा देखिएको समस्याका बारेमा विस्तृत अध्ययन र समस्याको निरुपण जरुरी छ । केन्द्रीय बैंकका नाताले बैंकर्स एबोसिएशन, नेपाल उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्शलगायत क्षेत्रसँग हातेमालो गर्नुपर्ने देखिन्छ । सबैसँगको अन्तरक्रिया र सहमतिको आधारमा नीति निर्माण गर्ने, निर्देशन जारी गर्ने एवं ब्याजदर र अन्य बैंकिङ शुल्कका बारेमा निर्णय गर्ने परिपाटीले मात्र माइक्रो मेनेजमेन्ट गर्न थाल्योलगायत अन्य सार्वजनिक गुुनासाहरूबाट मुक्ति मिल्नेमा कसैको दुुईमत नरहला । नेपाल राष्ट्र बैंककोे बैंकिङ क्षेत्र परिलक्षित हरेक नीति निर्देशनले अर्थतन्त्र र पूँजी बजार एवं बैंकिङ क्षेत्रको विकास, विस्तार र ग्राहक सन्तुष्टिलगायतमा विशेष महत्त्व राख्ने भएकाले सबद्ध निकायले यसतर्फ संवेदनशील भई निर्णय लिनुपर्ने हुन्छ । जिम्मेवार निकायबाट आफ्नै संरक्षक र अनुुगमनकारी निकायप्रतिको अनावश्यक टिप्पणीले समस्याको समाधानभन्दा समस्यालाई झन् बल्झाउने कार्य नहोला भन्नुुमा अत्युक्ति नहोला ।

लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्