ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

त्रिवि एलुम्नाई एशोसिएशनको दोस्रो साधारण सभा सम्पन्न 

२०७७ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको दोस्रो साधारण सभा हालै एक कार्यक्रमका बीच जुममार्फत भर्चुअल रुपमा सम्पन्न भएको छ । 

साधारण सभाको उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले त्रिविलाई अन्तरराष्टिय स्तरमा उत्कृष्ट विश्वविद्यालयको रुपमा परिचित गराउन एलुम्नाई एशोसिएशनसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

सरकारसँग अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयले सहकार्यको प्रस्ताव अगाडि सारेको जानकारी गराउँदै उनले एलुम्नाई एशोसिएशनमार्फत आगामी दिनमा अनुसन्धानको क्षेत्रमा कार्य गर्ने र एलुम्नाई एशोसिएशनलाई त्रिवि नेतृत्वको हैषियतले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताए । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विश्वविद्यालयमा एलुम्नाई एशोसिएशनको महत्व र भुमिकाका बारेमा पूर्व उपकुलपति प्राडा तीर्थराज खनियाँले प्रकाश पारेका थिए ।
कार्यक्रममा पूर्व उपकुलपतिहरु प्राडा नविनप्रकाशजंग शाह र प्राडा कमलकृष्ण जोशीले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै एलुम्नाई एशोसिएशनमार्फत त्रिविले थुप्रै रचनात्मक कार्यहरु गर्न सक्ने बताए । 

कार्यक्रममा अभियान दैनिकका प्रधानसम्पादक मदन लम्साल, नीजि क्षेत्रबाट गीता क्षेत्री, औद्योगिक क्षेत्रबाट प्रदिपकुमार श्रेष्ठ, प्राज्ञिक क्षेत्रबाट प्राडा जगदिशप्रसाद अग्रवाल, पूर्व निजामति क्षेत्रबाट दिपेन्द्रपुरुष ढकाल र कृष्णहरी बास्कोटा लगायतले एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयप्रति भावनात्मक एकताको विकास गर्न सकिने, विश्वविद्यालयलाई अरु क्षेत्रले अनुशरण गर्न सक्ने उदाहरणीय प्राज्ञिक निकायको रुपमा विकास गर्न सकिने धारणा राखेका थिए ।

वक्ताहरुले विश्वविद्यालयको उन्नयनमा एलुम्नाईहरुको महत्वपूर्ण भुमिका रहन सक्ने र त्यसको लागि संस्थाले कार्ययोजनासहित आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए । 

साधारण सभाको दोस्रो सत्रमा एशोसिएशनका महासचिव प्राडा ऋदिशकुमार पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डा कुश्मिला आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि स्वीकृत गरेको छ ।

साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष प्राडा सुनीति श्रेष्ठ हाडाले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण संस्थाका आजीवन सदस्य नोदनाथ त्रितालले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्राडा सुदर्शनराज तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए  भने कार्यकारी सदस्य प्राडा रामप्रसाद खतिवडाले धन्यवाद ज्ञापन गरेका थिए ।

त्रिवि कार्यकारी परिषद्को २०७४ मंसीर १२ गतेको बैठकको निर्णयबाट जारी त्रिवि एलुम्नाई एशोसिएशन नेपालको निर्देशिका २०७४ बमोजिम त्रिवि एलुम्नाई एशोसिएशन नेपाल क्रियाशिल रहेको छ । हाल यस संस्थामा दुई सय पचपन्न भन्दा बढि आजीवन सदस्यहरु आबद्ध रहनुभएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्